‘हटस्पट’ बन्दै ग्रामीण क्षेत्र, एन्टिजेन परीक्षणको पोजेटिभ दर २८ प्रतिशत

हेल्थपोस्ट नेपाल

केही दिनयता एन्टिजेन परीक्षणको दायरा बढेसँगै संक्रमितको संख्या पनि बढ्दै गएको छ।

तर, एन्टिजेनमा संक्रमित पुष्टि हुनेको संख्या बढ्दै जानु राम्रो सूचक नभएको जनस्वास्थ्य विज्ञहरूले बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ लाख एन्टिजेन किट प्रदेश सरकारमा वितरण गरेको छ।

एन्टिजेन किट मार्फत कोरोनाको समुदाय स्तरमा परीक्षण भइरहेको छ।

एन्टिजेन मार्फत २८ प्रतिशतमा हाराहारामी संक्रमण पुष्टि हुनु भनेको समूदाय स्तरमा संक्रमण व्यापक फैलिएको भन्ने बुझिएको भाइरोलोजिष्ट डा. वासुदेव पाण्डे बताउँछन्।

डा. पाण्डेका अनुसार अझै पनि समूदाय स्तरमा परीक्षण कम भइरहेको छ।

‘एन्टिजेन परीक्षण मात्रै नभएर पीसीआरकै पोजिटिभिटी रेट पनि माथि नै छ । त्यो गम्भिर विषय हो,’डा. पाण्डेले भने।

डोटीको आदर्श गाउँपालिका–१ चाँसी गाउँका प्रायः सबै नागरिक कोरोना संक्रमणले प्रभावित भएका छन्।

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार गाउँका ८५ जनाको कोरोना परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि छ।

कोरोना जाँच नगरिएका अन्य नागरिकलाई पनि ज्वरो आउने तथा कोरोनासँग मिल्दोजुल्दो खालको लक्षण देखा परिरहेको बताइएको छ।

जसले गाम्रीण क्षेत्र हटस्पट बन्दै गएको पुष्टि हुन्छ।

जेठ १ गते जम्मा ५७७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १२१ जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो भने २२ गते ५ हजार ३ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ५ सय २ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

जेठ १ गतेको परीक्षणमा एन्टिजेन परीक्षणमा पोजिटिभ देखिने दर करिब २१ प्रतिशत थियो भने २२ गते उक्त दर बढेर करिब २८ प्रतिशत पुगेको छ ।

एन्टिजेन परीक्षणमा पोजिटिभ देखिनेको संख्या पनि उच्च हुनु समुदाय स्तरमा संक्रमण फैलिएको भन्ने बुझिएको मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले बताए।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरू पनि अपेक्षाकृत रूपमा संक्रमणदर घटाउन नसकिएको स्वीकार गर्छन।

मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारी उपचार पद्धतिबाट मात्रै संक्रमण घटाउन खोज्नाले यो अवस्था देखिएको अनुमान लगाउँछन्।

‘संक्रमण रोकथाम गर्नेबाट मात्रै समाधान खोज्नु पर्थ्यो। तर, हामीले उपचारबाट मात्रै समाधान खोज्यौं। जसका कारण संक्रमण घटाउन सकिएन,’ डा. अधिकारी भन्छन्।

‘स्थानीय सरकारले पहिलाको जस्तो आइसोलेसन सेन्टर खोल्ने, क्वारेन्टाइन राख्ने जस्ता काम गरेका छइनन्,’ उनी भन्छन्, ‘घरमा संक्रमित मानिस रहँदा एक व्यक्तिबाट अन्य थुप्रै परिवारका सदस्यमा संक्रमण सरिरहेको छ।’

डा. पाण्डेका अनुसार एन्टिजेन परीक्षणमा पोजिटिभ देखिएकाहरुमा लक्षण भए नभएसँगै लक्षण भएकाहरुमा पनि एन्टिजेन निगेटिभ आएको छ भने पीसीआर गर्नु अनिवार्य नै हुन्छ ।

मन्त्रालयका प्रवक्त डा. कृष्ण पौडेलका अनुसार तथ्यांकमा एन्टिजेन परीक्षण केही दिनयता बढ्दै गएको छ।

डा. पौडेलका अनुसार अहिले पीसीआरको पहुँचभन्दा बाहिर रहेका गाउँबस्तीका समुदायमा नै एन्टिजेन परीक्षणलाई बढाइरहिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *