जापानमा जन्मदर घट्यो

हेल्थपोस्ट नेपाल

जापानमा जन्मदरमा कमी आएको देखिएको छ। गत वर्ष सन् २०२० मा जापानमा अघिल्लो वर्षकोभन्दा कम बालबालिकाको जन्म भएको हो।

जापानमा लामो समयदेखि निरन्तर जनसङ्ख्या घट्दै जाने समस्या रहेको । यसले मुलुकको जनसांख्यिक संरचनामा समेत असर परेको भन्दै चिन्ता व्यक्त भइरहेको छ।

स्वदेशी जनसङ्ख्या घटेपछि जापानमा सक्रिय जनशक्तिको समेत अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सन् २०२० मा आठ लाख ४० हजार ८३२ बालबालिकाको जन्म भएको छ। यो सङ्ख्या अघिल्लो वर्षको भन्दा २.८ प्रतिशत कम हो ।

गत वर्षको जन्मदर जन्मदर्ता सुरु गरेको वर्ष सन् १८९९ देखिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन्।

सिएनएनले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष विवाह दरमा पनि कमी आएको छ। सन् २०२० मा अघिल्लो वर्षको तुलनामा १२.३ प्रतिशत कम विवाह दर्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

जापानमा सन् २०२० मा पाँच लाख २५ हजार ४९० विवाह दर्ता भएको छ। जापानको अहिलेको विवाह र जन्मदर विश्वकै थोरैमध्येमा पर्ने जनाइएको छ।

सन् २०१८ मा गरिएको जनगणना अनुसार जापानको कुल जनसङ्ख्या १२ करोड ४० लाख रहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *