भेन्टिलेटर पुगेर रमेश खरेलले जितेको कोरोना युद्ध

हेल्थपोस्ट नेपाल

एकदमै तीव्र गति (हाइ फ्लो) मा अक्सिजन बगिरहेको पाइप समाएर रमेश खरेल मनमनै भन्थे, ‘म जसरी भए पनि यहाँबाट बाँचेरै निस्किन्छु।’

भेन्टिलेटरमा गएका विरलै बिरामी हुन्छन् जो मृत्यु जितेर फर्किन्छन्। मृत्यु जितेका ती दुर्लभ विजेता हुन्- रमेश खरेल।

प्रहरी अधिकृतबाट अवकाश लिइसकेपछि बाँकी जीवन सामाजिक अभियानमा होमेका खरेलको भेट वैशाख दोस्रो साता कोरोना भाइरससँग भयो।

त्यही बेला उनकी श्रीमती र छोरीलाई पनि संक्रमण भयो। सुरुमा त सबैलाई लक्षण सामान्य थिए। श्रीमती र छोरीसँगै घरमै बसिरहेका उनमा विश्वास थियो, ‘यो युद्ध पनि जितिन्छ।’

प्रहरी जीवनमा तमाम युद्ध भोगेका रमेशका लागि यो आफ्नै शरीरसँगको लडाइँ थियो। आत्मबलसँगको लडाइँ थियो। मृत्युसँगको लछारपछार थियो।

श्रीमती र छोरीलाई लक्षण सामान्य नै थियो। तर, पाँच दिनपछि उनलाई भने कोरोनाले गलाउन थाल्यो। औंलामा धसिएको अक्सिमिटरले अक्सिजनको मात्रा कम-कममात्र देखाइरहेको थियो।

उनलाई अलि गाह्रो महसुस भयो।

‘शरीर त गल्दै थियो। तर, मनमा चाहिँ कोरोनालाई जित्छु नै भन्ने लागेको थियो,’ रमेशलाई लाग्थ्यो, ‘यति चाँडै मर्ने छुट मलाई छैन। देश र समाजका लागि जीवनमा अझ धेरै गर्न बाँकी छ।’

त्यो बेलासम्म घरपरिवार सबैले उनलाई अस्पताल जान दबाब गरिरहेका थिए। पूर्वसहकर्मीहरूले त उनलाई गाली नै गरिरहेका थिए।
प्रहरी अधिकृतहरूले त जबर्जस्ती नै गरे- ‘तपाई अस्पताल आउनुहुन्छ कि हामी नै एम्बुलेन्स लिएर लिन आउँ?’

त्यसपछि उनी नेपाल प्रहरीको अस्पताल गए। सुरुमा उनको ‘सिटिस्क्यान’ गरियो। त्यसको रिपोर्ट हेरेर डाक्टरहरूको अनुहार नै मलिन भयो। उनको फोक्सो निमाेनियाको घेराबन्दीमा परिसकेको रहेछ, ७५ प्रतिशत।

डाक्टरहरूको मलिन मौनतासँगै कोरोनाले भित्र-भित्र आफ्नो शरीरको किल्ला भत्काएर निकै ध्वस्त पारिसकेको अनुभूति उनलाई भयो।

संशयका सुइहरूले घोच्न थाले। उनलाई तुरुन्तै सघन उपचार कक्ष (आइसियु) मा लगियो। एउटा हलमा उनका लागि भनेर आइसियुको जोरजाम भएको थियो, ३० वर्ष निष्कलंक नोकरी गरेको एउटा अधिकृतलाई जसरी पनि बचाउनुपर्छ भन्ने ध्येयले। त्यहाँ दुइटा अक्सिजन सिलिन्डर थिए-एउटा तत्काल लगाइहाल्न, अर्को तुरुन्तै चाहिन सक्ने जगेडाका लागि।

आइसियुमा राख्दा राख्दै अक्सिजनको मात्राले लत्तो छाड्न थाल्यो। उनी पूर्णचेतमै थिए। तत्काल भेन्टिलेटरमा हाल्नैपर्ने अवस्था आइहाल्यो।

घरबाट हिँड्दा पनि परिवार र शुभचिन्तक प्रहरी अधिकृतको करबल लगाउनुपरेका खरेल अब जान्दाजान्दै भेन्टिलेटरमा बेरिए।

आखिर यस्तो माहोल छ, नर्सहरूको त्यो बेहाल, अनि अक्सिजन पाउनु भनेको भगवानको वरदान पाउनुबराबरको स्थिति। उनले बिहान ४ बजे नर्सलाई बोलाए र कागजको टुक्रामा दुई अभिन्न मित्रको नाम सम्बोधन गरी ‘मेरा लागि केही गर्नोस्’ भनेर लेखे।

भेन्टिलेटरका ती तीन दिन!

सशस्त्र द्वन्द्वकालमा उनले धेरै रात अनिदो काटे। जतिबेला आफ्ना जवानहरूको ज्यान बचाउनुपर्ने हुन्थ्यो, सत्रुलाई परास्त गर्नुपर्ने हुन्थ्यो।

आफूमात्रै होइन, सकल सहयोद्धाहरूको मनोबल घट्न नदिन चनाखो रहनुपर्थ्याे। नेपाल प्रहरी अस्पतालको कोभिड वार्डभित्रको त्यो हलमा चाहिँ अदृश्य भाइरससँग निर्णायक चरणको युद्ध लडिरहेका थिए। भाइरसले उनको प्राणवायु तान्ने यन्त्रलाई ७५ प्रतिशत खोक्रयाइसकेको थियो। त्यो अवस्थामा आत्मबलबाहेक अर्को अस्त्र के हुन्थ्यो र?

पूर्णचेतमा बस्ने ‘ओभरकन्सियसनेस’ मा खरेल तीनै रात रत्ति निदाउन सकेनन्। उनी बरु भेन्टिलेटरको पाइप च्याप्प समातेर बसे, कतै फुस्की पो हाल्ने हो कि भन्ने डरले।

‘यहाँबाट जसरी पनि म बाँचेरै निस्किनुपर्छ,’ खरेल सोच्थे, ‘यो लडाइँ कुनै पनि मूल्यमा मैले जित्नैपर्छ।’

भेन्टिलेटरमा बसेको दोस्रो दिन उनलाई बिहानपख अत्यास लागेको थियो। भाइरससँगको अन्तिम लडाइँमा उच्च मनोबल हुँदाहुँदै कताकतै उपचारमा नजानिकन कमजोरी हुन जाने हो कि भन्ने डर भयो।

आखिर यस्तो माहोल छ, नर्सहरूको त्यो बेहाल, अनि अक्सिजन पाउनु भनेको भगवानको वरदान पाउनुबराबरको स्थिति। उनले बिहान ४ बजे नर्सलाई बोलाए र कागजको टुक्रामा दुई अभिन्न मित्रको नाम सम्बोधन गरी ‘मेरा लागि केही गर्नोस्’ भनेर लेखे।

त्यो कागज उनकी पत्नी रन्जुलाई दिइयो। भेन्टिलेटरमा चेतमै रहँदारहँदै लेखिएका ती केही शब्दले उनका सारा शुभचिन्तक उद्वेलित, चिन्तित भए। उनीहरू कहाँबाट केही गर्न सकिन्छ भनेर लागे।

स्नातक तहमा अध्ययनरत छोरीले भारतमा सँगै आइपिएस सर्भिस गरेका बाबुका साथीहरूलाई मेसेज गरिन्। तत्काल एउटा औषधी हैदरावादको ल्याबबाट नेपाल पठाइने व्यवस्था भयो, जसलाई भारत सरकारले अनुमति दिन बाँकी नै थियो।

‘मरता क्या नहीँ करता’ भन्ने शैलीमा सबैको दौडादौड चल्दा त्यो औषधी हैदरावाद, दिल्ली, बागडोरा, भद्रपुर हुँदै साँझ ५ बजे नेपाल प्रहरी अस्पताल आइपुग्यो। तर, संयोग कस्तो, नेपालकै कसैले त्यो औषधी आफन्तका लागि भनेर ल्याइसकेका रहेछन्, केही दिनअगाडि।

खरेललाई चाहियो भन्ने थाहा पाएर आफैं अस्पताल पुर्‍याउन आइपुगेछन्। त्यो औषधी तत्काल चलाइयो। केही घन्टामा भारतबाट वायुपंखी गतिमा आइपुगेको डोज चाहिँ ती दयावानलाई ‘रिप्लेस’ गरियो।

खरेलको आत्मबल बेजोड बढ्यो।

अर्को संयोग, त्यो औषधीलाई भारत सरकारले केही दिनमै कोभिड उपचार ‘ब्रेकथ्रु’ का रूपमा प्रयोग अनुमति दियो। ‘मैले जीवनभर कमाएको नै यही माया रहेछ, जसका कारण मैले त्यस्तो केयर पाएँ, चाहेर नपाइने औषधी र उपचार पाएँ,’ खरेल सम्झन्छन्।

बिस्तारै अवस्था सुध्रँदै गयो, नेपाल प्रहरी अस्पतालबाटै ठिक भएर घर फर्कन्छु भन्ने आत्मबल झन्-झन् बढाउँदै गए।

तेस्रो दिन उनी भेन्टिलेटरबाट बाहिर आए, जुन एउटा हदको चमत्कारै थियो। दिन बिराएर गरिने एक्सरेले तेस्रो दिन केही बहार ल्याएको थियो। डाक्टरका अनुहारले प्रसन्नता फ्याँकेको थियो।

आफैंसँग जबर्जस्ती

खरेल अलि हठी छन्। कसैले भनेको मान्दैनन्। आफ्नै स्वभावमा रमाउने उनको प्रहरी जीवन पनि त्यसैगरी बित्यो। न कसैले भनेको माने, न कसैलाई सुने। देश, जनता र कानुन– यीबाहेक उनको रगतमा कुनै तत्व छिरेन, दुर्गन्ध त परै जाओस्।

चैत अन्तिम सातादेखि नै कोरोना भाइरसको दोस्रो लहरले देशमा ढ्याङ्ग्रो ठटाउँदै थियो। वैशाख दोस्रो सातातिर सरकारले ‘निषेधाज्ञा’ लगाउने तयारी गरिरहेको थियो। त्यही बेला उनलाई हल्का-हल्का लक्षण देखिन थालेको थियो।

तर, खरेलको खुनमै बगिरहेको थियो एउटा दृढता- ‘घरमै बसेर यसलाई जितिदिन्छु।’ जसरी प्रहरी जीवनमा उनले हरेक लडाइँमा ‘इमान्दार’ जित हासिल गरेका थिए।

‘तर, रहेनछ। जति शुक्ष्म भाइरस छ त्यसको असर निकै कडा छ। अझ हामीले यसलाई हल्कारूपमा लिने जुन गल्ती गर्छौं त्यसले त जीवनै सिध्याइदिने रहेछ,’ खरेल अहिले गल्ति महसुस गर्दै भन्छन्, ‘युद्धमा सानो मिस्टेकले पनि ज्यान जानसक्छ। मिसन फेल हुनसक्छ। त्यस्तै हो यो पनि हाम्रो सानो असावधानीले जीवनकै क्षति हुनसक्छ।’

र, अहिले आएर उनी हरेकलाई भन्छन्, ‘भाइरससँग खेलबाड गर्दै नगरौं। हेल्चेक्र्याइँ भयो भने यसले आफैंलाई सिध्याउन सक्छ।
यो उनकाे आफ्नै भोगाइ हो। मृत्युसँगको एकदमै ‘कोलाज’ साक्षात्कार।

खरेल अस्पताल भर्ना नहुँदासम्म त धेरैले थाहा पनि पाएका थिएनन् उनलाई संक्रमण भएको छ भनेर। तर, केही लक्षण देखिनासाथ खरेलले आफूलाई घरमै आइसोलेट गरिसकेका थिए।

‘परिवारलाई पनि संक्रमण भयो। तर, मलाई लाग्छ मेरै कारण अरूलाई चाहिँ भएन होला। किनकि, मैले चाँडै नै आफूलाई आइसोलेट गरिसकेको थिएँ,’ उनी सम्झिन्छन्।

अहिले पनि १ लाखभन्दा बढी संक्रमित घरमै बसिरहेका छन्। एकदमै गाह्रो हुँदामात्रै अस्पताल जानेहरू पनि छन्। लक्षण देखिए पनि डर अनि संकोचका कारण कतिपयले परीक्षणै गरेका छैनन्। गाउँगाउँमा तमाम बिरामी छन् जो घरमै सुतिरहेका छन्। त्यहाँ परीक्षणको पहुँचै छैन।
देशको वास्तविक कोरोनाचित्र यही हो।

र, खरेल सबैलाई अपिल गर्छन्- ‘यो भाइरसलाई सामान्य ठान्दै नठानौं। रुघा, खोकी, ज्वरो आउनासाथ अस्पताल गइहालौं।’

आफ्नो शैली (कठोर इमान्दारितासहित) मा काम गर्ने, सोझासिधा श्रद्धाशीलहरूको आग्रह हार्न नसक्ने खरेलका केही पश्चातापहरू पनि छन्।

उनले ‘लकडाउन’ अघि असाध्यै कर गर्ने शुभचिन्तकका भोजहरूमा गएर दिल खोलेर सत्कार ग्रहण गरेका थिए, परिवारसहित।

‘म ठान्थें, म सचेत छु, दुरी र मास्कमा ख्याल गर्छु। तर, त्यसो गर्नु पनि मेरो कमजोरी थियो,’ उनी भन्छन्, ‘म भद्रजनमा मेरोजस्तो कमजोरी नगर्नु हुन आग्रह गर्दछु।’

अस्पतालको कहर

अस्पताल कसकाे पो रहर हुन्छ र!

तर, यतिबेला आममान्छेका लागि अस्पताल नै अन्तिम भरोसा बनेका छन्। एउटा भनाइ अहिले निकै ‘ट्रोल’ छ, ‘मन्दिर अहिले बन्द छन् किनकि भगवान त अस्पतालमा छन्।’

ती भगवान हुन्, अस्पतालका डाक्टर अनि नर्सहरू।

खरेलले पनि देखे डाक्टरका तनाव। नर्सका दुःख। उनीहरूको खटाइ। उनीहरूका दुःख।

‘थाकेर विचरा नर्सहरू चिसो भुइँमा पल्टिन्थे र त्यहीँ निदाउँथे,’ ‘ओभर ड्युटी’ गरिरहेका ती नर्सका पीडा भेन्टिलेटरमा बेरिएर पल्टेका खरेलले नजिकैबाट चियाएका छन्, ‘अस्पतालमा बिरामी धानेकै नर्सहरूले पो रहेछ।’

उनको हेरचाहमा नर्सहरू खटिएकै हुन्थे। एकपटक थाकेका ती नर्सहरू एकछिन निदाएछन्। खरेललाई सारै प्यास लाग्यो। तर, उनले ती नर्सहरूलाई भन्न सकेनन्, बरु प्यास खेपिरहे।

पिपिईमा बाफिएर शरीर निथ्रुक्कै हुन्थ्यो। तर, पनि निकाल्न मिल्दैन। यता उता दौडँदा दौडँदै गलेका खुट्टाहरू बेलाबेला लर्बरिन्थे। तर, पनि बस्न मिल्दैन। जहाँ अडेस लाग्यो त्यहीँ आँखा लागिहाल्थे। निदले झन् गलाइदिन्थ्यो। तर, पनि सुत्न पाइँदैन। यी नर्सका दुःख हुन्।

‘अहो कस्तो समर्पण यी नर्सहरूको बिरामी बचाउने, यी साँच्चिकै भगवानकै रूप हुन्,’ खरेललाई पनि लाग्यो, ‘भाइरसविरुद्धको यो युद्ध मोर्चा सम्हाल्ने असली लडाकु नर्सहरू नै हुन्।’

चारैतिर क्रन्दन। भेन्टिलेटरबाट जिउँदो शरीर बिरलै निस्किन्थे। अलिअलि सास लिएर भेन्टिलेटर छिरेका धेरैजना लाश भएर बाहिर निस्केको खरेलले पनि देखे।

‘त्यस्तो हुँदा चाहिँ मनमा चिसो पस्ने रहेछ। सारा बिरामीहरूको मनोबल नै स्वात्तै खस्ने खालका दृश्यहरू’ तर पनि खरेलमा एउटा अचम्मको विश्वास थियो, ‘यो भेन्टिलेटरबाट म जसरी पनि जिउँदै निस्किन्छु। म बाँच्नैपर्छ।’

खरेलको त्यो माया र ढाडस पाउने समय थियो। आफ्नाबारे कमै सोच्ने, कुनै पनि प्राप्तिमा हम्मेसी मोह नराख्ने यी ठाडा प्रहरी चरित्रलाई प्रेम र मर्मले साँच्चै ओतप्रोत हुन भेन्टिलेटर र आइसियुमै जानुपर्‍याे।

डाक्टरहरू आउँथे र मृत्यु जितेका जीवनका कथा सुनाउँथे। त्यसले उनको बिरामी शरीर फुरुङ्ग भएर उड्न थाल्थ्यो।

यो लडाइँ जित्ने नै यसैगरी हो। महामारीको यो युद्ध जित्ने तरिका नै यही हो। आत्मबल हो। आफैंमाथि विश्वास हो। अस्पतालको स्याहार हो।

‘तर, हेलचेक्र्याइँ चाहिँ होइन। यो खेलबाड गर्ने बेलै होइन,’ खरेल अब अरूलाई पनि बुझाउँदैछन्, ‘मन बलियो पार्ने हो। आफूलाई सम्हाल्ने हो। हिम्मत गर्ने हो। तर, जितिहाल्छु भनेर मुर्ख्याइँ गर्ने चाहिँ होइन।’

तीन दिन भेन्टिलेटर, नौ दिन आइसियु र बाँकी पाँच दिन सामान्य वार्ड।

अहो, मृत्युलाई नजिकैबाट चियाउनुको भयानकता। त्यो निरिहता।

‘यो त मेरो नयाँ जीवन हो,’ खरेल अहिले पनि प्रार्थना गरिरहन्छन्, ‘सबैले यो लडाइँ जितुन्। अस्पतालबाट लाखौं जीवन त अझ फर्किनै बाँकी छ।’

अन्तिम दिन

जनरल वार्डमा आएपछि ज्यान अलिअलि तंग्रिँदै थियो।

यसपालिको सिटिस्क्यान रिपोर्ट हेरेपछि डाक्टरहरूको अनुहारमा अचम्मको चमक आयो। उनले सुरुको दिन, बीचमा पनि यसैगरी डाक्टरको अनुहार पढेका थिए।

‘यो त साँच्चिकै मिराकल थियो सायद…’

त्यसपछि यही जेठ १७ गते नयाँ जीवन लिएर रमेश खरेल घर फर्किए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *