गर्भकी छोरी गुमाउँदाको पीडा : ‘कोरोना के हो भोगेकालाई सोध्नुस्’

कोरोना के हो? भोगेका मानिसलाई सोध्नुहोस्। कोरोनाबाट आफन्त गुमाएकालाई सोध्नुस् कोरोनाले कति गाह्रो बनाउँछ भनेर?

कोरोना संक्रमित भएर २८ हप्ताकी छोरी गुमाएकी भक्तपुरको मध्यपुर थिमी नगरपालिका ३ कौशलटारका राजेश बानियाँलाई गहिरो रुपमा थाहा छ कोरोनाको पीडा। उनले छोरीलाई गुमाए र संक्रमित श्रीमतीलाई मृत्युको मुखबाट बचाएर ल्याउन सफल भए।

आफू पनि संक्रमित भए पनि २९ दिन अस्पतालमा उपचार गराएर उनले श्रीमतीलाई घर फर्काएका छन।

बानियाँकाे अनुभव उनकै शब्दमा
हामी परिवारमा तीन जना बस्थ्यौ। श्रीमती, बाबु र म। श्रीमती दीपा लकडाउन भएपछि हप्ताको एकचोटि अफिस जाने गर्थिन्। त्यही क्रममा एकदिन उनी कामको सिलसिलामा अफिसका एचआर निर्देशक र उनी अदालत पुगेर आएका थिए। केही दिनपछि उनका एचआर निर्देशक कोरोना संक्रमित भएको खवर पायौं। त्यसपछि केही दिनपछि श्रीमतीलाई पनि जिउ दुख्ने लक्षण देखा पर्न थाल्यो।

त्यसपछि समय खेर नफाली भक्तपुर इन्टरनेशनल अस्पतालमा पिसीआर परिक्षण गर्न गयौं। जसको रिपोर्ट ६ घन्टापछि आउँछ भनिएको थियो। पिसीआर रिपोर्ट नआएसम्म हामीलाई निद्रा नै लागेन। राति साढे १ बजे रिपोर्टको घन्टी बज्यो। जसमा दीपाको रिपोर्ट पोजिटिभ आएको थियो। सबैजना सँगै भएका कारण विहानै छोरा र मेरो पनि पिसीआर जाँच गर्न गयौं। हामीले सबै जनासँगै बसेको भएर हाम्रो पनि पोजेटिभ नै आउछ होला भनेर आइसोलसनमा बस्न जान निधो गर्‍यौं । हामी तीनै जनाको सामान प्याक गरिसकेका थियौं। तर रिपोर्टमा छोराको नेगेटिभ र मेरो पोजेटिभ आयो। त्यसपछि बच्चालाई आमाबुवाकोमा राख्न लग्यौं।

संक्रमित भएको ४ दिनपछि श्रीमतीलाई ज्वरो आउने र अक्सिजन लेभल घट्न थाल्यो। त्यसपछि बैशाख २२ गते नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको इमर्जेन्सीमा भर्ना गर्‍यौं। उनी २८ हप्ताकी गर्भवती थिइन। अस्पताल लाँदा फोक्सोमा निमोनियाले छोइसकेको भन्ने जानकारी दिए डाक्टरहरुले। डाक्टरहरुले बच्चालाई निकाल्नुपर्छ नभए बच्चा र आमालाई बचाउन गाह्रो हुन्छ भने।

केही सोच्नै सकिनँ। तर आफूलाई सम्हालेर परिवारसँग सल्लाह गरेर २३ गते अप्रेशन गरेर छोरी निकालियो। छोरीको कोरोना टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आयो। आमा संक्रमित भएका कारण र बच्चा अनम्याच्युर (तौल नपुगे, समयभन्दा अगाडि जन्मेको) कारण कान्ति बाल अस्पतालको एनआइसीयूमा उपचार गरिएको थियो। म आफै संक्रमित भएको कारण बच्चालाई छुन पाइन। बच्चा तौल कम भएको कारणले ५ दिनमा बित्यो। बच्चा गुमाउनुको दुःख छँदैछ। त्यसमा अर्को दुःख थपिएको थियो। अप्रेशन गरेको एक हप्तापछि दीपाको स्वास्थ्य झनझन विग्रन थाल्यो। एक त कोरोना, अर्को अप्रेसन गरेर बच्चा निकालेको भएर पनि होला।

भेन्टिलेटरको बसाइ
वैशाख ३१ गतेदेखि जेठ १३ गतेसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। स्वास्थ्य बिग्रँदै गएपछि डाक्टरहरुले भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बताए। त्यतिबेला कोरोना संक्रमितको हटस्पट बनेको मध्यपुर थिमीमा भेन्टिलेटर खाली थिएन। अस्पतालमा भेन्टिलेटर खाली नभएपछि हामी आफैं पनि भेन्टिलेटरको खोजी गर्न थाल्यौं। पछि अस्पतालले नै व्यवस्था गरेर भेन्टिलेटरमा राखियो।

एउटा समस्या समाधान गर्न सकेको छैन अर्को समस्या आइपुग्थ्यो। त्यो बेला देशभर अक्सिजनको हाहाकार थियो। भेन्टिलेटरमा राखेपछि दिनदनै अक्सिजन सकिएला भन्ने पिर परिरहन्थ्यो। दशा लागेपछि समस्या कहाँबाट आउन थाहा हुँदैन भनेर सुनेको थिएँ, आज आफूलाई समस्या आएको देखेर यही हो कि जस्तो महसुस भएको भयो।

आइसीयूमा राख्दा घर फर्काउन नपाएला भन्ने पिरले पिरोलिन्थ्यो। भेन्टिलेटरमा राखेपछि त झन् आशै मरिसकेको थियो।

भेन्टिलेरमा राखेको केही दिनपछि फेरि दीपाको अक्सिजन लेभल एक्कासी घट्न थाल्यो। करिब ८० बाट घट्दै १० पुगिसकेको थियो। त्यतिबेला अब मैले दीपालाई गुमाएँ भनेर मनमा चिसो भएको थियो। डाक्टरहरुलाई हारगुहार गरेर बोलाउँदा डा. ज्ञानकृष्ण कायस्थ आएर उनको ज्यान बचाएका थिए। त्यतिबेला उनलाई देखेर लाग्यो डाक्टर भगवान हो भन्थे हो रहेछ, मैले त्यो भगवान डा. कायस्थमा देखेँ। उनलाई १२ दिन भेन्टिलेटरमा मात्र राखेको थियौै। भेन्टिलेटरमा राख्दा श्रीमतीले लेखेर आफ्ना कुरा गर्ने गर्थिन्। श्रीमतीले भेन्टिलेटरमा हुदाँ नर्सहरुलाई इसारा गरेर बोलाएर ‘थ्यांक्यु सो मच’ तपाई्रहरुको मेहनतले म यत्तिको भएँ भनेर लेखेर धन्यबाद दिएकी थिइन।

मलाई बरु याद थिएन कहिले अस्पताल आएँ, कति दिन भयो तर उनलाई सबै गते याद थियो उनले लेखेर भनिराख्ने गर्थिन्। उनलाई ६ वटा रेम्डेसिभिर पनि दिइएको थियो।

१४ दिन भेन्टिलेटरमा राखिसकेपछि विस्तारै स्वास्थ्यमा सुधार आयो। त्यसपछि आइसीयूमा राखेका थियौ्र। त्यसपछि ३ दिन अस्पतालमा क्याविनमा बसेर जेठ १९ गते घर फर्कियौं।

अहिले पनि अक्सिजन दिनुपर्छ। तर, घर पुगेपछि अहिले खुसी छु। सबैजना नेगेटिभ छौं।

म नेपाल कोरिया मैत्री अस्पतालका सबै स्वास्थ्यकर्मी टिम, प्लान इन्टरनेसनल नेपालका परिवार, मध्यपुर साथीभाइ र सहयोग गर्ने सबै इष्टमित्र परिवारलाई र अमेरिकामा बसेर पनि सहयोग गर्ने उमेश अधिकारी र मेडिकल कन्सल्ट गरेर सहयोग गर्ने डा.निमेश अधिकारी धन्यवाद दिन्छु म। सबैजनाले रातदिन नभनी मेरो जीवनसंगिनीलाई बचाउन सहयोग गरका छन्। डाक्टर, स्वास्थ्यकर्मीहरु कहिले सुत्छन्, कहिले खाना खान्छन् नै थाहा छैन। उनीहरु २४ सै घन्टा विरामीहरुको उपचारमा खटिएका हुन्छन्। उनीहरुलाई सलाम गर्न चाहन्छु।

साथै कोरोनाले भयावह भएको भइरहेको स्थितिमा कोरोना लागेर सिकिस्त भएका बिरामीको उपचार अन्य बिरामीभन्दा महंगो भएको पाइन्छ। त्यसैले निम्न वर्गका नागरिकले उपचार खर्च जुटाउन नसकिने अवस्था देखेँ। सरकारी अस्पताल तथा नगरपालिकाले सञ्चालन गरेको अस्पतालमा अक्सिजन, औषधि, शय्या शुल्क र अन्य जाँचको शुल्क जोड्दा सरकारी अस्पतालमा नै आइसीयूमा राख्दा एकदिनको २० देखि २५ हजार खर्च आउछ भने प्राइभेट अस्पतालमा त झन् कति होला? उपचार गर्न सकिएला र? त्यसैले कोभिड संक्रमित बिरामीलाई अस्पतालहरुले केही मात्रामा छुट दिए हुन्थ्यो। ज्यानभन्दा ठूलो पैसा होइन।

त्यस्तै सबै जना अत्यावश्यकवाहेक घरबाहिर ननिस्कन अनुरोध गर्दछु। सबैजना आ आफ्नो घर परिवारमा बसेर स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्छु। मैले जस्तो दुःख कसैले पनि भोग्न नपरोस्।

दीपाको अनुभव
अस्पतालमा बस्दा त्यहाँ आउने आवाजले गर्दा इरिटेसन हुने, गाह्रो हुने भएको थियो। कहिले घर जान पाइने भनेर सोचेर दिन गनेर बस्थेँ। अहिलेसम्ममा कहिले पनि अस्पतालमा यसरी थला परेर बस्नु परेको थिएन। कहिले निको हुने होला? यस्तै मनमा कुराहरु खेलिरहन्थ्यो।

तर कहिले पनि म मर्छु कि? भन्ने सोच आएन। जहिले कति बेला निको भएर घर जाउँ भन्नेमात्र सोच आयो। त्यसैले पनि होला आज म निको भएर घर फर्केको छु। त्यसैले कोरोना लाग्यो भनेर नआत्तिनु। आत्तिनु नहुने रहेछ। कोरोना संक्रमित हुने बेलामा आत्मबल बलियो पार्नुपर्ने रहेछ। अहिले पनि खोकी लाग्ने, घाटी बसेको जस्तो हुने र स्वाँ स्वाँ आउने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय