कोरोना–कालमा शोक : एक मनोसामाजिक विवेचना

विश्वभरमा १७ करोडभन्दा बढी संक्रमित, करीब ३६ लाखको मृत्यु।
नेपालमा मात्रै करिब ६ लाख संक्रमित, साढे सात हजारको मृत्यु।

केही दिन अगाडी उपलब्ध सरकारी तथ्यांकले त्यसै भन्छ। यो डेढ वर्ष अवधिमा भनौं कि कोरोनाकालमा हामीले थुप्रै नै क्षति भोगिसक्यौं। तर यो त सरकारी तथ्यांक हो, तथ्यांकिकृत नभएका या हुन नपाएका क्षति त अझ कति होलान् कति? हाम्रो जानकारीमा आउलान्–नआउलान्। तर एउटा कुराचाहिँ मान्नैपर्दछ कि यो क्षतिले शोकको ठूलो आँधीबेहरी लिएर आएको छ। हामी सबै शोकग्रस्त छौं अहिले। यो शोकले सही निकास पाएन भने त्यसले गराउने मनोसामाजिक समस्या झनै भयंकर हुन सक्दछ।

कुनै पनि कारणले भएको क्षतिप्रति उत्पन्न हुने भावनात्मक संवेगलाई नै ‘शोक’ मानिन्छ। तर यो डेढ वर्षको समयमा अथवा यो कोरोनाकालमा भएका क्षतिहरुलाई सूचीकृत गर्न त्यति सजिलो भने छैन।

भाइरसका कारण भएको शारीरिक स्वास्थ्यमा हुने भौतिक क्षति त छँदै छ। त्यो सँगसँगै आउने डर, अत्यास, मृत्युको त्रासदी, पीडा, दुःख, बेचैनी, छटपटी, अनिद्रा आदिका कारण हुने मनोवैज्ञानिक क्षतिको पनि कमी रहँदैन। त्यस्तै बन्दाबन्दी, निषेधाज्ञा, आइसोलेसन, क्वारेन्टाइन आदि सामाजिक बन्देजहरुका कारण पारिवारिक, सामाजिक, पेशागत क्षेत्रहरुमा भएका क्षतिको पनि सम्झना गर्नैपर्दछ।

अनि यिनै बरबन्देजका कारण भएको व्यापारव्यवसायमा आउने न्यूनता, दैनिक ज्यालादारी गर्नेहरुको समस्या आदिका कारण हुने आर्थिक क्षतिलाई पनि नजरअन्दाज त गर्न सकिँदैन। अनि जात्रापर्व, बिहेवर्तबन्ध, समारोह, सामाजिक जमघटहरुमा भएको पाबन्दीले हाम्रो जीवन्त परम्पराहरुमा गराएको सांस्कृतिक ह्रासको पनि लेखाजोखा गर्नैपर्दछ।

खाद्य संकट अनि आत्मसुरक्षाका कुरा पनि आउँछन् फेरि। अनि पूरा शैक्षिक वर्ष नै खेर जाँदा, परीक्षा दिन नपाउँदा, या आफ्नो वृत्तिविकास, जीविका आदिमा असर पर्दा भविष्यको चिन्ता आदिका कारण भएका क्षतिहरुको त पूरा विवरण नै राख्न त संभव पनि नहोला। त्यसैले कोरोनाकालमा शोकग्रस्त छ समुच्च विश्व अनि मानव सभ्यता।

यी सबमध्येको पीडादायी विवशता भने मृत्यु नै हो। आफ्ना प्रियजनको मृत्युजस्तो पीडादायी अनि तनावजन्य अरु विषय त के नै पो होला र? यो कोरोनाकालमा आफ्ना परिवारजन, साथीभाइ, बन्धुबान्धव, इष्टमित्रमध्ये कोही पनि नगुमाएको व्यक्ति पाउन त गाह्रै होला।

बुद्धकथामा कुशा गौतमीले ‘कोही पनि व्यक्ति नमरेको घरको चामल नपाएझैं’ नै नैराश्यमय हुनेछ त्यस्तो व्यक्तिको खोजी। त्यसैले मृत्युको शोकले सबैभन्दा बढी गाँजेको छ अहिले हामी सबैलाई। माथि बताएझैं विश्वभरमा ३६ लाखको ज्यान जानु अनि नेपालभरमा डेढवर्षको अवधिमा ७५०० को मृत्यु हुनु सानो क्षति कदापि होइन।

यो सामूहिक शोकले सहज निकास पाउन सक्दैन। यसको सही निकास नभएमा हुने मनोसामाजिक समस्या पनि सानो हुँदैन। शोकको मनोसामाजिक पाटोको विवेचनाको केन्द्रबिन्दुमा नै कोरिइरहेका छन् यी शब्दहरु।

यस्ता शोकहरुको सामना गर्ने दुई तरिका छन् :

१. त्यस्ता पीडादायी या शोकप्रदायक क्षणहरुबाट पर–पर जाने। शोकको घडीमा शोकलाई बिर्सने, त्यहाँबाट भाग्न खोज्ने।
या
२. शोक र पीडाको सत्यलाई बुझ्न खोज्ने। त्यसलाई पहिचान गर्ने।

भागेर या पर पर गएर शोकलाई जित्न सकिँदैन। शोकबाट पार पाउने त्यो स्वस्थ तरिका पनि हुँदै होइन। यसरी भागेर, भुलेर शोकबाट बाँच्न खोज्नेले अन्ततः भविष्यमा अनेकौं शारीरिक अनि मानसिक समस्याहरु भोग्नैपर्ने तथ्य थुप्रै अध्ययनहरुले देखाएका छन्।

त्यसैले शोकबाट मुक्ति पाउनका लागि त्यसको पहिचान गर्नुपर्दछ। त्यसलाई आत्मसात गर्नुपर्दछ।

अतः ‘म शोकमा छैन’ भनेर आफूले आफैँलाई नढाटौं। पीडालाई लुकाउने, अस्वीकार गर्ने प्रयास नगरौं।
यो ठूलो शोकको घडी हो, त्यसलाई नाम देऔं। पहिचानविहीन नराखौं त्यो शोकलाई।
शोक अभिव्यक्त गरौं।

यसो गर्दा निम्न चार तथ्यहरुलाई स्वीकार गरौं :

१. क्षतिको वास्तविकता स्वीकार गरौं, आत्मसात गरौं।

२. त्यस पीडालाई अभिव्यक्त गरौं। दुःखदर्द चिनौं, अनुभव गरौं। रुन मन लागेमा रोऔं, आँसु खसालौं। पीडालाई नलुकाऔं। मन फुकाएर शोक गरौं।

३. क्षति पक्कै पनि अपुरणीय छ। आफ्नो प्यारो मान्छेको मृत्यु भएपछि उसको स्थान अरु कसैले कसरी लिन सक्ला र? तर क्षति हुने भैसक्यो, त्यसलाई फर्काउन त कदापि सकिंदैन। तर, ‘अब त त्यो क्षति भएको वस्तु’ या ‘मृत्यु भएको व्यक्ति’ बिना पनि बाँच्न सकिन्छ भन्ने धारणा बनाएरै मात्र अघि बढ्न सकिन्छ। ‘त्यो विनाको वातावरणमा पनि संसारमा समायोजित भएर नै रहन सकिन्छ’ भन्ने यथार्थलाई मनन गरौं।

४. मृतकसँगको सम्बन्ध सधैंभरिलाई जीवन्त राख्ने प्रयास गरौं। हाम्रो धर्म र्सस्कृतिमा मृतकलाई पितृ मान्ने अनि वार्षिक श्राद्ध गर्ने पद्धति त्यसैका लागि शुरु भएको हो।

क्षतितिरै मात्र ध्यान दिएर शोकसंतप्त भैरह्यौं भने हामी गलत गन्तव्यतिर लाग्दछौं। अनि शोकलाई लुकाएर अथवा अस्वीकार गरेर नै अघि बढ्यौं भने पनि जटीलता मात्र आउँदछ। शोक अभिव्यक्त नभएर, नगरेर वा गर्न नचाहेर रहनेहरुमा पनि पछि थुप्रै जटील मानसिक समस्याहरु उत्पन्न हुने गरेको अध्ययनहरुले नै देखाएका छन्। जस्तैः पश्चात्ताप, क्रोध, उदासीपन, एक्लोपन, डर, असहायपन आदि।

शोकलाई पहिचान गरेर या आत्मसात गरेर पुनःस्थापनातिर लाग्नु नै अबको कर्तव्य हुनुपर्दछ। हाम्रो धर्म संस्कृतिले त्यतैतिर नै उन्मुख गराइरहेको लाग्दछ मलाई।

त्यही शोकमा सहायता दिन नै गुठी परम्परा शुरु भएको हो।

दाहसंस्कार, ११–१३ दिने क्रियाकर्म, वर्षदिनभरिको काम आदि सबै शोकलाई सामना गर्ने स्वस्थ विधि हुन्। आत्माको अमरता आदि जस्ता श्रीमद्भगवद्गीताको दार्शनिक पक्षले हामीलाई शोकको सामना गर्ने शक्ति दिएकै नै छ।

तर कोरोनाकालमा विद्यमान बन्दाबन्दी तथा स्वास्थ्य मापदण्ड आदिका कारण चाहेरै पनि शोकको सामना गर्ने यी पद्धतिको खुलेरै अभिव्यक्त गर्ने अवस्था भने छैन। त्यसैले पनि मनोसामाजिक जटिलताहरु ल्याउने हो कि ?

त्यसो भए के गर्न सकिएला त ?

१.अहिले कोरोनाका कारण नै मृत्यु भएका आफन्तजनको अन्तिम संस्कारमा समूहबद्ध रुपमा सहभागी हुने परिस्थिति छैन। परिवारजनमा त्यो शोकको अभिव्यक्ति हुन नपाउँदा मनोवैज्ञानिक पीडा झनै बढ्ने अवस्था हुन्छ। त्यसका लागि नजिकका आफन्तजनले अनलाइन अथवा वैकल्पिक माध्यममार्फत् नै भए पनि त्यो संस्कारको अवलोकन गर्ने, त्यसलाई आत्मसात गर्ने मौका दिने व्यवस्था मिलाउन सकिन्छ।

२. आफ्नो नजिकको व्यक्तिलाई अन्तिम क्षणमा भन्न चाहेको कुरा चिठीमा या डायरीमा लेखेर अभिव्यक्त गर्न पनि सकिन्छ।

३. मृतक आफन्तको सम्झनामा अहिले छोटो सांस्कृतिक कार्यक्रम गरेर बिस्तृत कार्यक्रम भने पछि गर्ने तयारी गरेर पनि राख्न सकिन्छ।

४. सामूहिक अन्तिम संस्कारको अवधारणा ल्याए पनि त्यो नै व्यावहारिक हुन सक्ला, कहिलेकाहीं अनि कतै कतै।

५. मृतकको सम्झनामा वृक्षारोपण, सेवाकार्य या दानले पनि शोकलाई सामना गर्ने शक्ति प्रदान गर्दछ। उसको नाममा स्मृति आलेखहरु प्नि लेख्न सकिन्छ।

६. मृतकका सकारात्मक पक्षहरुको नियमित चिन्तन मननले पनि सकारात्मक ऊर्जा प्रदान गर्दछ। आफ्नो दिनचर्यामा त्यही सकारात्मक उर्जालाई उपयोग पनि गर्न सकिन्छ।

७. साथीभाइ, बन्धुबान्धव आदिसँग सहयोग लिन–सहयोग दिन हिच्किचाउनु हुँदैन। भौतिक दुरी कायम गरौं तर सामाजिक सम्बन्धहरुलाई यथावत नै राख्नुपर्दछ।

वास्तवमा सामूहिक प्रयासबाट नै यो शोकको सामना गर्न सक्नुपर्दछ। एकअर्कासँग जुटेर नै यो शोकग्रस्त समयबाट पार पाउन सकिन्छ। भनिएको नै छ : ‘संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्’।

तर एउटा कुरा याद राख्न भने जरुरी छ। हाम्रो विश्व इतिहासले नै देखाएको छ कि प्रत्येक ५०–१०० वर्षमा प्राकृतिक चक्रका रुपमा नै आइरहने महामारी कहिल्यै पनि स्थायी रहेको थिएन, तीे समयक्रममा हराएरै गएका थिए। त्यसैले यो कोरोना महामारी पनि ढिलोचाँडो एकदिन हराएर नै जानेछ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेकै शब्दमा :
‘बोक्रा फेरीकन समयले घाउ सारा पुरिन्छन्।
मौरी आई मधुपवनमा सुन्तलामा धुरिन्छन्।’

त्यसैले, शिशिर हराउँछ, एकदिन वसन्त अवश्य आउनेछ।
संसार शोकमय भएको छ अहिले, शोकको स्वस्थ सामना गरौं।
समय एकदिन उजेलिएरै जानेछ। सुनको बिहान एक दिन अवश्य आउनेछ।
आशावादी बनौं, शोकलाई शक्तिमा बदलौं।

(मानसिक रोग विशेषज्ञ डा‌ .रिसाल धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालय अस्पतालमा कार्यरत छन्। )

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय