कोरोना उपचारमा विद्यालय नर्स

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमणको दोस्रो लहर तीव्र हुँदा स्वास्थ्य संस्थामा अक्सिजन, स्वास्थ्यकर्मी तथा शय्या अभाव झेलिरहेका संक्रमितहरु घरमै बस्न वाध्य छन्।

उनीहरुको उपचार तथा मनोबललाई कायम राख्न न त स्वास्थ्यकर्मीहरु अगाडि छन् न त अस्पतालमै गएर उपचार गराउन सक्षम छन्।

यही समस्यालाई मध्यनजर गर्दै नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विद्यालयमा कार्यरत स्कूल हेल्थ नर्सहरुलाई खटाउने निर्णय गरेको छ।

यस निर्णयसँगै महाशाखाले विद्यालय नर्सलाई तालिम दिएर मात्र विभिन्न आइसोलेन सेन्टर, होम क्वारेन्टिन, अस्पताल तथा स्थानीय सरकारलाई मद्धत गर्न पठाउने छ।

अहिले देशभर ७ सयको हाराहारीमा विद्यालय नर्स छन्।

महाशाखाले तीन दिनको तालिम प्याकेज जेठ ९ बाट सुरु गरेको जानकारी दिएको छ भने हालसम्म ३ वटा नर्सका समूहहरुले तालिम प्राप्त गरिसकेका छन् भने एउटा समूहको तालिम शुक्रबार सकिने महाशाखाका बाला राईले जानकारी दिइन्।

हालसम्म १३० नर्सहरुले तालिम लिएर सेवामा खटिईसकेका छन्।

महाशाखाअन्तर्गत प्रदेश २, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा रहेका नर्सहरुलाई तालिम प्रदान गरिएको छ भने प्रदेश १ र बागमती प्रदेशका नर्सहरुलाई प्रदेशअन्तर्गत नै तालिम दिइएको छ।

‘हामीले आइसोलेसन सेन्टर र अस्पतालमा खटिने विद्यालय नर्सहरुका लागि विषेश तालिम दिएका छौं ताकि उनीहरुले अक्सिजन, भेन्टिलेटरको प्रयोग, फोहोर व्यवस्थापन, मानिसहरुलाई संक्रमणबाट कसरी जोगाउने भन्ने बारेमा बुझाउन सजिलो होस्,’ राईले बताइन्।

टोखा नगरपालिकास्थित मनोहर माध्यमिक विद्यालयमा कार्यरत नर्स कविसा श्रेष्ठ, महाशाखाबाट तालिम लिएर कोरोना ट्रेसिङ गर्ने र उनीहरुको तथ्याङक संकलन गर्ने कार्यमा व्यस्त छिन्।

यतिमात्र नभई मानिसहरुलाई संक्रमणबाट कसरी जोगिन सकिन्छ भनेर सचेतना दिलाउने कार्यमा संलग्न छिन्।

श्रेष्ठसँग झण्डै ८ वर्षको नर्सिङ अनुभव छ। उनी ग्राण्डी इन्टरनेशनल अस्पतालमा साढे सात वर्ष काम गरेर गत वर्षको माघमा विद्यालय नर्सका रुपमा काम सुरु गरेकी थिइन्। पहिलो लहरको कोरोना संक्रमणमा पनि उनले डटेर काम गरेकी थिइन्। सबै अनुभव भइकन पनि उनले महाशाखाबाट तालिम लिइन्।

‘मेरा लागि तालिममा सिकाइएका सीप कुनै नौला थिएनन्, तर मैले सिकेका कुराहरुमा अपडेट हुन पाएँ। विषेशगरी तालिममा तनाव व्यवस्थापन गर्ने बारे सिकाइएको सीप भने मेरो लागि नौलो रह्यो,’ उनले भनिन्।

उनले अधिकांश विद्यालय स्वास्थ्य नर्सहरु अनुभवी नै भएपनि केही नर्सहरुले अस्पतालमै क्लिनिकल्ली काम नगरेको पनि हुनसक्ने भएकाले यो तालिम आवश्यक रहेको बताइन्।

फेरि थोरै नर्सहरुले कोरोना संक्रमणको समयमा कार्य नगरेको हुनाले कोरोनाको विरामीलाई कसरी उपचार दिने, चिकित्सकहरु नभएको ठाउँमा अक्सिजन जडान, सिलिण्डरको व्यवस्थापन, विरामीको हेरचाह कसरी गर्ने भन्ने विषय निक्कै महत्वपूर्ण रहेको उनले बताइन्।

सहिद गंगालाल हृदय केन्द्रमा सिनियर नर्सिङ सुपरभाइजरको रुपमा कार्यरत प्रतिबदन डंगोलले विद्यालय नर्सहरुका लागि तालिम दिइरहेकी छिन्।

विद्यालयहरु सबै बन्द रहेको अवस्था र अस्पताल तथा आइसोलेसन सेन्टरहरुमा जनशक्ति अभाव भएका कारण खाली बसिरहेका नर्सहरुलाई परिचालन गर्नका लागि यो तालिम दिने निर्णय भएको हो।

विद्यालयमा नर्सहरुले व्यक्तिगत सरसफाई, फिभर क्लिनिक, डेन्टल हाइजिनमात्र हेरिरहेका नर्सहरुलाई एकै चोटी कोभिडका संक्रमितलाई सुम्पिन सम्भव थिएन।

उनीहरुलाई तयारी नै नगराई पठाउँदा अलमलमा पर्ने हुँदा तालिम दिइएको हो।

महामारीमा अस्पतालहरुमा ठाउँ नभएपछि विभिन्न स्थानीय सरकारले आफ्नै आइसोलेसन सेन्टर बनाए। त्यस्तै, हेल्थपोष्टमा समुदायको पहलमा यस्ता थुप्रै सेन्टर बनाइएका छन्।

यसका लागि अक्सिजन सिलिण्डरहरु पनि जम्मा गर्‍यो र राखियो।

अक्सिजनको समस्या वा कम हुँदै गएका व्यक्तिहरु त्यस्ता आइसोलेसनमा आउने तर स्वाथ्यमा धेरै समस्या नभएकाहरु घरमै बसिरहेका छन्।

हाल ८० प्रतिशत मानिसहरुलाई अक्सिजनको आवश्यकता छैन भने २० प्रतिशतलाई अक्सिजन अति आवश्यक रहेका पाइएको छ।

९२ भन्दा तल अक्सिजनको मात्रा कम भए अक्सिजन चढाउनु पर्ने हुन्छ। त्यस्ता विरामीहरुलाई कसरी अक्सिजन दिने, कति मात्रा भएपछि तुरुन्त अस्पताल जान पर्ने भन्ने विषयमा विद्यालयका नर्सहरु कमै जानकार रहेकाले पनि तालिमको आवश्यकता परेको डंगोलले बताइन्।

‘प्रायः नर्सहरु क्लिनिकल अनुभव नभएका कारण अक्सिजन जडान गर्ने, सिलिण्डरलाई कसरी राख्नेबारे जानकारी रहेनछ। तालिममा हामीले यसको सही प्रयोग तथा सुरक्षित रहन सिकाएका छौं,’ उनले भनिन्।

धेरै व्यक्तिहरु अक्सिजनको लेबल थाहा भए पनि ९० भन्दा कम हुँदासमेत अस्पताल जाँदैनन्। थाहा नभएर ८२ अक्सिजन मात्रा हुँदा पनि घरमै बस्दा २४ घण्टामै अस्पतालको आइसियुमा जाने अवस्था आएको छ।

युवाहरु पनि समयमै अस्पताल लैजान नसकेकै कारण शरीरका अंग बिग्रिसकेका कारण मृत्युवरण गरेका हुन्। यस्तो अवस्था अब भोग्न नपरोस् भनेर नर्सहरुलाई खटाइन लागेको हो।

‘हामीले दमका बिरामीलाई मेसिनबाट अहिले बाफ दिन नहुने, शवलाई कसरी ह्यान्डल गर्ने, हात कसरी धुने, मास्क कसरी लगाउने लगायतका सुरक्षाका मापदण्डलाई पनि तालिमअन्तर्गत सिकाउने प्रयास गरेका छौं,’ उनले भने।



3 thoughts on “कोरोना उपचारमा विद्यालय नर्स

  1. thank you all for giving a great opportunity to gain me idea and knowledge in such important topic..i hope i ll gain more knowledge in future..thank you

  2. thankyou so much to everyone for giving me a great opportunity to gain more knowledge and idea

  3. Thank you very much for this opportunity to Roshni ma’am,Bala ma’am, the entire team of Nursing Division and trainers sir mam!! This trainings help us so much even more then imaginations🙏🥰I would like to special thanks to stress management team because it was unique and too beneficial for us also.🤝

Leave a Reply

Your email address will not be published. Required fields are marked *