सामाजिक सञ्जालमार्फत् चिकित्सकको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

हेल्थपोस्ट नेपाल

सामाजिक सञ्जालमार्फत् चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धाकधम्की दिएको आरोपमा प्रहरीले वीरगंजबाट एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले ‘युथ अफ वीरगंज’ नामक फेसबुक पेज सञ्चालन गर्दै आइरहेका वीरगंज महानगरपालिका–१० बस्ने २४ वर्षीय सौरभ साहलाई पक्राउ गरेको हो।

नारायणी अस्पतालका चिकित्सक डा.निरज सिंहसहित अन्य स्वास्थ्यकर्मीले दिएको उजुरीका आधारमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।

हास्य कलाकार आदर्श मिश्राका पिता विनोद मिश्राको मृत्यु अस्पतालको लापरबाहीले भएको भन्दै उनले फेसबुकबाट स्टाटसहरू लेख्दै र सेयर गर्दै आएका थिए।

डिएसपी खनालले सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरेकै कारण नभएर चिकित्सकहरूलाई धाकधम्की र आपत्तिजनक शब्द प्रयोग गरेपछि साहलाई पक्राउ गरिएको बताए।

‘बाहिर फेसबुकमा लेखेको कारण पक्राउ गरिएको इन्टरप्रेटेसन गरिएको छ, कुरा त्यति मात्रै होइन,’ आयोमेलसँग खनालले भने,‘म्यासेन्जरमा उनले धाकधम्कीसमेत दिएका छन्। सबै प्रमाणहरू सार्वजनिक गर्न मिल्दैन।’

खनालका अनुसार साहले डा. सिंहबाहेक अन्य स्वास्थ्यकर्मीहरूलाई म्यासेन्जरमार्फत आपत्तिजनक शब्दहरू प्रयोग गरेका छन्।

‘म्यासेन्जरबाट पटक–पटक आपत्तिजनक शब्दहरू प्रयोग गरी अनर्गल आरोप लगाइ चरित्रहत्या गर्ने, धम्क्याउने खाले प्रमाणहरू फेला परेको छ,’ उनले भने,‘पीडित पक्षको जाहेरीको आधारमा पक्राउ गरिएको हो।’

साहविरुद्ध प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत मुद्दा चलाएको छ। डिएसपी खनालले अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *