पूर्वराजा ज्ञानेन्द्रले भने–महामारी नियन्त्रणका लागि हाम्रो आफ्नै संकल्प र बाहिरी सहयोग आवश्यक छ [भिडियाेसहित]
पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी नियन्त्रणका लागि नेपालीको आफ्नै संकल्प र बाहिरी सहयोग आवश्यक पर्ने बताएका छन्।
कोरोना संक्रमणपछि स्वास्थ्यलाभ गरिरहेका पूर्वराजाले बिहीबार भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन्। उनले अहिले आफूहरु पूर्ण स्वास्थ्यलाभ गर्ने क्रममा रहेको पनि बताएका छन्।
‘अहिले हामी पूर्ण स्वास्थ्यलाभको क्रममा छौं र देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति चिन्तित छौंं, महामारीको प्रक्रिया जारी छ, यसलाई नियन्त्रण गर्न हाम्रो आफ्नो संकल्प र बाहिरी सहयोग आवश्यक पर्छ,’ उनले भनेका छन्।
शाहले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्राप्त अन्तर्राष्ट्रिय सहयोगका लागि धन्यवाद पनि दिएका छन्।
उनले आफ्नो स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिने देशभित्र र बाहिरका सबै नेपालीप्रति आभार व्यक्त पनि गरेका छन्।