संक्रमित घटे पनि अक्सिजन चाहिएर अस्पतालमा भर्ना हुन आउने घटेनन्

देशभरमा कोभिड–१९ का नयाँ संक्रमितको संख्या कम भइरहँदा पाटन अस्पतालमा अक्सिजन वा आईसीयू चाहिएर भर्ना भएका संक्रमितको संख्या कम हुन सकेको छैन ।

एकातिर परीक्षणका लागि आउने नै घटिरहेको र अर्कातिर आएकामध्ये कम मानिसमा मात्रै संक्रमण पाइएको भए पनि समस्या भएर अस्पताल भर्ना हुनेको संख्या कम नभएको हो ।

एक सातायताको तथ्यांक हेर्दा पनि भर्ना हुने दर नघटेको अस्पतालले जनाएको छ । मंगलबार अस्पतालमा कोभिडका लागि छुट्याइएका शय्यामा २२५ र अरू शय्यामा २१० बिरामी थिए ।

अस्पताल भर्ना हुने र अक्सिजन चाहिने बिरामी कम नभएकालाई वार्डमा राख्ने कम नभएको अस्पतालका निर्देशक डा रवि शाक्यले बताए । दैनिक झण्डै २५ नयाँ बिरामी आइरहेका छन् । उनले भने, ‘बच्चाको एनआईसीयूबाहेक अरू आईसीयू सधैँ भरिभराउ छन् ।’

अस्पतालमा पनि पीसीआर परीक्षणका लागि आउनेको संख्या केही कम भए पनि भर्ना हुनेको संख्या घट्न नसकेको अस्पतालले जनाएको छ । अस्पतालको हाताभित्र छिर्नासाथ ज्वरोलगायत परीक्षण गरेर शंकास्पद संक्रमित र अरू बिरामीलाई छुट्याउने गरिएको छ ।

‘फिबर क्लिनिक’मा आउनेको संख्या केही कम भइरहेको अस्पतालका निर्देशक डा शाक्यले बताए । उनले भने, ‘एक सातायता पीसीआर परीक्षणका लागि अस्पताल आउनेको संख्या पनि घटिरहेको छ ।’

अस्पतालले गत वर्षदेखि कोभिड र अरू बिरामीलाई छुट्याएर उपचार गर्दै आएको छ । आवश्यकताअनुसार कोभिडका लागि शय्या बढाउँदै लगिएको निर्देशक डा शाक्यले बताए ।

अहिले नयाँ भेरियन्टसहित संक्रमण देखिन थालेसँगै अरू शय्यालाई खुम्च्याउँदै र कोभिडका लागि बढाउँदै लगिएको छ । अस्पतालमा अहिले कोभिडका लागि ३ सय शय्या र अरूका लागि ३५० शय्या छ । उनले भने, ‘सबै शय्या नै बिरामीले भरिएका छन् ।’

अस्पतालले सरकारले निषेधाज्ञा जारी गरे पनि बहिरङ्ग सेवा अवरुद्ध गरेको छैन । कोभिडका शंकास्पद व्यक्तिलाई सुरुमा नै छुटाएर अरू बिरामीको सबै किसिमको उपचार भइरहेको हो ।

यातायातको असुविधा र अहिलेको समयमा बिरामी आफैँ आउन नचाहेका कारण पनि सामान्य अवस्थाभन्दा धेरै कम मात्रै बिरामी बहिरङ्ग सेवाका लागि आइरहेका छन् । उनले भने, ‘अस्पताल आएका कुनै पनि बिरामी उपचार नभएर फर्कनुपर्ने अवस्था छैन ।’

अस्पतालले कोभिडका लागि ३० आईसीयू र १८ भेन्टिलेटर छुट्याएको छ । कोभिडबाहेक सजिर्कल, मेडिकल आईसीयू र बालबालिका लागि एआईसीयू गरी २० आईसीयू छन् । संक्रमण बढिरहँदा आवश्यकताअनुसार नै शय्या बढाउँदै लगिएको निर्देशक शाक्यले बताए । उनले भने, ‘संक्रमण सुरु हुँदा २१ थियो, आवश्यकतानुसार बढाइएको छ ।’

अस्पतालमा हिजोआज क्षमताभन्दा बढी बिरामी नभएको निर्देशक शाक्यले बताए । केही समयपहिले सबैतिर अक्सिजनको अभाव हुँदा सेवा सीमित गर्नुपर्ने बाध्यता थियो । त्यो समयमा ३ सय शय्यामध्ये १५० बिरामी मात्रै भर्ना गर्न सकिने अवस्था थियो ।

अहिले अक्सिजनको अस्थायी समाधान भएको उनले बताए । अस्पतालमा आईसीयूमा क्षताभन्दा बढी बिरामी भएमा अरू अस्पतालमा समन्वय गरेर पठाइने उनले जानकारी दिए ।

संक्रमण अझै बढ्न सक्ने भन्दै अस्पतालले यस वर्ष सजग भएर पहिले नै आवश्यक संख्यामा पीपीई, पञ्जा र औषधि राखेको थियो । तीन महिनालाई पुग्ने गरी पहिले नै राखिएकाले समस्या नभएको उनले बताए । अस्पताल आफैँले अक्सिजनको व्यवस्थापन गर्न खोजेको छ ।

अबको दुई सातामा ठूलो अक्सिजन प्लान्ट बनाइने र त्यसका लागि आवश्यक सामान बाटोमा नै रहेको उनले बताए । उनले भने, ‘दुई सातापछि अक्सिजनमा आत्ममनिर्भर बन्न सकिनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय