बिरामीको खुसीले पिपिईमा गुम्सिएको पीडा त्यसै हराउँछ

फाइल तस्बीर

झापास्थित सशस्त्र प्रहरीको ३८ नं विपद गणमा कार्यरत गंगा प्रधान गत वैशाख २५ मा टाउको, छाती दुख्ने तथा ज्वरो आउने भएपछि उपचारका लागि दमकस्थित एड्भान्स अस्पताल पुगिन्।

कोरोना पोजेटिभ गंगा पाँच दिन त्यहीँ उपचार गरेर केही निको महसुस गरी घर फर्किइन् तर, उनको त्यो खुसी क्षणिक बन्यो। भोलिपल्टै बान्ता आउन थालेपछि श्रीमान देवचन्द्रले हतारहतार पुनः सोही अस्पताल पुर्‍याए।

अपसोच भेन्टिलेटर पाउन सकेनन् हतास मनस्थितिमा श्रीमतीलाई उनले विराटनगरको नोबेल अस्पताल पुर्‍याए।

त्यहाँ दुई दिनको उपचारमा रोग निको हुनुको साटो बल्झिँदै गयो। ‘रोगले थप च्याप्यो, के भइरहेको छ भन्ने नै थाहा पाउन छाडेँ’, विगत सम्झँदै गंगाले भनिन्, ‘त्यो बेला बाँच्छु भन्ने आशै हराएको थियो।’ श्रीमतीको जटिल अवस्थाले देवचन्द्र मलिन बने तर, उनले हरेस खाएनन्। ‘मलाई पनि नचिन्ने भइन्, अनि म आत्तिएँ र अफिसमा खबर गरेँ’, उनले सुनाए।

अस्पतालले काठमाडौं लैजानुपर्ने र एम्बुलेन्समा जाँदा तलमाथि हुनसक्ने चेतावनी एकैसाथ दियो। त्यसपछि सशस्त्र प्रहरी बलको समन्वयमा हेलिकप्टरमार्फत काठमाडौंको सशस्त्र प्रहरी बल (एपिएफ) अस्पतालमा ल्याइएको उनले बताए।

गंगालाई यही जेठ ७ गतेसम्म सघन उपचार कक्ष भेन्टिलेटरको सहयोगमा राखियो। केही कम भएपछि अक्सिजन नछुटाई एचडियु वार्डमा सारिएकामा श्वासप्रश्वास सहज भएपछि जेठ ११ गते अक्सिजन निकालेर १३ गते डिस्चार्ज गरियो।

‘एपिएफका सर र स्वास्थ्यकर्मीको राम्रो साथ, सहयोगले गंगाको ज्यान बच्यो, उनले दोस्रो जुनी पाइन्। योभन्दा खुसी मलाई अरू केही छैन’, देवचन्द्रले भने, ‘यस्तो अरू कसैलाई नपरोस्।’

केही अघि एक ९१ वर्षीय वृद्धलाई हनहनी ज्वरो आयो, श्वास फेर्न पनि गाह्रो भयो। जीवनको उत्तरार्द्धमा आइपुग्दा कोरोनाले ग्रस्त उनी उपचारका लागि एपिएफ अस्पताल बलम्बुमा पुगे। सबैले निको हुने आश मारेका थिए तर, उनको स्वास्थ्यमा नसोचेको सुधार भयो। ‘बाबु म त ९१ वर्षमा पनि बाचेँ’, निको भएपछि उनले मुस्कुराउँदै भनेको कुरा अस्पतालका सशस्त्र प्रहरी उपरीक्षक डा. प्रवीन नेपाललाई ताजै छ।

उनको खुसी सम्झँदै डा नेपालले भने, ‘निको भएका बिरामीको अनुहारको चमक शब्दमा व्यक्त गर्न सकिँदैन।’

त्यसरी नयाँ जीवन पाएर खुसी साट्दै फर्कने धेरै छन् अस्पतालमा। डा. नेपालसामु यस्ता अनौठा र नसोचेका याद कामका दौरान बेलाबेलामा बल्झिन्छ। हरेक भेन्टिलेटरमा बसेका मानिसका कथा र व्यथा अनौठा र अपत्यारिला हुन्छन्। अस्पतालका स्वास्थ्यकर्मीले हरेक क्षण प्रत्यक्ष साक्षात्कार गरिरहेका हुन्छन्। एपिएफ अस्पतालमा महिना दिनका शिशुदेखि ९१ वर्षका वृद्धसमेत खुसी बोकेर फर्किएका चिकित्सक सुनाउँछन्।

मलिन अनुहार लिएर आएका बिरामी र तिनका आफन्त खुसी बोकेर फर्किंदा चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई औधी खुसी लाग्छ। त्यहीबीच केही घटनाले मन अमिलो पनि बनाउँछ। डा. नेपाल भन्छन्, ‘बिरामीका मुहारमा जब खुसी छचल्किन्छ नि, पिपिईभित्र गुम्सिएको हाम्रो पीडा त्यसै हराएर जान्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय