कालो ढुसीको संक्रमण बढ्दै, तीन जनाको ज्यान लियो

हेल्थपोस्ट नेपाल

कोरोना भाइरस महामारीले त्राहीत्राही बनाइरहेका बेला अर्को रोगको संक्रमण देखिएको छ।

कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक संक्रमणबाट वीरगन्जमा तीन जनाको मृत्यु भएको छ।

नेपालमा यसको उपचार गर्न सम्मव नभएकाले भारतमा पाँच जनालाई पठाइएको नारायणी अस्पतालका चिकित्सक डा. नीरज सिंहले बताए।

उनका अनुसार वीरगञ्जमा कालो ढुसीको संक्रमण बढ्दै गएको छ।

‘वीरगञ्जमा आठ जनालाई कालो ढुसी पुष्टि भएको छ। पाँच जनालाई थप उपचारको लागि भारत नै पठाएका छौं,’ डा. सिंहले हेल्थपोस्टसँगको कुराकानीमा भने, ‘ संक्रमणले तीन जनाकाे ज्यान लिइसकेकाे छ।’

मृत्यु हुनेमा विरगञ्ज, बारा र पर्साका छन्।

‘उहाँहरूकाे मुख बिग्रिएको, आँखा सुनिएको थियो। नेपालमा यसको उपचार कठिन छ। गम्भीर अवस्थामा आएकाले उहाँहरूलाई बचाउन सकिएन,’ डा. सिंहले भने।

डा‌. सिंहले करिब एक महिनाअघि वीरगन्जकै एडभान्स अस्पतालमा उपचारका लागि आएकी वीरगन्ज–२७ अलौंकी ६५ वर्षीया महिलामा पहिलो पटक ब्ल्याक फंगसको संक्रमण पुष्टि भएको बताए।

‘सम्भवतः नेपालमै ब्ल्याक फंगसको संक्रमण भेटिएको पहिलो केस नै त्यही हो’, उनले भने, ‘मैले सकेको उपचार त गरेँ। तर, ती महिलालाई बचाउन सकिएन।

वीरगन्जमा आठ जनाबाहेक अहिले अरू कुनै पनि संक्रमित वा व्यक्तिमा ब्ल्याक फंगसको संक्रमण नदेखिएको उनले बताए।

लक्षण, टाउको सिटी स्क्यान र नाकको सिंगानको परीक्षणबाट गर्दा कालो ढुसीको संक्रमण एकिन गर्न सकिने उनले बताए।

उनका अनुसार कोरोना संक्रमित व्यक्तिमा कोरोना लक्षण देखिएको १२ देखि २० दिनको अवधिमा कालो ढुसी संक्रमण देखापर्ने गरेको छ।
विरगञ्जमा आठै जना कोभिडबाट निको भइसकेकाहरूमा कालो ढुसीको संक्रमण पुष्टि भएको छ।

‘कालो ढुसि मानिसबाट मानिसमा सर्ने रोग होइन,’ डा. सिंहले भने, ‘अहिलेसम्मको रिसर्चमा कालो ढुसी हावा र माटोबाट सर्ने संक्रमण भएको पाइएको छ।’

‘रोग प्रतिरोध क्षमता कमजोर भएका र लामो समय औषधि सेवन गरेका व्यक्तिमा संक्रमण गर्छन,’ उनले भने, ‘स्टेरोइड (अक्सिज लेभल घटेको बेला दिइने औषधि) सेवन गरेका र दीर्घ रोगीमा संक्रमण गर्ने सम्भावना बढी हुन्छ।’

एक खालको अवसरवादी फंगसका कारण कालो ढुसी (म्युकरमाइकोसिस) को संक्रमण हुने चिकित्सक बताउँछन्।

कालो ढुसीको संक्रमण भएका व्यक्तिमा अचानक नाक दुख्ने, नाकबाट सिंगान बग्ने, आँखा दुख्ने, आँखा सुन्निन जस्ता लक्षण देखिन्छ।

यसले शरीरका विभिन्न अंग कुहाउने काम गर्दछ।

‘ब्ल्याक फंगस, ह्वाइट फंगस र येलो फंगसको विशिष्टीकरण गरी छुट्याउन कल्चर गर्नुपर्ने हुन्छ। ‘यो कल्चरको रिपोर्ट प्राप्त गर्न दुई–तीन साता पनि लाग्न सक्छ। वायोप्सी पनि गर्नुपर्ने हुन्छ,’ डा. सिंहले भने।

ढुसीको संक्रमण हुने बित्तिकै एम्फोटेरिसिन बी औषधि चलाइहाल्नुपर्छ।

 

मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले वीरगञ्जबाट देखिन थालेको यो संक्रमण बाँके, काठमाडौं लगायतका शहरमा देखिएको पाइएको बताए।

‘केही हप्ता अघि वीरगञ्जतिर केसहरू देखिएका थिए,’ डा. पौडेलले भने, ‘ यस्ता समस्याहरू अहिले काठमाडौं उपत्यकामा पनि देखिन थालेको छ।’

डा. पौडेलका अनुसार हालसम्म नेपालमा १०–१२ जनामा संक्रमण पुष्टि भइसकेकाे छ।

कालो ढुसीका सामान्य प्रारभ्मिक लक्षणहरू

१.अनुहार मुख नाक, आँखा वरिपरि दुख्ने

२.आँखा र नाक सुन्निने रातो हुने वा दुख्ने

३. नाकबाट रगत बग्ने, बाक्लो सिंगान आउने

४. ज्वरो आउने

५. आँखाको ढकनी सुनिने र ढकनी झुक्ने, आँखाले घमिलो देख्ने

६.दाँत दुख्ने वा हल्लिने

जोखिम क–कसलाई हुन्छ?

१.४५ देखि ६५ उमेर समूह

२.डाइबेटिक वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू

३. धेरै खाले एन्टीबायोटिक वा स्टेरोइड औषधि लामो समयसम्म प्रयोग गर्नेहरू

रोकथामका उपायहरू

१. सफा र सुख्खा मास्क प्रर्योग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने

२. नियमित रूपमा हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने

३. व्यक्तिगत स्वच्छतामा ध्यान दिने

४. घर बाहिर वा फोहरमा काम गर्नु परे डिस्पोजेबल पञ्जाको प्रयोग गर्ने

५. धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने

६. नुनिलो पानीले नाक सफा गर्ने

७. पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने

८. जथाभावी स्टेरोइड र एन्टिबायोटिक प्रयोग नगर्ने

९. सुगर भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने

१०. स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *