चुरे संरक्षणमा सरकारको नीतिगत भ्रष्टाचार : गगन थापा

हेल्थपोस्ट नेपाल

नेपाली कांग्रेसका नेता गगन थापाले वातावरण र चुरे संरक्षणमा सरकारको असली अनुहार र घटिया सोच देखिएको बताएका छन्।

व्यापार घाटा कम गर्न चुरे क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने बजेटमा उल्लेख भएपछि प्रतिक्रिया दिँदै थापाले सरकार वातावरण र चुरे संरक्षणमा कति असंवेदनशिल छ भन्ने प्रस्ट भएको बताए।

‘संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा ‘नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’ कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ। वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल छ प्रस्ट भएको छ।’, उनले सामाजिक सञ्जालमा लेखेका छन्।

थापाले यसलाई सरकारको नीतिगत भ्रष्टाचार भएको बताएका छन्। उनले सरकारको यस्तो निर्णय रोकेरै छोड्ने प्रतिक्रिया दिएका छन्।
‘नीतिगत भ्रष्टाचार हो।आफ्ना ‘यार’ लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुन:छर्लङ्ग भएको छ। चुरे क्षेत्र तहसनहस पारेर तराईलाई मरभूमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटकपटक रोकेको हो। यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ।’, उनले भनेका छन्।

नेता थापाले यस्ता जनविरोधी कार्यक्रमको विरोध गर्न सबैलाई आग्रह गरेका छन्। ‘अदालतको आदेश, संसदीय समितिका पटकपटकका निर्देशन र नागरिक खवरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौँ नै। आम जनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आव्हान गर्दछु।’, उनले लेखेम छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *