कोरोना खोप बिहिबार सबै प्रदेशमा जाँदैं, जेठ २५ देखि जेष्ठ नागरिकलाई दिइने

हेल्थपोस्ट नेपाल

सरकारले बिहिबार चिनिँया खोप (भेरोसेल) सात वटै प्रदेशमा पठाउने तयारी गरेको छ।

स्वास्थ्य सेवा विभागका अनुसार मंगलबार प्राप्त भएको भेरोेसेल ६० देखि ६४ उमेर समूहका व्यक्तिलाई दिइने छ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले जेठ २५ बाट खोप कार्यक्रम सुरू हुने बताए।

सातै प्रदेशमा गरी यो उमेर समूहका करिब ८ लाख ५५ हजार जना रहेको मन्त्रालयको तथ्याकं छ।

पहिलो चरणमा आएको खोपले सबैलाई पुर्‍याउन सम्भव नभएकाले प्रदेशस्थित स्वास्थ्य निर्देशनालयलाई दोस्रो डोजको सुनिश्चितता गरेर पुगेजतिलाई खोप लगाउन सक्नेगरी खोप पठाउन लागिएको डा. गौतमले बताए।

केन्द्रबाट प्रदेश आपूर्ति केन्द्रमा पठाइने छ र केन्द्रले प्रदेश स्वास्थ्य निर्देशनालयसँग मिलेर खोप अभियान सञ्चालन गर्ने डा. गौतमले जानकारी दिए।

मन्त्रालयको अनुसार भेरोसेल खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको छ।

स्वास्थ्यको तथ्यांक अनुसार ६० देखि ६४ वर्ष उमेर समूहका प्रदेश १ मा एक लाख ४० हजार, प्रदेश २ मा १ लाख ७८ हजार, वाग्मती प्रदेशमा १ लाख ८३ हजार, गण्डकीमा ७१ हजार, लुम्बिनीमा १ लाख ४५ हजार र कर्णाली प्रदेशमा ५२ हजार र सुदूरपश्चिम प्रदेशमा ८४ हजार जना छन्।

कोभिसिल्ड खोप लगाएका १३ लाख भन्दा बढी नागरिक दोस्रो डोजको पर्खाइमा छन्, तर खोप सुनिश्चित भएको छैन।



Leave a Reply

Your email address will not be published. Required fields are marked *