‘डा. जागेश्वर पैसा कमाउन सरकारी सेवामा आएको होइन’

एक वर्षभन्दा बढी समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हालेका डा. जागेश्वर गौतम यतिबेला कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय अधिकारी छन्।

फरक भूमिकामा वीर हाँक्दै गर्दा डा. गौतमसँग बेथितिले बिग्रिएको वीर सुधार्ने अवसरसँगै चुनौती पनि छ। खासगरी २०५९ सालदेखि छुट्टै ऐनबाट निर्देशित वीरलाई ‘कोभिड डेडिकेटेड’ अस्पताल बनाउने सरकारी निर्णयबाट अस्पतालमा अधिकांश कर्मचारी सन्तुष्ट छैनन्।

यो बीचमा सरकारले देखेको सपना र वीरमा विद्यमान चुनौतीलाई कसरी सन्तुलन गरेर अगाडि बढ्छन् भन्ने योजनालगायत विषयमा हेल्थपोस्टनेपालका लागि प्रमुख सम्वाददाता पुष्पराज चौलागाईंले गरेको कुराकानी :

महामारीको सबैभन्दा कठिन समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताका रूपमा एक वर्ष काम गर्नुभयो, अहिले नयाँ भूमिकामा आउनुभएको छ, यो अवस्थालाई कसरी व्याख्या गर्नुहुन्छ?

स्वास्थ्य मन्त्रालयमा प्रवक्ता र स्वास्थ्य समवन्य महाशाखा प्रमुखका रूपमा काम गरेँ। यो काम देशका लागि धेरै गाह्रो समय थियो। तर, मैले जसरी काम गरेँ नि! मेरो लागि सुनौलो अवसर थियो।

करिब सात वर्ष अगाडि नै मन्त्रालयमा बसेर काम गरेको थिएँ। यो एक एक वर्ष चाहिँ एकदमै उल्लेख्य रह्यो। यसमा दुई कुराले महत्वपूर्ण भूमिका खेलेका छन्।

एक, कठिन समयमा काम गर्ने मौका मिल्यो। अर्को कुरा, नेपालले कोभिड व्यवस्थापनका पहिलो लहरमा धेरै राम्रो काम गर्‍याे। धेरै राम्रो काम गर्ने २०–२५ राष्ट्रमध्ये नेपाल पनि पर्छ।

मन्त्रालयको लिडरसिप, विभागका साथीभाइबाट राम्रो सहयोग पाएँ। प्रवक्ताका रूपमा आउँदा धेरै मानिसले विरोध पनि गरे। विरोध गर्नुको कारण एउटै थियो– डाक्टर जागेश्वर गौतमले चुपचाप लागेर जसले जे भने पनि डराइहाल्दैन। त्यो मेरो व्यक्तिगत स्वभाव हो। यो ६० वर्ष पुग्ने बेलामा के स्वभाव परिवर्तन होला र?

म स्पष्ट बोल्ने मानिस हो। विरोध गर्नुको अर्को कारण सूचना चुहाउने काम म गर्दिनँ। मान्छेहरूलाई थाहा थियो। यो डाक्टरले सूचना चुहाउँदैन। कसैले फोन गरेको भरमा अग्रिम सूचना दिँदैन भनेर विरोधमा लागेका थिए।

म राम्रो काम गर्ने मानिस हो। प्रसुतीगृह अस्पतलामा ६ वर्ष निर्देशक भएर काम गरेँ। जुन अस्पताल कहाँ थियो, कहाँ पुर्‍याएँ?

मेरो बारेमा थाहा पाउने मानिसले के भन्छन् भने– यो काम गर्ने मानिस हो। यसको खुट्टा तानिहाल्नुपर्छ। हजारौं मानिसले नेगेटिभ कमेन्ट गरे। त्यसमा पनि म दुःखी भइनँ। त्यसकारण मैले राम्रोसँग काम गर्न सकेँ।

तर, म मन्त्रालयमा रहँदा दुई कुरा गर्न सकिनँ। पहिलो स्वास्थ्यभन्दा बाहेक अन्य मन्त्रालयबाट जुन सहयोग पाउनुपथ्र्याे त्यो पाउन सकिएन। त्यसैगरी, नागरिकलाई पनि कोभिडका विषयमा राम्रोसँग बुझाउन सकिएन।

भीडभाड, बिहे, जात्रा जे–जे भए नि त्यो नभएको भए दोस्रो लहरमा यति धेरै मानिसको मृत्यु हुने थिएन। अहिले पनि जीवन र मृत्युका लागि बिरामीले संघर्ष गरिरहेका छन्। मानिसहरूलाई राम्रोसँग बुझाउन सकेनौं। जुन दुखद पक्ष रह्यो। सम्रगमा हेर्दा पास–फेलको अंक दिने हो भने मैले गरेको कामलाई ८० प्रतिशत दिन्छु।

महामारीबीच नै भएको सरुवा तपाईंको रोजाइ हो कि अप्रत्याशित थियो?

अहिलेको मेरो जुन सरुवा छ। यो मेरो लागि नयाँ पद हो। नयाँ अध्यादेशले व्यवस्था गरेको पद हो। कोभिड–१९ सम्बन्धी जुन नयाँ अध्यादेशमा तीन मुख्य कुरा छन्।

एउटा कुरा निर्देशक समितिको नेतृत्व प्रधानमन्त्रीले गर्ने। त्यसभन्दा तल आपतकालीन व्यवस्थापनका लागि सिसिएमसीमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) राख्ने व्यवस्था भयो। अहिले डा. बालानन्द शर्मा त्यसको सिइओ हुनुभएको छ। तेस्रो व्यवस्था भनेको कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको व्यवस्था गरियो। त्यसका साथै सात प्रदेशमा कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालको व्यवस्था गरियो। यो व्यवस्थाअन्तर्गत प्रमुख प्रशासकीय अधिकारी पद खडा गरियो।

मेरो ड्युटी विशेषगरी वीर अस्पताल भयो। तर, मेरो काम वीर अस्पतालमा मात्रै सीमित रहन्न। वीर अस्पताल सञ्चालन गर्ने त छँदैछ। देशभरिको कोभिडको व्यवस्थापन गर्ने जिम्मेवारी मेरो नै छ।

म यस्तो कर्मचारी हो। एमडीपछि राजविराज आफैंले पोस्टिङ मागेर गएको हुँ। मलाई सहर–बजार पहिलादेखि नै मन पर्दैन थियो। गाउँघर कुनाकाप्चामा धेरै काम गर्ने मानिस हुँ। त्यही परिवेशबाट आएको भएर पनि होला। मलाई सरकारले दिएको जिम्मेवारीमा खुसी नै छु।

यो भूमिका लिँदै गर्दाको अनुभव र तपाईंले देखेका चुतौती के हुन् त?

म मेडिकल डाक्टर हो। प्रमोसन हुँदाहुँदै यहाँ आइपुगेको हो। देशको स्वास्थ्य प्रणाली राम्रोसँग बुझेको छु। म धेरै ठाँउमा काम गर्छु भन्ने लागेको थियो। तर, वीर अस्पताल गएर काम गर्छु भन्ने कुरा सपनामा पनि सोचेको थिइनँ किनभने मेरो पढाइ–लेखाइसँग वीरमा प्रसुती तथा स्त्रीरोग विभाग नभएकाले सम्भावना देखेको थिइनँ। तर, अहिले फरक भूमिकामा यहाँ आइपुगेको छु।

अहिले म व्यवस्थापक हुँ। बिरामी उपचार गरिरहेको छैन। तर, डाक्टर भएको हुँदा बिरामीको उपचार कसरी गरिन्छ भन्ने कुरा राम्रोसँग थाहा छ। म अहिले जुन पदमा आएको छु। त्यसमा डाक्टर पनि चाहिँदैन।

नेपाल सरकारको ‘फस्र्ट क्लास’ मानिस आएर काम गर्न सक्छ। यदि म डाक्टर नभएको भए वीर अस्पतालमा निर्देशक नियुक्त गरेर नै सरकारले काम गथ्र्यो। म आफैं डाक्टर भएपछि निर्देशक नै किन चाहियो? तर, मेरो पोस्ट निर्देशकभन्दा माथि हो।

व्यवस्थापकको जिम्मेवारी लिनुभएको छ, व्यवस्थापनमा क्षमता, अनुभव तथा शैक्षिक योग्यता केले बढी महत्व राख्छ?

यसमा तीन कुरा छन्। जसमा योग्यता अनिवार्य छ। मजस्ता योग्यता नभएको भए म ११औं तहको डाक्टर नै हुने थिइनँ। दोस्रो कुरा, इमानदारिता पनि हो। त्यो पनि व्यवहारले देखाएको छ। मैले भनिरहनुपर्दैन। तेस्रो कुरा, इच्छा शक्ति। यदि कुरा भएर पनि सबैले मौका पाउँदैन।

एउटा नेपालीको छोराले नेपाली दाजु–बहिनीले पाएको दुःखलाई केही हदसम्म कम गर्न सकिन्छ कि भनेर काम गर्ने हो। ठूलो काम गर्न लागेको जस्तो लाग्दैन। भूमिका परिर्वतन भइरहन्छ। भोलिका दिनमा काम गर्न सकिन भने सरकारले मलाई हटाएर अर्को मानिस पठाउँछ।

जुन स्वाभाविक कुरा हो। कहिले छोरो मान्छे श्रीमान, बुबा, काका अनेक भूमिकामा हुन्छ। जुन समयअनुसार फरक–फरक हुन्छ। त्यस्तै हो।

वीरलाई धेरैले सरकारी स्वास्थ्य प्रणालीको ऐनाका रूपमा हेर्छन्, तपाईंले पनि स्वास्थ्य क्षेत्रमै बसेर काम गरिरहँदा वीरमा देख्नुभएको अवसर, समस्या, चुनौती के छन्?

वीरमा धेरै अवसर छन्। थुप्रै काम गर्न सकिन्छ। अहिले सन्दर्भमा वीरले कोभिडको उपचार एकदमै राम्रो गर्नुपर्छ। जो गरिब छन्। ती मानिसहरू आज निजी अस्पतालमा घरखेत बेचेर उपचार गरिरहेका छन्।

ती मानिस जिउँँदो भए पैसा तिर्न नसक्ने, मृत्यु भए लास निकाल्न नसक्ने अवस्थामा छन्। यी विषयमा कम भइदिए हुन्थ्यो। यसका लागि काम गर्ने अठोट लिएको छु। जुन मेरा लागि अवसर पनि हो।

वीर अस्पताल देशको सबैभन्दा पुरानो अस्पताल हो। यहाँ धेरै कुरा गर्न सकिन्छ। दुवाकोटमा नयाँ संरचनाका लागि नेपाल सरकारले बजेटको पनि व्यवस्था गरेको छ। सबै सिस्टम बसाल्न पाए, गरिब वर्गले सेवा पाउँथे कि!

मेरा लागि चुनौती भनेको वीरमा कहीँ–कहीँ सिस्टमहरू खुकुलो भएका छन्। अलि प्रतिबद्ध भएर काम नगर्ने मानिसहरू पनि छन्। सबैलाई त्यो भन्दिनँ। कतिपयले काम गर्न सक्नुभएको छैन, वा पाउनुभएको छैन।

सबैका कारण प्रशासन खुकुलो भएर हो। यो कुरालाई चुनौतीका रूपमा लिएको छु। बिस्तारै काम गर्दै जाँदा यी सबै कुरा मिल्छ।

सरकारले जारी गरेको अध्यादेशमा उल्लेख गरेको योजनाबाहेक अन्य के रणनीति बनाउनुभएको छ?

अहिले कोरोना उपचार व्यवस्थापन राम्रो गर्नुपर्ने छ। प्रदेश तहमा सातवटा अस्पताललाई राम्रोसँग सञ्चालन गर्ने योजना छ। केस व्यवस्थापनको जिम्मा स्वास्थ्य मन्त्रालयले वीरलाई दिएको छ। त्यसको काम पनि यहीँबाट हुन्छ।

युनिफाइड केन्द्रीय अस्पतालका विषयमा विभिन्न टिक्काटिप्णी उठिरहेका छन्, यसलाई कसरी हेर्नुभएको छ?

केही मानिसहरू विरोधमा लागेका छन्। यो अध्यादेश के हो? भनेर केही मानिसहरू लागिपरेका छन्। कोरोना नयाँ रोग भएकाले नयाँ कुरा आएका छन्। जुन कुरा सबैले पत्याउँछन् भन्ने पनि छैन। अलि–अलि असन्तुष्टि पनि देखिएका छन्। मैले भेटेसम्म क्लियर गर्दैछु। तर, मानिसको नियत के रहेछ भन्ने कुरा पछि नै देखिन्छ।

तपाईंले दुई उपनिर्देशक नियुक्त गर्नुभयो, सो कुरा न्याम्सको ऐनविपरीत छ भन्ने कुरा आइरहेको छ, यस्तो गर्न मिल्छ?

नयाँ अध्यादेशमा ऐन आएको छ। त्यो ऐनले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीर हुने भनिएको छ। त्यसको सम्पूर्ण प्रशासनिक, आर्थिक अधिकार प्रमुख प्राशासकीय अधिकारीलाई हुने भनिएको छ।

त्यसमा म नियुक्त भएको छु। युनिफाइड अस्पताल स्वास्थ्य मन्त्रालयले सञ्चालन गर्नेछ। अब वीर अस्पतालको दैनिक कामकाज मन्त्रालयअन्तर्गत गएको छ। मन्त्रालयले प्रमुख प्रशासकमार्फत काम गराउँदछ।

त्यसकारण मेरो अधिकार क्षेत्र परेका कारण मैले न्याम्सलाई सोध्नुपर्ने कुनै जरुरी छैन। तर, समन्वय गरिरहेको छु। अब शैक्षिक काम भने न्याम्सले गर्छ।

वीर ननकोभिड उपचारका लागि पनि विपन्न वर्गको प्रमुख भरोसा केन्द्र हो, अब पैसा अभावमा उपचार नपाएर वीरमा कोही मर्नु वा फर्किनुपर्ने अवस्था अन्त्य हुनसक्छ?

सबैभन्दा पहिला सर्जरी भवनमा कोभिडका बिरामीको उपचार हुनेछ। वीर र ट्रमा सेन्टरमा भएका जति पनि कोरोनाका बिरामी छन्।

तिनीहरूलाई व्यवस्थापन गरेर नयाँ भवनमा सार्ने। घरखेत बेचेर निजी अस्पताल जान बाध्य मानिसहरूको संख्या सरकारी अस्पतालमा उपचार हुने व्यवस्थापन गर्नेछु। वीरका पुरानो भवन र ट्रमा सेन्टरमा ननकोभिड बिरामीको उपचार गर्ने योजना छ। ननकोभिड बिरामीले धेरै दुःख पाएका छन्।

वीर अस्पताल तथा टेकुमा कोभिड बेड भरिएपछि मात्रै अन्य सरकारी अस्पतालमा कोभिडका बिरामी राख्ने योजना छन्। अस्पताल आएका कुनै पनि बिरामीलाई नफर्काउने योजनामा लागेको छु।

पैसा नभएका बिरामीले उपचार नपाउने हुनु हुँदैन। वीर अस्पतालले प्रशस्त संख्यामा पैसा तिर्न नसक्ने बिरामीको उपचार गरिरहेको छ।

सबैभन्दा बढी निःशुल्क उपचार वीरले नै गरेको छ। न यो कुरा पत्रपत्रिका, मिडियामा आउँछ। न कुनै मानिसले लेख्छ। वीर अस्पतालको जति अरू कुनै अस्पतालले निःशुल्क उपचार गरेका छैनन्। चाहिने जति गर्न सकिएको छैन होला।

वीरले अब नेतृत्वदायी भूमिका खेल्छ।

वीरमा उच्च तहबाट नै उपकरण खरिद वा कर्मचारी नियुक्ति प्रक्रियामा भष्ट्राचार वा बेथिति भएको लेख्न वा सुन्न पाइन्छ। अधिकारसम्पन्न अध्यादेशसँगै यो कुरा झन् बढ्ने हो कि?

खरिद ऐन प्रक्रिया नेपाल सरकारले तोकेको अनुसार हुन्छ। त्यसमा विधि, नियम, कानुनको पालना गरेर काम गर्ने हो। म प्रसुतीगृहको निर्देशक ६ वर्षसम्म हुँदा एउटा कुनै सामान किन्दा भ्रष्टाचार भयो भन्ने पढ्न पाउनुभयो? पक्कै पाउनुभएन। म सिस्टमलाई फलो गर्छु।

मैले कानुनअनुसार काम गरेकैले कुनै ठाउँमा प्रश्न खडा भएन। डा. जागेश्वर गौतम पैसा कमाउने हिसाबले काम गर्ने मानिस होइन। उ इमानदारिता भएको मान्छे हो। मलाई पैसाका लागि काम गर्नुपर्ने जरुरी पनि छैन।

मैले दुई दिन काम गर्न पाएँ भने एक महिनाको तलबबराबर कमाउन सक्ने आँट र क्षमता भएको मानिस हुँ। मैले त्यो काम गर्न पाइरहेको छैन।

रिटार्यड भएपछि पुनः त्यो काम गर्छु। मेरो दुई–चार पैसा कमाउने, भ्रष्टाचार गर्ने नियत छैन। कर्मचारीमा पनि यो सोच छ भन्ने मलाई लाग्दैन।

धेरै पत्रपत्रिका, मिडियाले उचालेर गरेको जस्तो लाग्छ। वीर अस्पतालको समाचार एक–दुई दिन बिराएर आइरहेको हुन्छ। त्यसका कति सत्यता होलान्, कति असत्य होलान्।

मैले काम गरिरहेको संस्थामा सुनियोजित हिसाबले भ्रष्टाचार हुने काम हुन दिने छैन। अञ्जानमा कसैले मिसयुज गरे भने तपाईंहरूले खबरदारी गर्नुपर्छ।

कोभिड युनिट बनाउने भनिएको वीरको सर्जिकल भवन सञ्चालनमा आउन कति समय लाग्छ?

म हाजिर हुँदा १ सय ४७ जना कोभिडका बिरामीको उपचार भइरहेको थियो। तपाईंहरूले समाचारमा लेख्नुभएन। वीरमा कोभिडका बिरामी नै छैन जसरी लेख्नुभयो।

आज पनि १ सय २७ जना कोभिडका बिरामीको उपचार भइरहेको छ। साना अस्पतालले बोल्दिन्छन्, तपाईंहरूले लेख्नुहुन्छ। वीर अस्पतालले यति बिरामी राख्यो भनेर भन्दै हिँड्नुभएन, हाम्रो इज्जतले गर्दा पनि। त्यसकारण हामीले कोभिडको बिरामीको उपचार नगरेको होइन।

जति गर्न सकिन्थ्यो, त्यति गर्न सकिएन भन्ने लागेर गरेको कामको पुनर्मूल्यांकन गर्दैछौं। अब सर्जरी भवनबाट भोलिबाट बिरामी राख्न सुरु गर्छाैं।

संक्रमण दर घट्न सकेको छैन। केन्द्रीय कमान्ड अस्पतालकाा रूपमा काम गरिरहँदा सम्भावित तेस्रो लहरको जोखिमको उपचार तयारी कसरी हुन्छ?

यसका लागि बोर्डरमा नियन्त्रण गर्नुपर्छ। बोर्डरमा परीक्षण तीव्र बनाउनुपर्छ। म स्वास्थ्य मन्त्रालयकोे प्रवक्ता हुँदा मेरो ‘साइड जब’ भन्नुपर्छ।

म नेपालगन्ज, कृष्णनगर, सुनौली नाका पुगेर हरेक नेपाल प्रवेश गर्ने मानिसलाई १० वटा मास्क उपलब्ध गराएँ। कोरोना पोजिटिभ आएकालाई गाडीको प्रबन्ध गरेर सेतीदेखि महाकालीसम्म घर पुर्‍याउने काम गरेँ। यो कुरा मैले भनेको छैन किनभने म लो प्रोफाइलमा बसेर काम गर्ने मान्छे हुँ। अहिले तीनवटा नाका एकदमै राम्रो व्यवस्थापन भएको छ। अन्य नाका पनि व्यस्थित गर्नुपर्छ।

अहिले परीक्षणलाई बढाउनुपर्छ। एन्टिजेन परीक्षण भएको छ। पिसिआरभन्दा एन्टिजेन धेरे गर्नुपर्ने छ। एन्टिजेन परीक्षण भइरहेको छ। तर, रिपोर्टिङ भएको छैन। अहिले हामीसँग १६ लाखभन्दा बढी एन्टिजेन किट छ। अहिले ७ सय ५३ पालिकामा गएर खुरुखुरु परीक्षण गर्नुपर्ने छ। पोजिटिभ आउनेलाई आइसोलेसन गर्नुपर्छ नेगेटिभ आउनेलाई क्वारेन्टिन गर्नुपर्छ।

संक्रमण दर रोक्नका लागि निषेधाज्ञा केही समय लम्ब्याउनुपर्ने हुन्छ। खोल्दाखेरी एकैपटक खोल्नु हुँदैन। बिस्तारै–बिस्तारै खोल्नुपर्छ। त्यो खोल्ने कुराको निधो स्वास्थ्य मन्त्रालयको सिफारिसमा गर्नुपर्छ।

तेस्रो कुरा, बिरामीको सुलभ तरिकाले उपचार गर्नुपर्छ। बिरामी भएकै कारणले मान्छेहरूको घरखेत बेचिनुहुँदैन। त्यसको व्यवस्थापन सरकारले गर्नुपर्दछ। तेस्रो लहर पनि आउन सक्छ भन्ने हिसाबले अस्पतालको स्रोत–साधन व्यवस्थापन गर्नतर्फ लाग्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय