पाकिस्तानमा अड्केका १० डाक्टर नेपाल आइपुगे

हेल्थपोस्ट नेपाल

पाकिस्तानमा परीक्षा दिन गएर लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा उतै रोकिएका १० जना नेपाली डाक्टरहरुलाई सोमबार काठमाडौं ल्याइएको छ। परीक्षा दिन गएका डाक्टरहरु पाकिस्तानको कराँचीमै अड्केका थिए।

नेपाल मेडिकल एसोसिएसन, परराष्ट्र मन्त्रालय, सिसिएमसी, पाकिस्तान राजदूतावास र नागरिक उड्डयनको मद्दतमा आफू नेपाल आउन पाएको एफसिपिएस सेसाइटी अफ नेपालका सचिव डाक्टर विज्ञान आचार्यले बताए।

फेलो अफ कलेज अफ फिजिसियन एण्ड सर्जनमा एमडी गरिरहेका नौजना डाक्टर पाकिस्तानमा क्लिनिकल परीक्षा दिन गएका थिए। पाकिस्तान र नेपालको सहकार्य अनुसार उनीहरुले नेपालमै लिखित परीक्षा दिएका थिए। उनीहरु प्रयोगात्मक परीक्षा का लागि पाकिस्तान गएका थिए।

नौजना रेसिडेन्ट डाक्टर र एकजना पाकिस्तानमै एमबिबिएस अध्ययन पूरा गरेकी छात्रालाई बोकेर हिमालयन एयरलाइन्स सोमबार बेलुकी नेपाल आइपुगेको हो।

‘हामी एक महिनादेखि पाकिस्ताकै कराँचीस्थित कलेज अफ फिजिक्स एण्ड सर्जनमा अड्केका थियौं। छात्रवृत्तिमा अध्ययन गर्न गएकाले हामीलाई सबै खानेबस्ने व्यवस्था कलेजले नै गरेको थियो। कोरोना संक्रमणका कारण ६ मे मा हुने हाम्रो परीक्षा पनि स्थगित गरिएको थियो,’ आचार्यले बताए।

हाल १० जना डाक्टरहरु एनएमएको क्वारेन्टिन सेन्टर अग्रवाल भवनमा आइसोलेसनमा बसिरहेका छन्।

एनएमएका डाक्टर  लिजन महर्जनले सरकार देखि सबैसँग संयोजन गरी नेपाल फर्कन मद्धत गरेको उनले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *