निषेधाज्ञामा पनि भएन संक्रमणको ‘चेन ब्रेक’

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न सरकारले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाहरुमा बैशाख १६ यता निषेधाज्ञा जारी छ।

उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुले जेठ १४ देखि थपिएको निषेधाज्ञालाई अझ कडा पारे। त्यसको कारण थियो–संक्रमणदरमा कमी नआउनु।

सोमबार दिउँसोसम्म देशभर एक लाख ८८ हजार सक्रिय संक्रमित छन्। यो संख्या काठमाडौंमा मात्र १० हजार ८ सय छ।

आखिर हरप्रयास गर्दा पनि संक्रमणको ‘चेन ब्रेक’ किन हुन सकेको छैन?

विज्ञहरुका अनुसार मानिसको आवागमनमा कमी नहुनु, परिवारभित्रै कोरोना हुनु र अस्पतालमा संक्रमितलाई कुर्न बसेका कुरुवा नै संक्रमित हुनु वा संक्रमण फैलाउने माध्यम बन्नु नै यसका कारण बनिरहेका छन्।

अस्पतालका कुरुवा नै संक्रमणको माध्यम

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टहरामुनि शय्या राखेर विरामीको उपचार भइरहेको छ। ‘आइसोलेसनमा राख्नु पर्ने संक्रमितलाई यसरी खुल्ला क्षेत्रमा राख्दा कुरुवा कसरी सुरक्षित हुन सक्छन्,’ अस्पतालमा पुगेकी बिरामीकी एक आफन्तले भनिन्।

‘शय्यामा थोरै मात्र दूरी छ, उनीहरुसँगै कुरुवा पनि एउटै शय्यामा बसिरहेका छन्। न त तिनीहरुले सुरक्षाका मापदण्ड अपनाएका छन् न त विरामीले राम्रोसँग मास्क लगाएका छन्,’ उनले भनिन्।

‘अस्पतालमा विरामी कुरुवाहरुको यतिसम्म लापरवाही देखियो कि अस्पताल छाड्ने समयमा आफूले लिएर आएका सामग्री पनि त्यहीँ छाडेर गएका छन्। कसैले मास्क पनि जथाभावी फालेर हिडेका छन्,’ उनले प्रश्न गरिन्, ‘‘त्यही व्यक्ति औषधि पनि किन्न जान्छ, संक्रमित सँगै बस्छ

अनि मास्क पनि डस्टबिनमा नपर्ने गरी फाल्छ। यसरी कसरी कोरोना संक्रमण कम हुन्छ?’

बिरामीका कुरुवा नै संक्रमण उचाइमा पु¥याउने माध्यम भइरहेको हुन सक्ने विज्ञहरु बताउँछन्।

नेपाल मेडिकल एसोसिएसनका पूर्वअध्यक्ष डा. मुक्तिराम श्रेष्ठले केहीबाहेक सबै अस्पतालमा विरामी कुरुवा राखिएको बताए।

पहिलो लहरको कोरोना संक्रमणमा कुनै पनि अस्पतालले विरामी कुरुवा राखेका थिएनन्। सबै विरामी आइसोलेसनमा राखिएका थिए।

तर झन् संक्रामक भएको यस दोस्रो लहरमा भने आइसीयु र भेन्टिलेटरबाहेक अन्य वार्डहरुमा विरामी कुरुवालाई नै विरामीको रेखदेखमा खटाईएको छ।

डा श्रेष्ठले हरेक वार्ड, ओपीडी तथा क्याबिनहरुमा एक जना विरामी कुरुवा राखिएको बताए।

‘यदि विरामी कुरुवाले सुरक्षाका मापदण्ड अपनाएर विरामीलाई स्याहारसुसार गरेको भए संक्रमण हुने सम्भावना रहँदैन। तर आइसोलेसनमा राख्नुपर्ने विरामीसँगै बस्दा संक्रमण हुने प्रवल सम्भावना रहन्छ,’ उनले भने।

सरकारसँग बिरामी कुरुवाहरु कति संक्रमित भए र किन भए भन्ने कुराको कुनै तथ्याङक छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले यस विषयमा कुरा उठाउने आयोमेललाई बताए। ‘विरामी कुरुवाबाट पनि संक्रमण फैलिरहेको छ। यसलाई नियन्त्रण गर्न हामी लागि परेका छौं,’ उनले भने।

बालबालिका तथा वृद्धहरुको हकमा बिरामी कुरुवा बस्नै पर्ने आवश्यकता तथा प्रोटोकल नै रहेको उनी बताउँछन्।

त्यस्तै, सरकारले कोरोना संक्रमितको उपचारका लागि अस्पतालहरुलाई बजेट दिएको छ। सामान, खानेकुरा तथा औषधि किन्न पनि घरी घरी जान नपर्ने गरी अनुदान दिएको हो। ‘विरामी कुरुवा राख्न नपर्ने तर बालबालिकाको हकमा एक्लै छोड्न मिल्दैन भने ठूलालाई पनि अस्पतालले नै जिम्मा लिनुपर्ने हो। तर यस्तो हुन सकेको छैन,’ पौडेल भन्छन्।

तर जनशक्ति अभावमा डाक्टर तथा नर्सको काम विरामी कुरुवाले गरेको पौडेल बताउँछन्। परिवारबाट सेवा पाउँदा विरामी चाँडै निको हुने भएकाले अस्पतालले कुरुवा राख्न दिएको उनी बताउँछन्।

आवागमनमा छैन कमी

पटक–पटक निषेधाज्ञा थपिँदा पनि मानिसहरुको आवागमन रोकिएको छैन । सरकारले हिँडडुल र भीडभाड गर्न रोक लगाएपछि ८० प्रतिशत आवागमनमा रोक लाग्ने अनुमान गरे पनि यो हालसम्म पनि सम्भव भएको छैन।

‘८० प्रतिशत आवागमनको कमी हुने अपेक्षा गरेका थियौं, तर तथ्याङक अनुसार ६६।६६ प्रतिशत मात्र देखिएको छ। त्यसैकारण पनि अहिले निषेधाज्ञा कडा गर्नुको कारण आशातित रुपमा संक्रमण घटाउनका लागि हो,’ डा. पौडेलले भने, ‘संक्रमणको चेन ब्रेकका लागि जति प्रतिशतमा आवागमन घट्नुपर्ने थियो, त्यो भएको छैन।

मुख्य सडकमा मानिसहरुको आवागमनमा कमी आए पनि भित्री भागमा सक्रियता उस्तै छ। ‘आवागमन कम गर्न निषेधाज्ञा लगाउनु एउटा उपायमात्र हो। संक्रमण साँच्चै घटाउन हटस्पटहरुमा टेस्टिङ, आइसोलेसन, क्वारेन्टिनलाई अझै बढाउँदै लानुपर्छ,’ पौडेलले भने।

परीक्षणको कमी

पछिल्लो केही समयदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षण बढाउनुको सट्टा झन् कम गर्दै लगेको छ।

२० हजारभन्दा माथि पिसिआर परीक्षण र एन्टिजेन परीक्षण गर्दै आएकोमा जेठ १६ गते १० हजारमा झरेको छ। प्रवक्ता पौडेल भने नमुना संकलन नै कम भएकाले परीक्षणमा कमी आएको बताउँछन्।

उनका अनुसार अझै पनि परीक्षणलाई समुदाय स्तरमा लैजान सकिएको छैन र अस्पतालमा आएर परीक्षणको गरिएको नुमनाको मात्र परीक्षण भइरहेको छ।

‘हामीले समुदायस्तरमा अझै परीक्षण गर्न सकिरहेका छैनौं। गाह्रो–सारो भएर अस्पताल आइपुगेका मानिसको मात्रै परीक्षण भइरहेको छ,’ डा। पौडेलले भने, ‘स्थानीय तहमा भएको एन्टिजेन परीक्षणको रिपोर्ट कम प्राप्त भएको छ।’

मन्त्रालयले ११ लाखको हाराहारीमा एन्टिजेन किट सम्पूर्ण स्थानीय तहमा पठाएको छ। तर, कहाँ–कति परीक्षण भइरहेको छ, त्यसको नतिजा अझै राम्रोसँग मन्त्रालयलाई आइसकेको छैन।

‘पालिकास्तरमा हामीले ११ लाख एन्जिेटन किट पठाएका छौं। संक्रमितको तथ्यांक दर्ता गर्ने एप आइएमयू  राख्न भनेका छौं,’ डा। पौडलले भने, ‘तर, परीक्षण भए पनि आइएमयूमा इन्ट्री कम भएको छ।’

जसका कारण थप समस्या भएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय