अक्सिजन अभाव टार्न ६ संस्थाको ‘कन्सोर्टियम’
कोरोना महामारीले नेपालमा व्याप्त अक्सिजन अभाव टार्न ६ वटा नेपाली संस्थाले चार साताभित्र १० अक्सिजन प्लान्ट स्थापना गर्ने समझदारी गरेका छन्।
आज सोमबार भएको जुम बैठकबाट ती संस्थाले फ्रान्सको मेडिकल अक्सिजन उत्पादक कम्पनी नोभएयरसँगको सहकार्यमा अक्सिजन जेनेरेटर र अक्सिजन फिलिङ सिस्टम जडान गर्न समझदारी गरेका हुन्।
अक्सिजन प्लान्ट स्थापना गर्न बतास फाउन्डेसन, अमेरिका नेपाल मेडिकल फाउन्डेसन, स्याकार ट्रेडिङ प्रालि, जगदम्बा स्टिल प्रालि, क्रिएसन नेपाल, ह्युम्यानिटी फाउन्डेसन नेपाल र मिसन रिबिल्ड नेपालबीच समझदारी भएको हो।
बतास फाउन्डेसनले गण्डकी प्रदेशमा चार अक्सिजन प्लान्ट र दुई अक्सिजन फिलिङ सिस्टम जडान गर्न लगानी गर्ने, अमेरिका नेपाल मेडिकल फाउन्डेसनले दुई अक्सिजन प्लान्ट र दुई अक्सिज फिलिङ सिस्टम जडान गर्न लगानी गर्ने, स्याकार ट्रेडिङ, जगदम्बा स्टिल र क्रिएसनले एक–एकथान अक्सिजन प्लान्ट, ह्युम्यानिटी फाउन्डेसनले एक अक्सिजन प्लान्ट र एक अक्सिज फिलिङ सिस्टम तथा मिसन रिबिल्डले भने प्लान्ट निर्माता कम्पनी, सबै संगठन, कार्गो कम्पनी र सरकारी अधिकारीहरूसँग समन्वय गर्ने छ।
कन्सोर्टियमका अनुसार नेपालमा स्थापना गरिने १० अक्सिजन प्लान्टबाट प्रतिमिनेट २ हजार ४ सय लिटर अक्सिजन अर्थात ६ सय ४० थान ठूला सिलिन्डर भर्न मिल्छ। एक प्रदेशमा कम्तिमा एक अक्सिजन प्लान्ट स्थापना गर्ने योजना छ।
कन्सोर्टियमलाई कोकाकोला फाउन्डेसन, एसएनएस ग्रुप नेपाल, अटोवेज प्रालि, केसी ग्रुप, क्वालिटी एग्रिगेट प्रालि, सेल्सबेरी प्रालि, सुपर मादी हाइड्रोपावर प्रालि, अग्नि इन्कर्पोरेटेड प्रालिलगायतले सहयोग गर्नेछन्।
कन्सोर्टियमको जुम बैठकमा स्याकार ट्रेडिङका अध्यक्ष, सौरभ ज्योती, क्रिएसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्र, जगदम्बा स्टिलका सञ्चालक शाहिल अग्रवाल, ह्युम्यानिटी फाउन्डेसनका सञ्जय चौधरी, बता फाउन्डेसनका अध्यक्ष आनन्दराज बतास, अमेरिका नेपाल मेडिकल फाउन्डेसनका डा. भुपेश खड्का, मिसन रिबिल्डका डा. मदन उप्रेतीलगायत सहभागी थिए।