कोरोनाले नफक्रिँदै लुटेका ति अबोध बालबालिकाको खुसी…

५ वर्षीय प्रथम र उनका १० महिने भाइले गत अप्रिलमा कोरोना संक्रमणबाट बुवा गुमाए। उनीहरुले त्यसको केही दिनपछि अर्को बज्रपात सहनु पर्यो। केही दिनको अन्तरमा उनीहरुले आमालाई पनि संक्रमणकै कारण दिल्लीमा गुमाए।

उनीहरु टुहुरा भइसके। तर, ति साना अबोध बालकलाई के थाहा? उनीहरु त यही सोचिरहेका छन् कि किन उनीहरुका बुवाआमाले घर फर्किन यति लामो समय लगाए? प्रथम बारम्बार अफन्तसँग आफ्ना आमाबुवाका बारे सोध्छन्। भन्छन्, ‘कहाँ गएका छन्, कहिले आउँछन्?’

प्रथमको प्रश्न सुनेर आफन्तहरु भावविह्वल हुन्छन् र भन्छन्, ‘बाहिर काममा गएका छन्। केही समयपछि आउँछन्।’ यसो भनिरहँदा उनीहरु भित्रभित्रै भक्कानिन्छन्।

अब प्रत्येक दिन उनीहरुको जिज्ञासा बढीरहेको छ। अवस्था जटिल भइरहेको छ। उनीहरुका आफन्तले दिल्लीमा रहेको टुहुरा बालबालिकाको क्षेत्रमा काम गर्ने एक एनजिओलाई यसबारे जानकारी दिएका छन्। उक्त एनजिओले चाँडै कसैले उनीहरुलाई स्वीकार्दै घर लग्ने विश्वास देखाएको छ।

यस्तै १२ वर्षीया सोनीया र उनका ७ वर्षीय भाइले गत वर्षको जुनमा पहिलो लहरको कोरोनामा बुवा गुमाए। यसवर्षको कारोनाले उनीहरुबाट आमाको साथ पनि खोस्यो। उनीहरुकी आमाले पनि संक्रमणकै कारण गत अप्रिलमा ज्यान गुमाइन्।

उनीहरुको रेखदेख अहिले बुढी भइसकेकी हजुरआमाले गर्दैैछिन्। सोनीया र उनका भाइको भविष्यलाई लिएर उनी निकै चिन्तित छिन्। तर, उनी आफ्ना नातिनातिनीलाई ‘एडप्सन’ का लागि दर्ता गर्न चाहँदिनन्।

‘अहिले त म छुँ। म मरेपछि मेरा नातिनातिनीलाई कसले हेर्छ? यी बच्चाहरु मेरा छोराबुहारीका सम्पत्ती हुन्’, उनले भावुक हुँदै भनिन्, ‘धेरैजना बच्चा स्वीकार्न आउँछन्, म यी मुटुका टुक्रालाई कसरी दिउँ?’

यी त केही प्रतिनिधि घटनामात्र हुन्। कोरोनाकारण भारतमा सयौं बालबालिका टुहुरा भएका छन्।

भारतकी महिला तथा बालबालिका मन्त्री स्मृति इरानीले गत अप्रिल १ देखि २५ मे को अवधीमा मात्रै ५७७ बालबालिकाले आफ्ना बुवाआमा गुमाएको बताएकी छिन्।

बालबालिका टुहुरा हुँदै गएका समाचार सार्वजनिक भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिनअघिमात्रै कोषमार्फत प्रत्येक बालबालिकालाई १८ देखि २३ वर्षको उमेरसम्म उनीहरुलाई १४ हजार डलर बराबरको सहयोग गर्ने घोषणा गरेका थिए।

भारतले ‘एडप्सन’ कानुनलाई कडा बनाएको छ। प्रत्येक प्रदेशमा बालबालिका संरक्षण कमिसन बनाइएको छ। जसले प्रत्येक जिल्लामा अधिकारीहरु नियुक्त गर्छ र केही एनजिओमार्फत पनि त्यस्ता बालबालिका पहिचानमा सहयोग हुन्छ।

भारतमा बालबालिका स्वीकार्नका लागि एक अनलाइन पोर्टल छ। त्यसमा बालबालिका स्वीकार्न चाहनेले आफ्नो विस्तृत विवरणसहितको जानकारी दर्ता गर्नुपर्ने हुन्छ।

त्यसपछि आवश्यक छानविन गरी प्रदेशमा रहेको बालबालिका संरक्षण कमिटीले उनीहलाई कानुनी हिसाबले बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने अधिकार दिन्छ।

तर, भारतमा टुहुरा बालबालिकालाई स्वीकार्ने दर निकै कम छ। गत वर्ष सुरु भएदेखि मार्चसम्म जम्मा ३ हजार ३५१ बालबालिकामा मात्रै एडप्ट भएका पाइन्छन्। अझै भारतमा हजारौं बालबालिका टुहुरा नै छन्। यो संख्या कोरोना महामारीले झनैं बढाइदिएको छ।

‘यति छोटो समयावधिमा यति धेरै मानिसको ज्यान गएको मैले पहिलो पटक सुने÷देखेँ। यसले थुप्रै बालबालिकालाई टुहुरो बनाएको छ।’, दिल्लीस्थित बालअधिकार संरक्षण कमिसनका अध्यक्ष अनुराग कुन्डुले भने। उनले यो निकै चिन्ताको विषय भएको बताए।

‘भारतको उत्तर प्रदेशमामात्रै एक हजार बढी बालबालिकालाई कोरोनाले टुहुरो बनाएको छ’, प्रदेशको बालबालिका संरक्षण कमिसनकी सदस्य डा प्रिति वर्मा भन्छिन्, ‘यो संख्या अझै बढी हुनसक्छ। हामीले अन्यको पहिचानका लागि प्रहरी, विभिन्न संघसंस्थालाई आग्रह गरेका छौं।’

बालबालिका बेचबिखनको जोखिममा

टुहुरा बालबालिकाको संख्या बढ्दै गएपछि यसले बेचबिखनको जोखिम पनि बढाएको छ। अहिले सामाजिक सञ्जालमा टुहुरा भएका बालबालिका स्वीकार्नका लागि थुप्रै पोस्टहरु देख्न सकिन्छ।

त्यस्ता पोस्टहरुमा बालबालिकाका तस्बिरसहित फोन नम्बरहरु राखिएको हुन्छ। यसरी अवैध रुपमा हुनसक्ने बालबालिकाको एडप्सनले उनीहरुलाई जोखिममा हाल्नसक्ने कुन्डुले बताए।

कुन्डुले यस्ता जानकारी दिने पेजहरुको निगरानी बढाएको बताए। उनले यससँग सम्बन्धीत एक घटना सुनाए। ‘त्यस्ता जानकारी दिएको पोस्टमा रहेको एक फोन नम्बरमा हामीले फोन गर्यौं। उनीहरुले एक बच्चाका लागि ७ हजार डलरको माग गरे। हामीले तुरुन्तै प्रहरीलाई खबर गर्यौं।’, उनले भने।

भारतमा बालबालिकाको व्यापारमा केही गिरोह सक्रिय छ। जसका कारण बालबालिकाहरु कठिन काम तथा अबैध यौनव्यापारमा संलग्न गराइनसक्ने जोखिम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय