संक्रमणले नर्सलाई हेर्ने फेरिदिएको ‘नजर’
कोरोना संक्रमणको लडाईमा अग्रस्थानमा रहेका छन्, स्वास्थ्यकर्मी।
स्वास्थ्यकर्मीहरुमध्ये पनि अझ शीर्ष स्थानमा छन्, नर्स।
नर्स तिनै हुन् जसलाई एक समयमा छुच्ची र रुखो स्वभावकी भनेर चिनिने गरिन्थ्यो।
तर, आज नर्स नै भगवान बन्न पुगेका छन्।
उनी नै बिरामीका सहारा, आफन्त र समय कटाउने साधन बन्न पुगेका छन्।
बिरामीको नजरमा अब कोही नर्स छुच्ची छैनन्, अब कसैले उनीहरु रुखो छन् भन्दैनन्।
यही विचार र सम्मानले मन धक्क फूलेको बताउँछिन् विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालकी नर्स, मोनिका रेग्मी।
विगत ४ वर्षदेखि विराट अस्पतालमा आइसियु डिपार्टमेन्ट सम्हाल्दै आइरहेकी रेग्मीले कोरोना संक्रमणमा बिरामीको सहारा नै आफू भएका कारण नर्सप्रतिको भावना सकारात्मक भएको बताइन्।
‘हामीले जति नै राम्रो सेवा गरे पनि पहिले अर्कै व्यवहार गरिन्थ्यो तर, कोरोनाले नर्सहरुलाई हेर्ने नजर नै फरक परेको छ,’ उनले भनिन्, ‘हुन त मानिसको सोचमा पनि किन परिवर्तन नहुनु, आफन्त नभएको समयमा नर्स नै त हो अस्पतालमा बिरामीका सहारा।
कोरोना संक्रमणका समयमा संक्रमितका आफन्त कसैलाई पनि आइसियु कक्षभित्र पस्न दिइँदैन।
न त बिरामीलाई समय कटाउन मोबाइल फोन दिइन्छ, न त रमाइलोका लागि केही साधन नै हुन्छ।
हाल कोरोना संक्रमणका कारण आइसियु भर्ना भएका बिरामीहरुका लागि नर्सहरु नै सहारा बनेका छन्।
विराटनगरकी २५ वर्षिया रेग्मी भन्छिन्, ‘एउटा कोठामा एक्लै १४ दिनसम्म कसरी बस्न सक्छन्?, न त समय कटाउन केही हुन्छ।
संक्रमणको समयमा आफन्त आएर बोल्न पनि मिल्दैन। चाँडो निको हुनका लागि आत्मबल चाहिन्छ।
एक्लै बस्दा झनै अत्मबल तल झर्ने सम्भावना रहन्छ।
त्यसैले बिरामीको आत्मविश्वासलाई बढाउन कहिले गीत गाइदिने, कहिले नाच्न लगाउने र कुरा गर्नुपर्ने हुन्छ।
‘कोही बिरामीहरुसँग घण्टौं बोल्छु, कसैको कपाल कोरिदिन्छु, ऐना देखाइदिन्छु। कसैले आफन्तलाई भेट्न वा कुरा गर्न मन गरे फोनबाट सम्पर्क गराइदिन्छु,’ उनले भनिन्, ‘बिरामीहरुले कयौं दिनसम्म ऐना पनि हेर्न पाएका हुन्नन्। हामीले ऐना देखाएर सफा सुघ्घर गरिदिँदा उनीहरुको मुहारमा चमक देखिन्छ। आफन्तले बरु आफ्नो मान्छे नभन्लान्, हामीले आफ्नै मान्छे जसरी रातदिन बिरामीलाई सेवा दिइरहेका छौं।’
दोस्रो लहरको संक्रमणको मारमा सबै उमेर समूहका मानिस परेका छन्। अक्सिजन तथा अस्पतालमा शय्याको अभावका कारण कुन बिरामी राख्ने र कुन नराख्ने भन्ने निर्णय लिन नै कठिन भएको उनले बताइन्।
हाल सबै बिरामीलाई अक्सिजनको आवश्यकता रहेको छ। कोरोना संक्रमणका कारण कतै ज्यानै जाने हो कि भन्ने सबै बिरामीहरुको मनमा आतंक फैलिएको छ। अक्सिजन सकिने बित्तिकै वा अप्ठ्यारो हुने बित्तिकै बिरामीहरु चिच्याउने गर्दछन्।
‘हामी एकैछिनका लागि पनि कतै गए बिरामी सिस्टर-सिस्टर भन्दै चिच्याउन थाल्छन्,’ रेग्मीले भनिन्।
बिरामीहरु नर्सहरुप्रति यति धेरै निर्भर भइसकेकी उनीहरुको दैनिकी नै नर्सबाटै सुरु हुनेगरेको छ। कतिलाई खाना खुवाउने, कतिलाई दिसा-पिसाब गराउने, समातेर हिँडडुल गराउनेसमेत नर्सले नै गर्ने गरेका छन्।
यस्ता गतिविधिले बिरामी र नर्सबीच घनिष्टता बढ्ने र आफ्नै परिवारको सदस्यजस्तो महसुस हुने उनी बताउँछिन्।
‘बिरामीहरुसँग नाता गाढा बस्दा, कसैलाई केही हुँदा आफ्नै मन दुख्ने गर्दछ। झन् निको हुँदै गएका बिरामीको मृत्यु हुँदा मनोबाल गिर्ने गर्छ’, रेग्मीले भनिन्, ‘कतिपय बिरामीहरु शय्याको अभावमा अस्पताल आउन सकेका छैनन्। उनीहरुलाई पनि सेवा चहिएको हुँदा आफ्नो ड्युटी सकेर पनि होम भिजिट गर्ने गरेको छु।’
हरेक दिन बिहान ६ देखि बेलुकी ८ बजेसम्म आफूले सकेको उपचार दिने र डाक्टरहरुसँग ‘कन्सल्ट’ गरेर मानिसहरुलाई राय-सुझाव दिने गरेको उनी बताउँछिन्।
सानीआमाबाट प्रेरित भएर नर्सिङ पेशा रोजेकी रेग्मी १२ घण्टा अस्पतालमा काम गरेर पनि थकाई नमानी संक्रमितको घरमा पुग्छिन्। बिरामीले दिएको आशिर्वाद र बाँचेको जीवन देख्दा आफूले सही पेशा रोजेको गर्व लाग्ने उनी बताउँछिन्।
‘अहिलेको अवस्थामा स्वास्थ्यकर्मी भन्ने बित्तिकै सम्मानको नजरले हेर्ने गरेका छन्। बिरामीको मुखबाट पनि डाक्टर भन्दा नर्स नभएको भए आफूलाई गाह्रो हुने रहेछ भनेर भन्दा राम्रो सेवा दिएको महसुस हुँदो रहेछ’, उनी भन्छिन्।