कोरोनाका कारण अन्य बिरामीको उपचार प्रभावित

भरतपुर महानगरपालिका–७ कृष्णपुरका होमबहादुर थापाकी श्रीमतीलाई आँखा, मुटु र मृगौलामा समस्या छ।

चिकित्सकले फलोअपका लागि प्रत्येक महिना अस्पताल बोलाउँछन्। बैशाख १७ गते मृगौलाको नियमित परीक्षणका लागि बोलाएका थिए । तर, अहिले अस्पतालका सेवा प्रभावित नियमिति परीक्षण गर्न लगेका छैनन्।

‘श्रीमतीलाई २५ बर्षदेखि सुगर छ। त्यसले आँखा, मुटु र मृगौलामा पनि असर पार्ने सम्भावना हुन्छ। त्यसैले यसलाई बचाइराख्न नियमित जचाईराख्नु पर्दछ। तर, गत बर्षको लकडाउनमा पनि अस्पतालमा लैजान सकिन। अहिले पनि लगेको छैन,’ थापाले सुस्केरा हाल्दै भने, ‘मेडिकलबाट औषधी लिएर खुवाएको छु।’

थापाजस्तै दिर्घरोगिले अहिले सहज रुपमा उपचार पाउन सकेका छैनन्। भरतपुर–१९ का शिव हमाललाई पनि सुगर छ। सुगरले मुटुमा असर गर्ने भएकाले नियमित परीक्षण गर्दथे। तर, उनी नियमित परीक्षणमा जान सकेका छैनन्। घरनजिकैको मेडिकलबाट सुगरको औषधी किनेर खाइरहेका छन्।

‘भरतपुर अस्पतालले जरुरी नपरेसम्म अस्पतालमा नआउन भनेको छ। जान पनि कोरोनाको डर छ,’ उनले भने, ‘नियमित परीक्षण गर्ने समय भएपनि गएको छैन। मेडिकलबाट औषधी लिएर खाएको छु ।’

कोभिड–१९ संक्रमणदर तिब्र रुपमा फैलिएपछि दिर्घरोग भएका बिरामीले पनि सहज रुपले सेवा पाउन सकेका छैनन्।

स्वास्थ्य सेवा विभागको निर्देशन अनुसार भरतपुर अस्पतालले नै भिडभाड हुने भएपछि ओपिडि सेवा नै बन्द गरेको छ।

भरतपुर अस्पतालका प्रवक्ता युवा निधि बर्सौलाका अनुसार, अहिले मानसिक, छाला र दाँत रोग सेवाहरु पुर्ण रुपमा बन्द छन्।

‘निषेधाज्ञा पछि नियमित चल्ने ओपिडिहरु सबै बन्द छन् । त्यसमध्ये प्रसुती सेवा, आकस्मिक सेवा र प्रयोगशालाको काम नियमित भैरहेको छ,’ उनले भने, ‘गर्नै पर्ने अप्रेसनहरु पनि भइरहेका छन् ।’

अहिले ओपिडि सेवा बन्द भएपछि नन कोभिड बिरामीको संख्या पनि ह्वातै घटेको छ।

भरतपुर अस्पतालमा पछिल्लो १२ दिनको अवधिमा १ हजार ७४ भर्ना भएका छन्।

त्यसमध्ये अधिकांश कोभिडका बिरामी रहेको अस्पतालका तथ्याङ्क शाखा प्रमुख नारायण रिजालले जानकारी दिए । भर्ना भएका मध्ये ७ सय ५८ जना आकस्मिक सेवा भएका छन्। तर, भरतपुर अस्पतालले फिवर क्लिनिक सञ्चालन गरेको छ।

ओपिडिमा यो अवधिमा अवधिमा २ हजार २ सय २० जना आएका छन्। त्यसमा २ हजार ४३ बिरामी ज्वरोका रहेको उनले बताए।
सरकारले अहिले पहिलो प्राथमिकता कोभिड नियन्त्रणलाई दिएको छ।

जसले गर्दा पनि अस्पतालहरुले कोभिड वार्डको क्षेत्र विस्तार गरिहेका छन्।

भरतपुर अस्पतालले १ सय ९० वटा बेड कोभिडका लागि छुट्टाएको छ। ओपिडि बन्द भएपछि अन्य सेवाहरु पनि प्रभावित भएको बताउँछन्।

‘अस्पतालमा ननकोभिड बिरामी न्यून आएका छन् । हाडजोर्नी विभागमा रहेको ६० वटा बेड भरिभराउ हुन्थ्यो । अहिले १० जना मात्र छन् ।’–हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्रा.डा. कृष्णप्रसाद पौडेलले भने ।

अहिले अस्पतालमा ओपिडि सेवा बन्द हुँदा चेक नगरि दिर्घरोगिहरुले मेडिकलबाट औषधी लिएर खाँदा जोखिम उत्तिकै हुन्छ। तर, अहिले अस्पताल बन्द हुँदा बिरामीहरु समस्यामा छन्।

सरकारी अस्पतालमा मात्र होईन कोभिडका कारण अन्य अस्पतालमा पनि सेवा प्रभावित भएका छन्।

जसका कारण अन्य बिरामीको संख्या अस्पतालमा न्यून छ भने, आएका कतिपय बिरामीलाई रिर्फर गर्नुपरेको बताउँछन् पुरानो मेडिकल कलेजका जनसम्पर्क व्यक्ति दुर्गा न्यौपाने ।

‘अहिले अस्पतालमा कोभिडका बिरामीको चाप छ । अन्य दिनको तुलनामा ४ भागको एक भाग मात्र बिरामी अस्पताल आएका छन् । तर, अन्य बिरामीको तुलनामा कोभिडका बिरामी थोरै भएपनि जनशक्ति र उपकरण बढी लागेको छ,’उनले भने ‘यसरी नन कोभिड बिरामीको सेवा प्रभावित भएको छ।’

अहिले नेपाल सरकारले पुरानो मेडिक कलेज, चितवन मेडिकल कलेज, भरतपुर अस्पताल र भरतपुर क्यान्सर अस्पताललाई कोभिड अस्पतालको रुपमा मान्यता दिएको छ।

जसले गर्दा पनि नन कोभिडको उपचार प्रभावित बन्दै गएको छ।

जसले गर्दा अन्य बिरामी समस्यामा परेका परेका छन्। त्यसैले कोभिडको मापदण्ड नै अपनाएर ननकोभिड सेवाहरु सञ्चालन गर्नुपर्ने विज्ञको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय