स्वास्थ्यमा हालसम्मकै धेरै बजेट विनियाेजन, कुन शीर्षकमा कति ? [पूर्णपाठ सहित]
सरकारले नियमित रूपमा बजेट ल्याउन सुरु गरेको ७० वर्षको इतिहासमा पहिलोपटक स्वास्थ्य क्षेत्रलाई प्रथामिकतामा राखेको छ।
अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको बजेट १६ खर्व ४७ अर्व ५७ करोडकाे छ। जसमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि कुल १ खर्व २२ अर्व ७७ करोड विनियोजन गरेका छन् । यो रकम कुल बजेटको ७.४५ प्रतिशत हो ।
विज्ञहरुले कुल बजेटको कम्तीमा १० प्रतिशत स्वास्थ्यमा छुट्याउनुपर्ने बताउँदै आएका आएका थिए । तर, १० प्रतिशत नपुगे पनि यो बजेट हालसम्मकै बढी हो ।
सरकारले आर्थिक वर्ष ०७७–०७८ मा ९० अर्ब ६९ करोड विनियोजन गरेको थियो ।
नेपालसँगै सारा विश्व स्वास्थ्य क्षेत्रमा उत्पन्न कोभिड १९ को महामारी सामना गरिरहेको अवस्थामा सरकारले बजेट प्रतिशत, आकार र प्राथमिकताका आधारमा पनि स्वास्थ्यलाई केन्द्रमा राखेर बजेट सार्वजनिक गरेको छ।