विवेकशीलका उज्वल थापाको उपचार खर्च बेहोर्ने दुर्गा प्रसाईंको घोषणा
बिएण्डसी अस्पताल झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेका छन्।
उपचार खर्च प्रदान गर्ने विषयमा प्रसाईंले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।
प्रसाईले ललितपुरको मेडिसिटी अस्पतालमा कोरोना संक्रमणबाट गम्भीर बिरामी भई उपचार गराइरहेका थापाको सम्पुर्ण खर्च बेहोर्ने प्रतिबद्धता जाहेर गरेका छन्।
थापालाई उनले नेपालको गणतन्त्र स्थापनामा लागेका एक असल सामाजिक अभियन्ता भन्दै विज्ञप्तिमा लेखेका छन्–‘वि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटलले सामाजिक उत्तरदायित्व र मूल मान्यता स्वास्थ्य उपचार खर्चको अभावमा कुनैपनि नेपाली नागरिकले अकालमा मर्नु नपरोस् भन्ने रहेकोले उपचारका क्रममा मेडिसिटी अस्पतालमा लागेको वहाँको सम्पूर्ण खर्च बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल बिर्तामोड झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईंले प्रदान गर्ने व्यहोरा अनुरोध गर्दै शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’
स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि थापाको हाल एक्मो मेसिनबाट उपचार सुरू गरिएको छ।
बिरामीको मुटु र फोक्सोले काम गर्न छोडेको अवस्थामा वा नाजुक भएको अवस्थामा अस्थायी रुपमा मुटु र फोक्सोको काम गर्ने प्रविधि एक्मो उपचार पद्धतिको प्रयोग गरिन्छ।
यो उपचार पद्धति धेरै महंगो छ।
थापाको स्वास्थ्य उपचारका लागि सहयोग गर्न इच्छुक व्यक्तिले आलोक सुवेदीको नाममा रहेको कुमारी बैंक मैतीदेवी शाखाको खाता नम्बर १९४०१०५०६५४००००१ मा सहयोग गर्न सकिने छ।
यसरी भइरहेको छ विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको उपचार