घाँटी थिचेपछि हामी भाग्यौं, धन्न बालुवाको थुप्रो भएकाले हाम्फाल्दा बाँच्यौं : डा. साहु

हेल्थपोस्ट नेपाल

साँझको ८ बजेको थियो।

सधैंझैं कोरोना संक्रमितको उपचारमा तल्लीन थिए डा. चन्द्रप्रकाश साहु।

उनलाई आइसीयूमा अन्य तीन नर्सले साथ दिइरहेका थिए।

भरिभराउ आईसीयूबाट ५२ वर्षीय डिल्लीराज रावललाई भेन्टिलेटरमा सार्ने निर्णय गरियो।

त्यो डाक्टर तथा नर्सको आफ्नै निर्णय थिएन।

बिरामीका आफन्तले तीन दिनदेखि भेन्टिलेटरमा सार्न दबाब दिँदै आएका थिए। बिरामीलाई केही भए मार्ने धम्की दिएका थिए। सोहीकारण दबाबमा परेका डाक्टरले आइसीयूमा उपचाररत बिरामीलाई भेन्टिलेटर सेवामा सारेका थिए।

रावललाई १० अघि भर्ना गरिएको थियो। स्थिति नाजुक बन्दै गएपछि आइसीयूमा भर्ना गरिएको थियो।

डा. साहुका अनुसार भेन्टिलेटर खाली नहुँदा पनि विरामीका आफन्तबाट दबाब आउन थालेको थियो।

‘हामीलाई मन्त्रीको समेत फोन आयो, विरामीलाई भेन्टिलेटरमा राखेर राम्रो उपचार गराइदेउ भन्दै। तर भेन्टिलेटर खाली नहुँदा सार्न सकेनौं। हिजो भेन्टिलेटरमा भएका एक बिरामीको मृत्यु भएपछि आफन्तलाई खाली भएको जानकारी गरायौं,’ उनले भने।

बिरामीका आफन्तको स्वीकृति लिएरै भेन्टिलेटरमा सारिएको थियो। ‘अक्सिजनको पाइप निकाल्दा केही मात्रामा उनको अक्सिजन घटेको थियो। छिटो छिटो भेन्टिलेटरमा सार्‍यौं,’ उनले भने।

बिरामीको अवस्था गम्भीर भइरहँदा बाहिर आफन्तले डाक्टरलाई नै मार्ने धम्की दिइरहेकै थिए। अनि डाक्टरले प्रहरी तथा सुरक्षा गार्डलाई आफ्नो सुरक्षाका लागि फोन गरेर सूचना दिए।

‘भेन्टिलेटरमा सारेको एक घण्टामै बिरामीको मृत्यु भयो। त्यो एक घण्टा हामी उनै बिरामीलाई बचाउन लागिरहेका थियौं,’ डा साहुले भने।
मृत्युको खबर सुनेका आफन्तले अन्य भीड पनि जम्मा पारे र सिधै गएर नर्स सदीक्षा गैरेको घाँटी समाएर मार्ने प्रयास गरे। नर्सको घाँटी थिचिरहँदा त्यहाँ उपस्थित इलेक्ट्रिसियनले उनलाई बचाउन प्रयास गरे।

‘म त्यतिबेला अर्को बिरामी हेर्दै थिएँ। केही सोच्नै भ्याइन। सबैलाई मार्ने डरले नर्सहरुलाई छिटो तानेर हामी बस्ने क्याबिनमा लिएर गएँ। मसँगै तीन जना नर्स थिए। इलेक्ट्रिसियनलाई अरुले हमला गरिरहँदा हामी भाग्न पाएका हौं,’ उनले भने।

क्याबिनमा लुक्न गएका स्वास्थ्यकर्मीहरु त्यहाँ पनि कहाँ सुरक्षित थिए र ? उनीहरुलाई खोज्दै सबै सिसा र ढोका फुटाएर त्यहाँ पुगे।

‘एकदमै त्रासले हामी क्याबिनको शाैचालयमा गएर लुक्यौं। त्यहाँ पनि उनीहरुले बाँकी राखेनन्। सबै ढोका फुटाउन थालेपछि शौचालयको झ्यालबाट हामफाल्ने निर्णय गर्‍यौं। एक तल्ला तल भएकाले ज्यान जोगाउन सबैले हामफाल्यौं,’ उनले भने।

सधैं निर्माणका सामग्रीहरु फालिने त्यसठाउँमा धन्न त्यस रात बालुवाको थुप्रो पनि रहेछ। त्यही भएर उनीहरु बाँच्न सफल भए।

अनि उनीहरु त्यहाँबाट भागेर अस्पतालकै अर्को भवन एनआईसियुमा गएर लुके।

उनले सम्झे–त्यहाँबाट सुरक्षाको निश्चित नभएसम्म हामी निस्कन सकेनौं। एक जना नर्सको फोन आएपछि मात्र बाहिर निस्कियौं।’

यस घटनामा नर्स सदीक्षाको घाँटी नंग्राहरुले कोरिएको र एक नर्सको खुट्टा मर्किएको उनले बताए।

भेरी अस्पतालमा स्वास्थ्यकर्मीहरु माथि कुटपिटको घटनापछि त्यहाँका सबै स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् भने उपचारमा संलग्न नहुने चेतावनीले विरामीहरुको ज्यान झनै जोखिममा परेको छ।

हामीले कहिल्यै न्याय पाउन सक्ने छैनौं
अस्पतालका नर्सिङ डाइरेक्टर शारदा कुमारी चौधरीले अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहार र हिंसा यो नै पहिलो नभएको बताइन्।
कोरोना संक्रमितलाई उपचार गर्न सुुरु गरेदेखि नै अस्पतालमा हमला तथा तोडफोड हुन सुरु भएको उनी बताउँछिन्।

केही समयअघि आकस्मिक कक्षमा पारामेडिकक्स हरुलाई लछापछार गरिएको थियो भने कहिले डाक्टर त कहिले नर्सलाई दुव्र्यवहार गरिएको थियो।

‘हामी विरामीहरुको ज्यान जोगाउन आफ्नो ज्यान जोखिममा राखेर खटिरहेका छौं। तर यस विषयलाई विरामीका अफन्तले कहिल्यै बुझेनन्,’ उनले भनिन्।

धेरै पटक यस्ता गतिविधि दोहोरिनु र स्वास्थ्यकर्मीहरुलाई हातपात गर्ने शिक्षित तथा शक्तिको पहुँच भएका व्यक्तिहरु नै भएको उनी बताउँछन्।

‘शक्ति नभएका आफन्तहरु विरामीको मृत्यु भएपछि शव लिएर खुरुखुरु जान्छन् तर शक्तिका आडमा रहेका व्यक्तिहरुले स्वास्थ्यकर्मीहरुलाई दुर्व्यवहार गरिरहेका छन्,’ उनले भनिन्।

सधैं यस्तो समस्यालाई लुकाउने र त्यत्तिकै टुङग्याउने गरिएको छ।

हाल पनि यो घटनालाई यत्तिकै सेलाउनका लागि मन्त्रीहरुको नै दबाब आएको उनले बताइन्।

‘यो घटना यतिकै सेलाउँछ। हामीले कहिल्यै न्याय पाउन सक्ने छैनौं,’ उनले भनिन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *