कोरोना संक्रमितको मृत्युपछि भेरी अस्पतालमा आक्रमण, डाक्टर र नर्सले हामफालेर ज्यान जोगाए
कोभिड संक्रमित युवाको मृत्युपछि आक्रोशित आफन्तले भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि आक्रमण प्रयास गरेका छन्।
बिरामीको मृत्युलगतै अस्पतालभित्र प्रवेश गरेको भीडले ड्युटीमा रहेका डाक्टर तथा नर्समाथि आक्रमण गरेर घाँटी समात्ने र अस्पताल तोडफोड थालेपछि उनीहरु १ तलामाथिबाट हामफालेर भागेका थिए।
अस्पताल प्रमुख डा. प्रकाश थापाका अनुसार ड्युटीमा रहेका एक डाक्टर र ३ जना नर्स अस्पतालको भवनबाट हामफालेका थिए। ९ बजेतिर चिकित्सक, नर्सहरु बिरामीको उपचारमा खटिरहँदा एक्कासी वार्डमै पसेर आक्रमण सुरु गरेका थिए ।
त्यतिबेला ड्युटीमा रहेका अस्पताल डा। चन्द्रप्रकाश साहु, स्टाफ नर्सहरु अश्विनी गुरुङ, सदीक्षा गैरे र बन्दना श्रेष्ठ एक तलामाथिबाट हामफालेका थिए।
कोरोना संक्रमितको मृत्युको विषयलाई लिएर आफन्तहरुले स्वास्थ्यकर्मीहरुलाई लखेट्दै कुटपिट गर्नखोज्दा ज्यान जोगाउन हाम फालेका हुन्।
भागेका चिकित्सक तथा स्वास्थ्यकर्मी अबेरसम्म अस्पतालबाहिरी बसेका थिए। केहीबेरेपछि प्रहरीले आक्रमणमा संलग्न २ जनालाई पक्राउ गरेपनि रातिमध्यरातसम्म स्थिति अशान्त बनेको थियो।
अस्पतालमा उपचाररत दाङका ५१ वर्षीय डिल्लीबहादुर रावतको मृत्युपछि यस्तो अवस्था उत्पन्न भएको हो। जेठ ४ मा भर्ना भएका उनको विहीबार राति निधन भएको थियो।
मृत्युलगतै आफन्तहरु लाठीसहित अस्पताल प्रवेश गरेर तोडफोड गर्न थालेका थिए। सोलगतै अस्पतालमा स्टाफ, डाक्टर र नर्समाझ भागदौड मच्चिएको थियो।
सोलगतै डाक्टर तथा नर्सहरु एक तलामाथिको झ्यालबाट हाम फालेका थिए। हाम फागेको ठाउँमा बालुवा थुपारिएकोले उनीहरुलाई केही भएन।
आक्रमणकारीले अस्पतालका केही सिसासमेत फुटाएका छन् । केही स्वास्थ्यकर्मीलाई लखेरै पनि कुटपिट र ज्यान जोगाउन शौचालयमा लुकेका पिपिई लगाएका नर्सहरूलाई घाँटी अठ्याउने र लात्तीले हानेको अस्पताल प्रशासनले जनाएको छ ।
घटनाका सम्पूर्ण दोसीलाई तत्काल पक्राउ गरेर कारवाही नथाले कामलाई निरन्तरता दिन कठीन हुने भनाई चिकित्सक तथा नर्सहरुको छ।
उनीहरुले शुक्रबारदेखि नै सेवा बहिष्कार गर्नसक्ने चेतावनी दिएका छन् ।
केहीदिनअघि विराट नर्सिङ होममा समेत यस्तै प्रकृतिको घटना भएको थियो ।