महामारीमा नेतृत्वको खडेरी, स्वास्थ्यमा प्रवक्ता बनाउने मान्छेसमेत भेटिएन

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखा प्रमुखसहित प्रवक्ताको जिम्मेवारीमा रहेका डा. जागेश्वर गौतमलाई सरकारले युनिफाइड कमान्ड (वीर) अस्पतालको प्रमुख प्रशासकीय अधिकृत बनायो।

डा. गौतमले नयाँ जिम्मेवारी पाएसँगै मन्त्रालयमा उनले सम्हाल्दै आएको स्वास्थ्य समन्वय महाशाखा रिक्त हुनपुग्यो। कोरोना महामारीका बेला प्रदेश तथा अन्तर्राष्ट्रिय दातृ निकायसँग समन्वय गर्ने निकाय नै नेतृत्वविहीन छ।

मन्त्रालयले तत्काल नेतृत्व खोजी गर्न नसकेपछि स्वास्थ्य आपकालीन तथा विपद व्यवस्थापन ईकाइ प्रमुख एवं सहप्रवक्ता (दसौं तह) वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीर अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ।

महाशाखाको निर्धारित दरबन्दीअनुसार डा. गौतमको पनि पद समूह मिल्थेन। पहिल्यै फरक समूहको व्यक्तिले नेतृत्व गरिरहेको महाशाखाको नेतृत्वले नै मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पाउने परम्परा छ।

पदअनुसार प्रयाप्त र उपयुक्तसमेत नेतृत्व नपाउँदा मन्त्री, सचिवहरुले पदसमूह मिचेरै जिम्मेवारी दिने गरेका छन्।

विश्वका अधिकांश मुलुकसँगै नेपालसमेत डेढ वर्षदेखि कोरोना महामारीको सामना गरिरहेको छ।

यस्तो अवस्थामा स्वास्थ्य संरचनाअनुसार स्वास्थ्यको प्राविधिक सचिव पद रिक्त छ।

जब कि, सचिवका लागि योग्य प्रमुख विशेषज्ञ (१२औं तह) मा तीनजना कार्यरत छन्।

सचिव नभएको अवस्थामा प्रमुख विशेषज्ञ पद कार्यकारीभन्दा बढी आलङ्कारिक छ। १२औं तहकै नेतृत्व हुने विभागको महानिर्देशकबाहेक अन्य महाशाखामा प्रमुख विशेषज्ञको खासै भूमिका रहन्न।

एकातिर, स्वास्थ्य समूहका सचिव पनि नहुनु र कानुनतः १२औं तहको निर्धारित भूमिकासमेत नहुनुले भएका दुई विशेषज्ञको भूमिका पनि उल्लेखनीय छैन।

अर्कोतिर, महाशाखाहरूका निर्णयमा भूमिका रहने महाशाखा प्रमुखमा अधिकांश नेतृत्व पद समूहअनुसारका नहुँदा महामारीमा स्वास्थ्य नेतृत्वको खडेरी झन् गहिरिएको छ।

स्वास्थ्यमा नेतृत्व संकट यति गहिरिएको छ कि, संरचनाअनुसारका पदका लागि समेत योग्यता पुग्ने नेतृत्व अभाव छ।

अहिले पनि पाँच महाशाखा रहेको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यका तीनमध्ये दुई महाशाखामा पद समूहअनुसारको नेतृत्व छैन।

विभागअन्तर्गत पनि ११ तहकै दरबन्दी हुनेको व्यवस्थापन, उपचारात्मक, इपिडिमियोलोजी तथा रोग नियन्त्रण, परिवार कल्याण महाशाखालगायत विभिन्न केन्द्रमा समेत पद समूहअनुसारको नेतृत्व छैन।

मुलुक संघीयतामा गएसँगै सरकारले २०७५ वैशाख ६ मा मन्त्रिपरिषदबाट पारित संगठन संरचनाअनुसार समन्वय महाशाखामा दरबन्दी रहेको ११ तह हेल्थ इन्स्पेक्सन समूहमा मोहमद दाउद छन्।

हेल्थ इन्स्पेक्सन समूहका एकजना मात्रै भए पनि मन्त्रालयको महाशाखासहित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु र स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा गरी तीन दरबन्दी छ।

सोही समूहमा रिता भण्डारी र हालै बढुवा भएका केशव पण्डित पनि रहेपनि मन्त्रालयले नेतृत्वले महाशाखा जिम्मेवारीका लागि पत्याईहालेको छैन्।

त्यसैगरी जनस्वास्थ्य प्रशासन (पहेए) को दरबन्दी रहेको नीति, योजना तथा अनुगमन महाशाखामा जहेस समूहका डा. गुणराज लोहनी जिम्मेवारीमा छन्।

डा. लोहनीको दरबन्दी कोशी अस्पतालमा भए पनि महामारीको सबैभन्दा रणनीतिक निकाय इन्सिडेन्ट कमान्ड सिस्टम सम्हाल्ने अवसर उनैलाई मिलेको छ।

मन्त्रालयमा जहेस समूहको दरबन्दी रहेको गुणस्तर मापन तथा नियमन महाशाखामा भने समूहसमेत मिल्ने डा. मदन उपाध्याय छन्।

डा. उपाध्यायभन्दा अगाडि यो महाशाखा डा. विकास देवकोटाले सम्हाल्दै आएका थिए। डा. देवकोटा अहिले लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव बनेका छन्।

केही वर्ष अघिसम्म स्वास्थ्य मन्त्रालयको नीति निर्माण तथा कार्यन्वयमा समेत हाकी भएको पब्लिक हेल्थ एड्मिनिस्ट्रेसन समूहको पद पर्याप्त भए पनि अहिले नेतृत्वको खडेरी नै छ।

स्वास्थ्य संगठन संरचनामा अहिले स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखा, विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र, परिवार कल्याण महाशाखा, राष्ट्रिय क्षयरोग केन्द्रमा दरबन्दी छ।

विभागमै चार दरबन्दी रहेको पहेए समूहमा ११औं तहका तीनजना मात्रै विशेषज्ञ छन्। तर उनीहरू पनि सबैले पदअनुसारको जिम्मेवारी पाएका छैनन्।

पहेए समूहका ११औं तहमा डा. भीमसिंह तिंकरी, डा. विवेककुमार लाल, डा. अनुज भट्टचन छन्।

हालै डा. प्रकाश साहले पनि पहेए समूहमा लोकसेवा पास गरेका छन्। साहलाई पनि कुनै महाशाखा नै सुम्पिन मन्त्रालय तयार देखिएको छैन्।

तीमध्ये डा. तिंकरी पब्लिक हेल्थ इन्स्पेक्सन समूहको दरबन्दी रहेको व्यवस्थापन महाशाखाको जिम्मेवारीमा छन्। डा.लाल दरबन्दी मिल्ने सार्क क्षयरोग तथा एचआइभी केन्द्रको निर्देशक छन्। डा. भट्टचन राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशक छन्।

पहेएकै दरबन्दी रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा बालरोग समूहका डा. कृष्ण पौडेल निर्देशक छन्।

११औं तह हुँदाको बढुवा समूह नमिलेपछि डा. पौडेलले पछि जनस्वास्थ्य विषयमा समेत मास्टर्स गरेका कारण सम्बन्धित विषयको विज्ञता भने छ।

पहेएकै दरबन्दी रहेका विभागको परिवार कल्याण महाशाखामा जनरल हेल्थ समूहका डा. तारा पोखरेल र एनसिएससीमा जहेस समूहकी डा. सुधा देवकोटा नेतृत्वमा छिन्।

जहेस समूहको दरबन्दी रहेको उपचारात्मक महाशाखामा हालै बढुवा भएका डा. पवनजंग रायमाझीले जिम्मेवारी पाएका छन्।

मन्त्रालय र विभागसँगै अहिले जहेस (मेडिकल सुपेरिन्टेन्डेन्ट) समूहका ११औं तहको दरबन्दी रहेको संघीय सरकारअन्तर्गतका ठूला अस्पतालसमेत ९–१०औं तहका फरक समूहका चिकित्सक नेतृत्वमा छन्। त्यसैगरी प्रदेश सरकारअन्तर्गत रहे पनि केही जिल्ला तहकै अस्पतालमा पनि ११औं तहका दरबन्दी भए पनि नेतृत्व सोअनुसार छैन।

कतिपय केन्द्रीय अस्पतालसमेत जुनियरहरूले चलाइरहेका छन्।

महत्वपूर्ण मानिएका हेई, हेल्थ एड्मिनिस्ट्रेसन समूहमा विज्ञअभाव खड्किरहँदा केन्द्रीय संरचनामा खासै भूमीका र पद नभएको स्वास्थ्य शिक्षा समूहमा भने ११औं तहकै चार जना छन्।

जसमध्ये बरिष्ठतम् सुनील शर्मा हालै मन्त्रालययमा तनिएका छन्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रको जिम्मेवारी राधिका थपलियालाई दिइएको छ।

अर्का बरिष्ठ अधिकारी विनोदविन्दु शर्मा गण्डकीको स्वास्थ्य सचिव हुने लाइनमा छन्। उनले बिचको केही वर्ष जनस्वास्थ्यसमेत पढेकाले उनी काविलमध्ये मानिन्छन्।

स्वास्थ्य शिक्षा समूहका अर्का सहसचिव बद्रीबहादुर खड्का प्रदेश स्वास्थ्य कार्यलय काठमाडौंको प्रमुख छन्। उनको भूमीका र कार्यसम्पादनलाई लिएरसमेत मन्त्रालय सन्तुष्ट छैन्।

महामारी सामना गर्न बनाइएको सबैभन्दा महत्वपूर्ण युनिफाइड अस्पतालमा समेत डा. गौतम उपयुक्त हुन् कि होइनन् भन्ने बहस चिकित्सकमाझ छ। ‘महामारी व्यवस्थापन गर्ने अस्पतालको विज्ञ स्त्रीरोग विशेषज्ञ नभएर जहेस (मेसु) समूहबाट, वा इपिडिमियोलोजिस्ट, भाइरोलोजिस्ट वा चिकित्सक नै हुँदा पनि हेल्थ मेनेजमेन्टको कोर्स गरेको चाहिन्थ्यो’ भन्नेहरूको पनि कमी छैन।

पहेए समूहबाटै करिअर विकास गरेका स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल दरबन्दी संरचना बनाउँदा सिंगो स्वास्थ्य मन्त्रालय सञ्चालन सोचअनुसार नै बनाइने बताउँछन्।

‘संरचना बनेको सरकारलाई कस्तो खालको जनशक्ति चाहिन्छ भन्ने सोहीअनुसार बनेको हुन्छ, स्वास्थ्य सेवामा लागेकाहरूले पनि सोअनुसार सम्भावना देखेर आउनुपर्छ,’ डा. प्याकुरेलले भने, ‘भर्खरै करिअर बनाउँदै आएका स्वास्थ्य नीति निर्माण तहमा जान्छु भन्ने ठान्नेले सोअनुसार पढेर लोकसेवाबाटै सो समूहमा आउनुपर्छ।

मन्त्रालयले पनि स्वास्थ्य सेवामा प्रवेश गरेकाहरूका लागि स्कलरसिपको अवसर खोजेर सोही समूहमा अगाडि बढाउन लाग्नुपर्र्छ।’

डा. प्याकुरेल महामारीको अवस्थामा स्वास्थ्य नेतृत्व अभाव हुँदा सरकारले विभिन्न संरचना बनाएर अवकास लिएका विज्ञहरूलाई पनि काममा बोलाएर पुनः खटाउन सक्ने बताउँछन्।

‘सिसिएमसी पनि पुनर्संरचित हुँदैछ, सो समितिमा महामारीमा काम गरेका जनस्वास्थ्य प्रशासक, इपिडिमियोलोजिस्टहरूलाई पनि समेटेर काम गर्न सकिन्छ,’ डा. प्याकुरेलले भने।

को बन्ला प्रवक्ता?
सामान्यतः मन्त्रालय तहको प्रवक्ता सहसचिव (११औं) तह महाशाखा प्रमुखले पाउने परम्परा छ।

अहिले मन्त्रालयमा प्रशासन, जनसंख्या महाशाखाबाहेक, सहसचिव तहका डा. गुणराज लोहनी र डा. मदन उपाध्याय कार्यरत छन्।

डा. लोहनी अहिले नै महत्वपूर्ण भूमिकामा रहेको हुँदा उनी नयाँ महाशाखा र जिम्मेवारीका लागि तयार नरहेको जानकारहरू बताउँछन्।

त्यसैगरी डा. उपाध्याय भर्खरै मात्र मन्त्रालयमा गएकाले उनलाई समन्वयमा सार्दा अहिलेको महाशाखाकै लागि पनि नेतृत्व अभाव हुन्छ। यस्तो अवस्थामा मन्त्रालय बाहिर रहका कुनै सिनियर चिकित्सकलाई पद समूह नमिले पनि मन्त्रालय ल्याउनुपर्ने बाध्यता छ।

अहिले गण्डकी प्रदेशमा समेत स्वास्थ्य सचिव चाहिने अवस्था छ। त्यहाँ भने स्वास्थ्य सूचना शिक्षा समूहका विनोदविन्दु शर्माको सम्भावना रहेको जानकारहरू बताउँछन्।

स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिवले समेत प्रसूतीगृहकी निर्देशक डा. संगीता मिश्रालाई मन्त्रालय ल्याएर उक्त जिम्मेवारी दिन चाहिरहेका छन्।

बढुवा समूह गाइनोकोलोजी भए पनि डा. मिश्राले पनि अमेरिकाबाट जनस्वास्थ्य विषयमा डिग्री गरेकी छिन्। उनी परिवार कल्याण महाशाखामा भने काम गर्न इच्छुक रहेको बताइन्छ।

मन्त्रालय र प्रवक्तामा भने डा. मिश्राले भने खासै चासो नदिएको बुझाइ मन्त्रालयका अधिकारीहरूको छ।

मन्त्रालयका केही उच्च अधिकारीले भने ११औं तहका चिकित्सकमध्ये वरिष्ठतम डा. भीमसिंह तिंकरीलाई मन्त्रालयमा ल्याएर समन्वयसहित प्रवक्ताको पदीय जिम्मेवारी तोक्ने भूमिका चाहिँ डा. समीर अधिकारीबाटै अगाडी बढाउन उपयुक्त हुने सुझाव दिएका छन्।

पछिल्लोपटक मन्त्रालयले १२औ तहका प्रमुख विशेषज्ञसहितको जिम्मेवारी हेरफेरको तयारी गरेको स्रोतले बतायो । तत्काल डा. रोशन पोखरेललाई महानिर्देशक, डा. दिपेन्द्ररमण सिंहलाई सिसिएमसी पठाउँने र मन्त्रालयको आइसिएस खारेजीको तयारीसमेत गरेको छ।



One thought on “महामारीमा नेतृत्वको खडेरी, स्वास्थ्यमा प्रवक्ता बनाउने मान्छेसमेत भेटिएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *