महामारीमा दूरदराजका अस्पताल : सोचिन्छ एक, भइदिन्छ अनेक

मानिसको दैनिक जीवन बिस्तारै सामान्यतर्फ उन्मुख हुँदै थियो, हिउँदमा उजाड वृक्षहरू बसन्त ऋतुसँगै कल्कलाउँदो गरी पलाएजस्तै मानिसका मनमा केही आसा अनि भरोसा बढ्दै थियो।

स्थानीय सवारीसाधन कुद्न सुरु गरेका थिए, पसलमा चहलपहल बढिरहेको थियो, निस्फिक्री मानिसहरू चाडबाड मनाउन सुरु गर्दै थिए। अन्ततः हामीहरू सामाजिक जीवनतर्फ मुखरित भई नितान्त एक्लो जीवनलाई पूर्णरूपमा परास्त गर्दै थियौं।

अफशोच, लगत्तै हामीले छिमेकी भारतमा म्युटेट भाइरसका कारण कोभिड संक्रमण व्यापक भइरहेको सुन्यौं। हरेक दिन संक्रमितका संख्या दिन दुगुना रात चौगुना थपिँदै गयो र सँगसँगै मृत्यु संख्या पनि त्यही अनुपातमा बढ्दै गएर भारत अर्को टर्कीजस्तो भयावहरूपमा परिणत भइरहेको थियो।

छिमेकमा देखिएको यस किसिमको सन्त्रास र दक्षिणतर्फको खुला सिमानाले हाम्रो मुटु दिनानुदिन कमजोर हुँदै गइरहेको थियो भने कर्णालीसँग जोडिएको नेपालगन्जको रूग्ण अवस्थाले हामी कर्णालीका जनतामा एक किसिमको त्रास सुरु भइसकेको थियो।

हरेक दिन हाम्रो अस्पतालमा लक्षणसहितका कोरोना संक्रमित बिरामी संख्या ह्वात्तै बढेको थियो। परिस्थिति उल्टने हो कि भन्ने चिन्ताले आवश्यक थप जनशक्तिका लागि हामीहरू यताउता भौंतारिरहेका थियौं।

गत वर्ष बालबालिकामा लक्षणरहित न्यून संख्यामा कोभिडका बिरामी थिए भने यस वर्ष त्यसको विपरीत कोभिडका बहुमत लक्षणसहितका धेरै बालबालिका र युवा प्रभावित भएको अवस्था थियो।

केही दिन अगाडिको कुरा हो, हाम्रो आकस्मिक कक्षमा एउटा ७ महिने शिशु गम्भीर प्रकारको श्वासप्रश्वास साथै जलवियोजनबाट पीडित भई छटपटाइरहेको थियो। उसको शरीरमा अक्सिजनको मात्रा ९० प्रतिशत मापन गरिएको थियो, श्वासप्रश्वास दर प्रतिमिनेट ५६ थियो भने मुटुको गति प्रतिमिनेट १ सय ४६ रहेको अवस्था थियो।

हामी चिकित्सक टिमको निगरानीमा रहेको उक्त शिशुलाई तत्कालै अक्सिजन हुक लगायौं। शिशुलाई औषधी दिन १५ पटकसम्म नशा पत्ता लगाउने अथक प्रयास गरिरह्यौं। शिशु गम्भीर प्रकारको जलवियोजनबाट शिकार भइसकेको थियो र हामीलाई उसको नशा पत्ता लगाउन मुश्किल भइरहेको थियो।

लामो प्रयासपछि हामीले नशा पत्ता लगायौं र सफलताको लामो श्वास फेर्यौं। त्यसपछि हामी बीचमा शिशुलाई विशेषज्ञ सेवा दिनसक्ने अस्पतालमा प्रेषण गर्ने कि स्थानीयरूपमा नै उपचार गर्ने भन्ने निष्कर्षका लागि छलफल गर्यौं। हामी के कुरामा पक्का थियौं भने यदि उक्त शिशुलाई सुर्खेत प्रेषण गरियो भने बाटोमा जाँदैगर्दा उसको मृत्यु हुने लगभग निश्चित थियो। तसर्थ, हामीले थप एक दिन शिशुलाई पर्खने र हेर्ने निधो गर्यौं।

हामीले शिशुलाई सिप्याप अथवा निरन्तर अक्सिजन र जलवियोजनमा कमी आएकाले नशाबाट झोलिलो पदार्थ दिन प्रारम्भ गर्यौं। हामी डिउटीमा भएका चिकित्सकहरूले न्यूनतम स्रोत र साधन कम भएको स्थानमा एक्कासि गरेको यो महत्वपूर्ण निर्णय थियो।

हामीले उसको आमालाई सोध्दा विगत चार दिनदेखि शिशुलाई सामान्य ज्वरो र खोकी लागेको कुरा बताएकी थिइन्। एक दिन अगाडि मात्रै लक्षण तथा चिह्नहरूसहित रोग थप गम्भीर हुँदै गएको थियो। यद्यपि, शिशुलाई बान्ता र पखाला भने लागेको थिएन। हामी पनि जलवियोजन के कारणले भयो होला भन्ने दुविधामा अनिश्चित नै थियौं।

अर्को बिहान उसको छातीमा देखिएका गम्भीर लक्षण क्रमशः सुधार हुँदै गएको अवलोकन गर्यौं तर शिशुमा मुटुको चाल र श्वासप्रश्वास भने सामान्य दरभन्दा अझ बढी नै थियो। उसमा जलवियोजनको अवस्थामा भने क्रमिक सुधार भइरहेको थियो। हामी यसको रक्तचाप गणना, इएसआर, शरीरमा पुनर्जलीय मात्रा, छातीको एक्सरे, सिआरपी र उसको रगतमा राता रक्तकणको प्रयोगशाला परीक्षण गर्न निर्देशन दियौं।

अर्को दिन शिशुमा क्रमिक सुधार हुँदा अब उसलाई बचाउन सकिन्छ भन्ने हामीमा केही आसाका किरण उदाए। हामीले अक्सिजन हटाउन खोजेका थियौं तर त्यसले झन् समस्या ल्याउँदा पुनः त्यसलाई निरन्तरता दियौं। त्यसपछिका दुई दिनमा शिशु गम्भीर खालको जलवियोजनबाट मध्यम अवस्था हुँदै क्रमशः पहिलेकै सामान्य अवस्थामा फर्किरहेको थियो।

उसको छातीको एक्सरे सामान्य थियो भने अन्य परिक्षण पनि सामान्य भए पनि सिआरपी परीक्षणमा भने सुधार भइसकेको थिएन। उपचार सुरु भएको चौथो दिनमा शिशुले मुखबाट नै झोलिलो कुरा पिउन थालेको थियो भने छाती सामान्य र जलवियोजन पूर्णतः सञ्चो भइसकेको थियो।

यहीबीचमा हामीले शिशुको एन्टिजेन परीक्षण गर्न सल्लाह दियौं किनकि अस्पतालमा कोभिडका संक्रमितहरूको संख्या दिनानुदिन बढिरहेको थियो। अर्को दिन बिहान शिशुको एन्टिजेन परीक्षण नतिजा देख्दा हामी अचम्भित भयौं किनकि शिशुमा एन्टिजेन परिक्षण पोजिटिभ देखियो।

हामीले शिशुमा अन्य कुनै भाइरल संक्रमण भएको हुनसक्छ कोभिड त हुनै सक्दैन भनेर जित्न खोज्यौं तर परिणाम मान्नु नै थियो। यस अवस्थामा हामीले शिशुको अन्य मानिससँग सम्पर्क भएको र नभएको सोध्ने हिम्मत गर्न मनले मानेन।

सामान्य सोधखोज गर्दै जाँदा एक महिना अगाडि शिशुको बुबा भारतबाट घर फर्केको जानकारी प्राप्त भयो। हामीले सँगसँगै निजका बुबाआमा दुवैको एन्टिजेन परीक्षण गर्न भन्यौं र परीक्षण गर्दा आमामा पोजिटिभ र बुबामा नेगेटिभ परिणाम आयो। त्यसपछि हामीले बुबालाई घर पठाउने र आमा र शिशुलाई अस्पतालको आइसोलेसन ईकाइमा राख्ने निर्णय गर्यौं।

यसैबीच हामीले शिशु र आमालाई आइसोलेसन पठाउनुभन्दा पहिले बच्चालाई कुनै अप्ठ्यारो छ वा छैन, जलवियोजनको अवस्था सम्पूर्ण सुधार भएको, मुख्य लक्षण चिह्न, मुखबाट खान सक्ने अवस्था, दिसा र पिशाब सबै अवस्थाको यकिन गरेका थियौं। हामीले आमालाई र उनको शिशुमा चढाइएको एन्टिबायोटिक्सको मात्रा पूरा नहुन्जेल आइसोलेसनमा नै राख्यौं।

शिशुको एन्टिबायोटिक्सको मात्रा पूरा भएपछि कम्तिमा दुई हप्ता होम आइसोलेसनमा बस्ने सल्लाह दिई आमा र बच्चालाई अस्पतालबाट डिस्चार्ज गरी घर पठायौं।

यो बालबालिकामा भएको कोभिड संक्रमणको एउटा नमुना उदाहरणमात्र हो। यो घटनाले हामीलाई भाइरसको परिवर्तित स्वरूप विगतभन्दा कति फरक छ भन्ने विषयमा सोच्न बाध्य बनाएको छ। यसले बालबालिका, युवा वा ज्येष्ठ नागरिकमात्र होइन, सबै उमेर समूहमा संक्रमण भइरहेको भयावह अवस्था देखाएको छ।

गत वर्ष भएको डरलाग्दो संक्रमणबाट केही समयको मत्थरपछि हामीले जनस्वास्थ्यका आधारभूत मापदण्डहरू पालना गर्न चुकेका छौं। मास्क लगाउने, बारम्बार हात धुने, दुई व्यक्तिबीच कम्तिमा दुई मिटरको भौतिक दुरी कायम राख्नेजस्ता सामान्य नियम पालना गर्न बिर्सेका छौं जसले गर्दा घटना नियन्त्रण बाहिर गएको आभाष हुन्छ।

त्यसैले हामीले नाकमुखको भाग पूरा छोपिने गरी मास्क लगाउने, सामाजिक दुरी कायम राख्ने र बारम्बार साबुनपानीले मिचिमिची हात धुने वा स्यानिटाइजर प्रयोगलाई निरन्तरता दिनु अत्यन्त जरुरी छ। यदि यी नियम पालना गर्न हामीले उदासिनता देखायौं भने भोलि कोरोनाको दोस्रो लहरले अरू विभत्स अवस्था सिर्जना गर्दैन भन्न सकिन्नँ।

  • सापकोटा, दैलेख जिल्ला अस्पतालकी मेडिकल अधिकृत हुन्

(नोटः यो लेख तयार गर्न सहयोग गर्नुहुने डा. विश्वबन्धु थापा, डा. जगत खड्का, डा. जीवन ज्ञवाली र विश्व स्वास्थ्य संगठनका प्रदिप अधिकारीप्रति विशेष धन्यवाद व्यक्त गर्दछु।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय