आजदेखि नेपालमा शक्तिशाली चक्रवातको असर, सतर्कता अपनाउन आग्रह

हेल्थपोस्ट नेपाल

 

पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण आजदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ।

उक्त न्यून–चापीय क्षेत्र सोमबार चक्रवातमा परिणत भएको र आजसम्ममा धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाखाशाले प्रक्षेपण गरेको छ।

सो प्रणालीका कारण आज दिउँसोपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली भई बागमती प्रदेश र प्रदेश नं १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ।

महाशाखाले उच्च हिमाली भूभागमा हावाहुरी, हिमपात र वर्षाको सम्भावना रहेकाले मंगलबारदेखि केही दिनसम्म पर्वतारोहीलाई मौसमअनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरेको छ।

देशका धेरै स्थानमा बुधबारदेखि केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमासमेत भारी वर्षाको सम्भावना रहेको बताइएको छ।

यो मौसममा मेघगर्जन/चट्याङ/हावाहुरी र असिना-पानीकोसमेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *