‘भाइरल’ तस्बिरमा मन्त्री आलेको टिप्पणी – सरकारले ल्याएको सिलिण्डरमा फोटो टालेको भन्दै मेरो बदनाम गरियो

हेल्थपोस्ट नेपाल

अहिले सामाजिक सञ्जालहरुमा एक फोटो निकै भाइरल भइरहेको छ। फोटोमा अक्सिजन सिलिण्डरमा मन्त्री प्रेम आलेको तस्बिर देख्न सकिन्छ। जसमा लेखिएको छ, नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री।’

यही तस्बिरलाई अहिले भाइरल गरिएको छ। केहीले उनको आलोचना गरेका छन् त धेरैले सरकारले चाइनाबाट ल्याएको अक्सिजन सिलिन्डरमा आलेले आफ्नो तस्बिर टाँसेको बताएका छन्।

यसै तस्बिरका बारेमा बुझ्न खोज्दा मन्त्री आलेले उक्त सिलिन्डरहरु आफूले ब्यक्तिगत खर्चमा ल्याएको दाबी गरेका छन्। उनले पितपत्रकारिता गर्ने केही मिडियाले आफ्नाविरुद्ध नकारात्मक सन्देश प्रवाह गर्दै बदनाम गर्न खोजेको आरोप लगाएका छन्।

‘मैले हिजो साँझ र आज बिहान केही मिडिया र सामाजिक सञ्जालमा हेरेँ। यो त चाइनाबाट आएको हो कहाँबाट प्रेम आलेले ल्यायो भनिएको रहेछ। यो देखेर म आश्चर्यमा परे।’, उनले भने, ‘नेपालमा उत्पादन नभएपछि चाइनाबाट नआएर कहाँबाट आउँछ त?’

उनले अगाडि दाबी गर्दै भने, ‘मैले नै मगाएको चाइनाबाट। व्यक्तिगत खर्चमा ल्याएकोलाई पनि आज कतिपय पितपत्रकारिता चलाउनेहरुले यो नेपाल सरकारले दिएको सिलिन्डरमा आफ्नो स्टिकर टाँसेर यसरी वितरण गर्दै हिँडिराखेको छ भनेका छन्। त्यो मिथ्या आरोप हो। विभागमा गएर सोधे हुन्छ। ‘

उनले डोटी र कैलालीको सेती अस्पतालका लागि पटक-पटक ताकेता गर्दा पनि सरकारबाट पाउन नसकेपछि आफू स्व‌ंले १५ दिनअघि नै १५ लाख डेपोजिट गरेर चीनबाट मगाएको बताए। उनले डोटीको लागि १५ वटा स्वास्थ्य विभागले दिएपनि ११० वटा आफ्नो पर्सनल खर्चमा किनेको बताए। उनले सोमबार डोटीमा ७५ सिलिन्डर हस्तान्तरण गरेको बताए। ‘हिजोमात्रै मैले ६० वटा पर्सनल खर्चमा किनेको र १५ वटा विभागले उपलब्ध गराएको सिलिन्डर हस्तान्तरण गरेको छु।’, उनले भने।

आलेले व्यक्तिगत खर्चमै किनेको चारवटा अक्सिजन कन्सन्ट्रेटर पनि डोटीमा हस्तान्तरण गरेको बताए।

आलेले आज बिहान सेती प्रादेशिक अस्पताल धनगढीलाई पनि ५० सिलिन्डर भरिएको अक्सिजन र ५० हजार मक्स हस्तान्तरण गरेको बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *