प्रधानमन्त्री ओलीले कालो धन लुकाउन बिएण्डसीलाई सम्बन्धन दिँदै छन् : डा. केसी
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले निजी मेडिकल कलेजलाई अवैध सम्बन्धनको प्रक्रिया अघि बढाए सत्याग्रह गर्ने चेतावनी दिएका छन्।
झापाको प्रस्तावित बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईं प्रधानमन्त्रीको आर्थिक र राजनीतिक साझेदार रहेको भन्दै प्रसाईंको मेडिकल कलेजलाई गैरकानुनी रुपमा सम्बन्धन दिलाउन ओलीले अनेक हथकण्डा अपनाएको आरोप लगाएका छन्।
‘उक्त प्रस्तावित मेडिकल कलेजले २०७३ सालयता आशयपत्र नवीकरण गरेको छैन। जबकी चिकित्सा शिक्षा नियमावली २०७७ अनुसार त्यसरी नवीकरण नगराएको आशयपत्र स्वतः रद्द हुन्छ। त्यसैले अस्पताल सञ्चालन भए पनि शिक्षण संस्थाका रुपमा उक्त संस्थाको कानुनी अस्तित्व शुन्य छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अर्काेतिर त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले यसअगाडि नै पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिइसकेका कारण चिकित्सा शिक्षा ऐन अनुसार थप मेडिकल कलेजलाई सम्बन्धन दिन सकिँदैन।’
प्रधानमन्त्रीले यस्तो कार्य विधिको शासनविरुद्धको अक्षम्य अपराध भएको विज्ञप्तिमा उल्लेख छ।
‘चिकित्सा शिक्षा आयोगका पदाधिकारीको अडानविपरीत अयोगको बैठक बोलाएर जबर्जस्ती अवैध सम्बन्धनको प्रक्रिया अघि बढाइयो भने म नेपाल फर्कनासाथ त्यस्तो हर्कतविरुद्ध सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहान्छु।’
केसीले बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईंले आफ्नो मिडिया संयोजक प्रितम सुवेदीमाथि भौतिक आक्रमणको धम्की दिनु नागरिकमाथि हुने राज्य आतंकको नमुना भएको पनि बताएका छन् ।
‘नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार नै कुण्ठित गर्ने प्रधानमन्त्री ओली संरक्षित अपराधीहरुको यस्तो कर्तुतविरुद्ध लड्नु हामी सबै नागरिकको कर्तव्य हो,’ विज्ञप्तिमा भनिएको छ ।