गोरखाका गाउँगाउँमा कोरोना संक्रमित, परीक्षण गरेका मध्ये २०% पोजेटिभ (फोटोफिचर)

गोरखाका अधिकांश गाउँहरुमा समेत कोरोना संक्रमण फैलिसकेको पाइएको छ। विभिन्न पालिकाका दुर्गम बस्तीहरुमा समेत पोजेटिभ भेटिएका हुन्।

माओवादी नेता नारायणकाजी श्रेष्ठको सचिवालयले कोभिड १९ स्वयम सेवा समूह (सिभिएस) बनाएर चिकित्सक पारामेडिम्स तथा प्रयोगशाला प्रविधिकसहितको टोली परिचालन गरेर परीक्षण, परामर्श उपचार तथा रेफर गर्ने प्रवन्ध गरेको थियो।

उच्च संक्रमण मध्येको १३ स्थानमा संक्रमित क्षेत्रमै पुगेर एन्टिजेन विधिमार्फत ५सय ७४ जनाको कोभिड–१९ परीक्षण गरिएकोमध्ये करिव २०% बिरामीको कोरोनाको रिपार्ट पोजेटिभ आएको टोलीमा खटिएका डा. राकेश परियारले जानकारी दिए।

परियारका अनुसार परीक्षण गरिएका ठाउँमध्ये बारपाक, जौवारी, सिरानचोकलगायतका ठाउँमा पोजेटिभिटी दर बढि पाइएको छ ।

बारपाकमा ७० जनाको एन्टिजेन गर्दा ३३ जना (४७%) पोजेटिभ भेटिएको थियो। त्यसैगरी सिरानचोक चिलाउनेमा ५७ जनामा १५ (२६%) जना पोजेटिभ, जैवारीमा ७६ जनाको नमुना परीक्षण गर्दा जनामा २० जना (२६%) पोजेटिभ देखिएको थियो ।

डा. परियारका अनुसार घैरुङमा ३३ जनाको परीक्षण गर्दा ८ जनामा, आँपपिपल ३१ जनाको नमुना परीक्षण ३ जना पोजेटिभ भेटिएका थिए।

त्यसैगरी भिमसेन थापागाउँपालिका वडा नं २ मा ११३ नमुना परीक्षणमा ४ जना, ३ मा ५० जनाको परीक्षण गर्दा ८ जनामा, ४ मा ७८ जनाको परीक्षण गर्दा १३ जनामा कोरोना पोजेटिभ भेटिएको थियो।

भच्चेकमा ३६ जनाको परीक्षण गर्दा १ जना भेटिएको थियो भने, क्यामुनटार, बोर्लाङमा ३० जनाको परीक्षण गर्दा एउटा पनि संक्रमित भेटिएन।

डा. परियारले यो तथ्यांक बास्तविक बिरामी भन्दा कम भएको भन्दै लक्षण देखिएका बिरामी र कन्ट्रयाक ट्रेसिङ परेकासमेत एन्टिजेन परीक्षण नगरी घरमा बस्ने गरेको पाइएको बताए।

उनका अनुसार शहरी क्षेत्रको तुलनमा ग्रामीण क्षेत्रमा, स्वास्थ्य मापदण्डको पालना ज्यादै न्यून छ। ‘गाउँगाउँमा जमघट हुने, गाउँमा कोरोना हुदैन् भन्ने गलत धारणा, मास्क, स्यानिटाइजरको प्रयोग नगर्ने’ अवस्था छ।

उनले लक्षण देखिएका मान्छे पनि पिसिआर रिपोर्ट नआउँदै गाउँगाउँ डुल्ने गरेको र कोरोनालाई सामान्य रुघाखोकी ठानेर जाँच नै नगर्ने प्रवृतिसमेत ब्याप्त रहेको औल्याए।

‘हामीले परीक्षण गरेर पोजेटिभ भेटेपछि जटिलता आइसकेको भनेर रिफरल गर्दा समेत बिरामी हस्पिटल जान नखोजेको समेत भेटियो’ उनले भने, ‘एकातिर पिसिआर रिपोर्ट नै ढिला आउँदा, अर्कोतिर मानिस स्वास्थ्य संस्था जानै खोज्दैन, जसले गर्दा संक्रमण फैलिने र मृत्युदरसमेत बढि हुने जोखिम रहन्छ’

अभियानको क्रममा सिभिएस टिमले स्थानीय स्वास्थ्यकर्मीलाई एन्टिजेन टेस्ट तालिमसमेत दिएको थियो।

तालिमपछि सिभिएसले लिएर गएको एन्टिजेन कीटसमेत वितरण गरेको थियो। जसले गर्दा लक्षण देखिएका संक्रमितलाई पिसिआर रिपोर्ट पर्खिनु अगावै एन्टिजेन परीक्षण गर्न सकिने समेत भएको छ।

अहिले गोरखामा संकलिन स्वाबको पिसिआर रिपोर्ट पुग्न ८ देखि १० दिनसम्म पर्खिनुपर्ने बाध्यता छ। त्यतिबेलासम्म व्यवस्थापन गर्न सकिने संक्रमण पनि जटिलतामा पुगिसक्ने अवस्था छ।

कोभिड–१९ स्वयम् सेवा समुह (सिभिएस)ले उच्च संक्रमण देखिएको क्षेत्रमा शंकास्पद, लक्षण देखिएका र कन्ट्रयाक ट्रेसिङमा परेका बिरामीको एन्टिजेन्ट टेस्टको प्राथमिकतामा राखेको थियो।

परीक्षणपछि पोजेटिभ देखिएमा बिरामी अवस्थाको वर्गीकरण गरेर सोहीअनुसार औषधी उपचार, स्वास्थ्य परामर्श र जटिल कोभिड निमोनिया भएको बिरामीलाई रेफरसमेत गरेको थियो।

सिभिएस टोलमा डा. परियारसहित, डा. शिशिर देवकोटा, डा. नविन सापकोटा, स्वास्थ्यकर्मी तर्फ खेमराज सापकोटा, अभिशेकबाबु मगराती, अमृत सुनार, व्यवस्थापनमा किरण पन्त थिए।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय