सिंगापुरबाट आयो १३ टन स्वास्थ्य सामग्री
कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि सिंगापुरबाट करिब २५ करोड रुपैयाँबराबरको १३ टन स्वास्थ्य सामग्री ल्याइएको छ।
तामासेक फाउन्डेसन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर, गोरखा ब्रुअरी प्रालिका साथै विभिन्न मन्त्रालय, कुटनीतिक नियोग र नेपाली प्रवासीसँगको सहकार्यबाट ती सामग्री ल्याइएको हो।
गोरखा ब्रुअरीका उपप्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले सिंगापुरका ती दुई दाताका तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे।
तिनमा १ लाख २३ हजारभन्दा बढी फोर्टिट्यूड, २ लाख ५० हजार सिटोटेस्ट स्वाब किट, दुइटा म्याजेक३२ आरएनए निकासी मेसिन, २ हजार ५ सय निकासी किट र रिएजेन्ट्स, ३० अल्फा टेलिभेन्टिलेटर, ६ फिलिप्स ट्रिलोजी इभो भेन्टिलेटर, ५० युवेल बिआई–पिएपी, नन–इन्भेसिभ भेन्टिलेटर र ४ हजार पल्स अक्सिमिटर छन् ।
‘कोभिड–१९ का विभिन्न भेरिएन्टबाट भर्खरै देखिएका अवस्थाबाट यो कुरा प्रष्ट भएको छ कि हामीले जीवन बचाउन र महामारी नियन्त्रणमा ल्याउन निरन्तर मिलेर काम गरिरहनु आवश्यक छ। तामासेक फाउन्डेसन महामारीविरूद्ध विश्वव्यापी युद्ध लड्न नेपालका हाम्रा मित्र र छिमेकीहरूसँग एक साथ छ,’ तामासेक फाउन्डेसन इन्टरनेसनलका मुख्य कार्यकारी अधिकारी बेनेडिक्ट चिओङले भने।
स्वास्थ्यमन्त्री त्रिपाठीले कठिन घडिमा सिंगापुरको तामासेक फाउन्डेसन, लोटस लाइफ फाउन्डेसन तथा गोरखा बु्रअरीवाट प्राप्त सहयोग प्राथमिकताका आधारमा विभिन्न अस्पताललाई अविलम्ब वितरण गरिने जानकारी दिए।
गोरखा बु्रअरीका उपप्रबन्ध निर्देशक सिलवालले महामारीका बेला तत्काल प्रयोगमा आउने स्वास्थ्य सामग्री सहयोग गर्न पाउँदा खुसी लागेको बताए। गोरखा बु्रअरीबाट यसअघि २०७२ को भूकम्पमा पनि सरकारलाई १० करोड रुपैयाँ सहयोग गरिएको उनले बताए।