प्रशासनिक कर्मचारी हाबी हुँदा महामारी नियन्त्रण झन् अस्तव्यस्त : विजयचन्द्र आचार्य [अन्तर्वार्ता]

कोरोना महामारी नियन्त्रणका कुनै संकेत देखिएका छैनन्। केही दिनदेखि संक्रमितको संख्या ९ हजार हाराहारीमा देखिए पनि अक्सिजन, बेड, आइसियु र भेन्टिलेटरको अभाव हट्ने कुनै संकेत छैन।

यस्तो परिस्थितिमा कोरोना संक्रमण नियन्त्रणमा के कस्ता कमिकमजोरी भएका छन् भनेर बहस भइरहेका छन्।

यो परिस्थितिमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा चर्चित चिकित्सक एवं कुशल स्वास्थ्य व्यवस्थापकको परिचय बनाएका बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोग विषेशज्ञ एवं निवर्तमान कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यसँग गरिएको कुराकानी-

कोरोना महामारीको दोस्रो लहर फैलिरहँदा स्वास्थ्य सेवा प्रवाहमा जटिलता देखिएको छ, सेवा अपेक्षाको चाप र अप्ठ्यारालाई कसरी विश्लेषण गर्नुभएको छ?
कोरोना महामारीको दोस्रो लहर आउँछ भन्ने आँकलन हुँदाहुँदै सबै पक्षले यसलाई गम्भीरताका साथ लिएनन्। परिणामस्वरूप यस्तो भयावह अवस्था आएको हो। निषेधाज्ञाको तीन साताभन्दा लामो समय भइसक्दा पनि यो नियन्त्रणउन्मुख नहुनुको कारण पनि यही हो।
महामारी अहिले भयावह भएर आएको छ। यसलाई सबै मिलेर, अनुशासितरूपमा जनस्वास्थ्यका मापदण्ड पालना, उपचारको उचित प्रबन्ध, कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङबाटै यसलाई नियन्त्रणमा लिनुपर्छ।

महामारीसँगै अझै पनि उपचारका आधार स्वास्थ्य संस्थाको संरचना र प्रणालीमा परिवर्तन आवश्यक छ। केही सातादेखि नै स्वास्थ्य प्रणाली नै कोल्याप्स भएको अवस्था छ र यो अस्तव्यस्त अवस्था अझै केही समयसम्म रहिरहने देखिन्छ।

तत्काल के गर्न सकिन्छ त?
अहिले उपचारका सन्दर्भमा दुईवटा विषयमा बढी जोड दिन जरुरी छ। पहिलो भनेको अहिलेको अस्तव्यस्त अवस्थालाई नियन्त्रणमा लिने। दोस्रो स्वास्थ्य सेवा प्रवाहलाई पुरानै अवस्थामा फर्काउन दीर्घकालीन नीति बनाएर काम गर्ने।

यी दुवै काम सँगसँगै अगाडि बढ्नुपर्छ। अहिले स्वास्थ्य मन्त्रालयका निकायहरूले यो गर्नलाई त्यति सफल भएको देखिएन। त्यसकारण उहाँहरूले यसबारे फेरि सोच्नुपर्ने बेला भइसकेको छ।

यो महामारीका बेला स्वास्थ्य मन्त्रालयले एउटा दह्रो टिम बनाएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो। आमनागरिक अहिले कोभिड महामारीको चपेटामा छन्। सरकारले दीर्घरोगका उपचारबारे पनि सोच्नुपर्ने आवश्यकता रहेको छ। यस्ता रोगबाट पनि कसरी बच्ने भन्नेबारे पनि दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता छ। यसका लागि विभिन्न गाइडलाइन वा प्रोटोकल नै बनाउनुपर्ने आवश्यकता देखिन्छ। तर, यस्ता गम्भीर विषयमा स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य पदाधिकारीहरूको ध्यान गएको देखिँदैन।

अहिले कोरोनाका बिरामीले सबै ठाउँबाट उपचार पाइरहेका छन् तर दिर्घरोगीहरूलाई भने ध्यान दिइएको छैन। यसले पछि गएर ठूलो समस्या निम्त्याउन सक्छ। अब एकीकृतरूपमा सबै दीर्घरोगको प्रोटोकल (मुटुरोग, मिर्गौला रोग, क्यान्सर आदिको) बनाउन सम्बन्धित विज्ञहरू राखेर बनाउन एकदमै आवश्यक भइसकेको छ।

तत्कालका लागि कोरोना संक्रमितलाई ध्यान दिनुपर्छ तर कति समयसम्म दीर्घरोगीलाई स्वास्थ्य उपचारमा रोकिरहने? यसले पछि झनै जटिलता निम्त्याउन सक्छ। त्यस्तै तत्कालको भयावह स्थितिमा स्वास्थ्यकर्मीहरूका मनोबल उच्च बनाउनुपर्छ। स्वास्थ्यकर्मीहरू युद्धमा होमिएको जस्तो अवस्था सिर्जना भएको छ। यस्तो अवस्थाबाट उनीहरूलाई निकाल्नुपर्‍यो।

सम्पूर्ण साधनस्रोत स्वास्थ्यमा लगानी गर्नुपर्छ। स्वास्थ्यका लागि उपकरण आपूर्ति गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ।

यो परिस्थिति निम्तिनुको कारण के हो त?
विश्व नै अहिले महामारीको चपेटामा छ। नेपालका सम्पूर्ण ठाउँमा खोप उपलब्ध भएको छैन। जनसंख्याको सानो हिस्साले दुवै डोज र केही लाखले पहिलो डोजमात्रै पाएको अवस्था छ। सबैलाई खोपको उपलब्धता नहुँदै राजनीतिक गतिविधि–जमघट, सभा, भेला, सम्मेलन बढ्दा भयावह अवस्था आयो। बेलैमा सचेत भएको भए, अहिले हामीले भोगिरहेको अवस्था रोक्न सकिन्थ्यो। यो त स्वास्थ्य क्षेत्रको जिम्मेवारी लिएर बसेका व्यक्तिहरूको अर्कमण्यताको परिणाम हो।

स्वाभाविकरूपमा यसको प्रमुख जिम्मेवारी स्वास्थ्य मन्त्रालयकै हुन्छ। स्वास्थ्य मन्त्रालयले नै राजनीतिक दलसहित अन्य पक्षलाई यो विषय बुझाउन नसकेको हो।

अहिले पनि उपचारमा प्रमुख समस्या भनेको अक्सिजन, बेड, आइसियु, भेन्टिलेटरकै अभाव हो। सरकार बेड खाली छ भन्छ तर बिरामीले पाउँदैनन्, किन यस्तो?
यसको प्रमुख कारण हामीसँग भएका पूर्वाधार, संरचनाका सही र व्यवस्थित प्रयोगको अभाव हो। सरकारको निर्देशन दिए जसरी केही दिनभित्र अक्सिजन प्लान्ट बनाउन सकिने अवस्था छ वा छैन, यसका लागि राष्ट्रिय रूपमै अनुगमन गरेर टिम बनाएर काम गर्नुपर्छ। सुरुमा कोटा तोकिएर अहिले अलि व्यवस्थित गर्न प्रयास त भएको छ, तर पर्याप्त अझै भएको छैन। स्वास्थ्य मन्त्रालय स्वास्थ्यविज्ञहरूले भन्दा प्रशासनिक कर्मचारीका घेराबन्दीमा पर्दा धेरै कुरा अस्तव्यस्त बनेको छ।

महामारी नियन्त्रणजस्तो प्राविधिक विषयमा प्रशासनिक घेराबन्दीलाई तुरुन्त तोडेर स्वास्थ्यका विज्ञहरूकै नेतृत्वमा काम अगाडि बढाउनुपर्छ। अन्यथा, अहिलेकै तरिका र नेतृत्वबाट यो समस्या नियन्त्रण सम्भव छैन।

सरकारले भन्नेबित्तिकै रातारात कहाँबाट बेड, भवन, भेन्टिलेटर ल्याउने भनिरहेको छ त!
यो प्रशासनिक कर्मचारीको मनमष्तिष्कमा आउने स्वाभाविक तर्क हो। कहाँबाट सामान किनेर ल्याउने? के साधन मगाउने? भन्नेमै कन्फ्युजन छ। महामारीको समस्या बुझ्ने विज्ञ हुने हो भने भएका स्रोतसाधनलाई सही प्रयोग गरेर काम गर्न सक्छन्। त्यस्तै उपकरण र स्रोतको पनि उचित तवरले व्यवस्थापन गर्नका लागि कुन ठाउँमा के कुरा उपलब्ध छ, केको अभाव छ? भन्ने कुरा प्रशासन क्षेत्रका व्यक्तिहरूले जान्दैनन्। यो प्रशासनले बसेर टिप्पणी उठाउने जस्तो काम होइन। विज्ञहरूले यी सबैको व्यवस्था राम्ररी गर्न सक्छन्।

सामान्य प्रशासन मन्त्रालयले चलाएको जसरी नै कोभिड नियन्त्रण गर्न खोजिएको छ, त्यसबाट सम्भव छैन। स्वास्थ्य मन्त्रालयले एकपटक सोच्नुपर्छ। विभिन्न विषयका विज्ञहरूको रायलाई नै समष्टिकृत गरेर एकरूपता ल्याई अगाडि बढ्नु नै अहिलेको महामारीबाट बच्ने उपाय हो।

तपाईंले औंल्याउनु भएजस्तै सही नेतृत्व अभाव हटाउनु भन्दा प्रशासनकै मान्छेबाटै चलाउन खोजिएको छ, यो डाक्टरलाई सरकारले नपत्याएको हो?
नेपालको प्रशासनिक संयन्त्र नै यस्तो छ। प्रशासनिक संयन्त्रमा चाकडी प्रथा हाबी छ। प्राविधिक विज्ञहरूजस्तो आफ्नो विवेक प्रयोग गर्ने सोच प्रशासनमा हुन्न। प्रशासनिक सोच भनेकै माथिबाट आएको आदेश मान्ने भन्ने हुन्छ।

उनीहरू माथिल्लो तहले जे भन्छ, त्यसैमा होमा हो मिलाउँछन्। कसैले यस्तो गर्नुपर्छ भनेर राय सुझाव दिनै सक्दैनन्। त्यसकारण स्वास्थ्य विज्ञहरूको अधिकार सम्पन्न टिम बनायो भने समयमै निर्णय गरेर आवश्यकताअनुसार परिचालन गर्न सकिन्छ।

सरकार त कार्यान्वयन गर्ने निकाय हो। विज्ञको सुझावअनुसारका नीति, कार्यक्रम र कार्यान्वयन भएमात्रै महामारी नियन्त्रण नतिजा उन्मुख हुनसक्छ। टेक्नोक्र्याट्सहरूलाई ब्युरोक्र्याट्सहरूले सपोर्ट गर्ने हो। तर, महामारी नियन्त्रणमा पनि ब्युरोक्र्याट्सहरू हाबी भएका छन्। उनीहरूमा स्वास्थ्यको महत्व, आवश्यकता, यसले पार्ने वृहत प्रभावबारे ज्ञान नै छैन।

मेरिकामा जसरी एन्थोनी फाउसीजस्ता विज्ञ छन्, नेपालमा पनि सरकार प्रशासन सबैले स्वीकार्न सक्ने विज्ञकै कमी हो कि?
नेपालमा अब्बल स्वास्थ्य प्राविधिक, चिकित्सक, व्यवस्थापकको कमी छैन। अनुभवी र पर्याप्त संख्यामा स्वास्थ्यकर्मी छन्। तर, विज्ञ समूहमा पनि विचारधारा, नाता, निकटता हेरेर तेरो मेरो भनेर काखापाखा गर्ने नराम्रो प्रवृत्ति छ। राजनीतिक विचारधारा, गुटको मान्छे भएन भने विशुद्ध प्राविधिक विषयमा दिएको सुझाव पनि ग्रहण नगर्ने प्रवृत्ति छ। अस्पतालदेखि मन्त्रालयसम्मै यही सोच र शैली हाबी छ।

पार्टी नजिकका विज्ञहरूलाई मात्र राख्ने, अरूका कुरा सुन्नै नचाहने जस्ता गतिविधिले गर्दा काम गर्ने वातावरण नै सिर्जना हुन सक्दैन। यो बेलामा विज्ञता, क्षमता हेर्ने हो, भोट कता हाल्ने मान्छे हो भनेर हेर्ने होइन।

तपाईंले अघि नै केही संकेत पनि गर्नुभएको थियो, नेपालमा भएका पूर्वाधार र क्षमताको सही प्रयोग गरेर पनि व्यवस्थापन गर्न सकिन्छ, अहिले केही विशिष्टिकृत अस्पताल पनि कोभिड उपचार सुरु भइसकेको छ, के यो अझै पुगेको छैन त?
तत्कालका लागि सबै ठाउँमा कोभिड केन्द्रित नै बनाउनुपर्छ। अझ पहिला कोरोनाको समस्यालाई नै सुल्झाउनुपर्छ, त्यसपछि अरू सोच्ने हो। तर, अरू क्षेत्रलाई ठप्प नै बनाएर सबै कोभिडकै उपचार गर्नुपर्छ भन्ने मेरो आशय होइन। तर, महामारी व्यवस्थापन गर्न सकेसम्म सबै साधनस्रोत उपयोगमा ध्यान जानुपर्छ।

विशिष्टिकृत, जनरलाइज्ड मात्रै होइन, निजी क्षेत्रसँग भएका क्षमताको पनि अझै पर्याप्त प्रयोगमा ध्यान जान सकेको छैन। सबै सरकारी अस्पताललाई हाल कोभिड अस्पताल बनाउने निर्णय भइरहँदा निजी अस्पतालसँग पनि सघन र सार्थक छलफल गरेर शुल्कसमेत व्यवस्थित गरेर उपचारको प्रबन्ध गर्न सकिन्छ। अझै पनि निजी अस्पतालका स्रोत तथा मावन स्रोतको सही उपयोग भइरहेका छैनन्। त्यसलाई व्यवस्थापन गर्न जरुरी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय