बिएण्डसी सञ्चालक दुर्गा प्रसाइँको रौद्ररुप, फोनबाटै भने – तीन इन्ची सर्ने गरी हान्छु, डाँका! (अडियोसहित)
झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक तथा प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र दुर्गा प्रसाइँले डा. गोविन्द केसी अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई फोन गरेर भौतिक आक्रमणको धम्की दिएका छन्।
उनले सुवेदीमाथि तथानाम गाली गरेका छन्। केही दिनअघि काठमाडौं विश्वविद्यालयले चोर बाटोबाट अवैध रुपमा उनको मेडिकल कलेजलाई सम्बन्धन दिने प्रयास गरेको भन्दै डा. केसीको अभियानका तर्फबाट प्रेस विज्ञप्ति जारी भएको थियो।
लगत्तै उनले सुवेदीलाई फोन गरेर धम्क्याएका हुन्। उक्त कुराकानीमा प्रसाइँले आफ्नो अस्पतालमा कोभिडका बिरामीलाई दुई लाख रुपैयाँ धरौटी राखेर मात्रै उपचार गर्ने गरेको पनि स्वीकारेका छन्।
उनले सुवेदीलाई, ‘तँलाई भेटें भने तेरो नि तीन इन्ची सर्ने गरी हान्दिन्छु।’, भन्दै धम्की दिएका छन्। साथै बाबु, आमा र बहिनीको नाम लिँदै सुवेदीलाई ‘डाँका’ लगायतका अपशब्द बोलेका छन्।
बिएण्डसी मेडिकल कलेजलाई अनुकुल हुने गरी तत्कालीन नेकपा सरकारले २०७५ सालमा जबरजस्ती चिकित्सा शिक्षा ऐन जारी गरेको थियो।
त्यसैका आधारमा आफूले सम्बन्धन पाउनुपर्ने दाबी प्रसाइँले गर्दै आएका छन्। तर, २०७३ सालयता आशयपत्र नवीकरण नगरेकाले शिक्षण संस्थाका रुपमा उक्त कलेजको कानुनी हैसियत शून्य भएको र सम्बन्धन लिने हो भने चिकित्सा शिक्षा ऐन र नियमावली अनुसार प्रक्रिया पुर्याएर आउनु पर्ने अडान चिकित्सा शिक्षा आयोगले लिँदै आएको छ।
तर प्रसाइँले प्रक्रिया पुर्याउनुको सट्टा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले सम्बन्धनका लागि घुस मागेको भनेर फर्जी आरोप लगाएका थिए। डा. गिरीले उनीविरुद्ध गालीबेइज्जती मुद्दा हालेपछि उनी आरोप पुष्टि गर्न नसकेर केही समय भूमिगतसमेत भएका थिए। एउटा पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘बंगलादेशमा एमबिबिएस पढ्न गएका नेपाली चेलीलाई प्रोफेसरहरूले करणी गरेर राखेका छन्। बंगलादेश पढ्न गएका केटाहरू पाँच वर्षमा एमबिबिएस पास गरेर आउँछन्, हाम्रा चेलीबेटीहरू किन ९ वर्षसम्म आउँदैनन्?’
त्यस अगाडि प्रसाइँले नेकपा नेता योगेश भट्टराईसँग मिलेर डा. गोविन्द केसी सत्याग्रहकाविरुद्ध एकजनालाई ‘काउन्टर’ अनसनकारीका रुपमा खडा गरेका थिए। पछि गएर सत्तारुढ नेता तथा दलीय भागबण्डामा नियुक्त भएका त्रिवि पदाधिकारीको स्वार्थ अनुसार अनियमितता हुन नदिने आइओएमका तत्कालीन डिनलाई कालोमोसो लगाएको थियो। आयोगका उपाध्यक्ष गिरीको घर अगाडि राखिएको बमसँगैका पर्चामा पनि प्रसाइँ र भट्टराईद्वारा परिचालित उनकै नाम थियो।
एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मार्सी भात ख्वाएर पार्टी एकता गराएको भनेर दाबी गर्ने प्रसाइँ नेकपाको विवाद र फुटको बेला ओलीको पक्षामा खुलेर लागे। प्रधानमन्त्री ओलीकै आडमा उनले चिकित्सा शिक्षा आयोगलाई लत्याएर केयुमार्फत सम्बन्धन लिने प्रयास गरेका थिए। त्यही सिलसिलामा उनले सुधार अभियन्ता तथा डा. केसी अभियानका मिडिया संयोजक सुवेदीलाई धम्क्याएका हुन्।
सुन्नुस् अडियो–
केही महिना अगाडि प्रसाइँको अस्पताल पुगेर प्रधानमन्त्री ओलीले उनको प्रशंसा गर्दै बिएण्डसीले सम्बन्धन पाउने ठोकुवा गरेका थिए।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलगायतका पदाधिकारीहरुले यस्तो अवैध काम नगर्ने अडान लिएपछि आयोगका आलंकारिक अध्यक्ष रहने प्रधानमन्त्रीले ऐन मिच्दै कार्यकारीको भुमिकामा रहँदै यही जेठ ११ गते आयोगको पूर्ण बैठक बोलाएका छन्। त्यसबाट आयोगका पदाधिकारीलाई पेलेरै जबरजस्ती सम्बन्धन दिने सरकारको योजना छ।
यसैबीच, अभियन्ता सुवेदीलाई धम्क्याउने कार्यको सोलिडारिटी फर डा. केसी अलायन्सले कडा निन्दा गरेको छ। ‘नागरिकहरुको ज्यूधनको सुरक्षाका लागि बनेको सरकारका प्रधानमन्त्रीले नै यस्ता गुण्डागर्दी र अवैध कार्यलाई संरक्षण र प्रोत्साहन गरेपछि नागरिकले सुरक्षाका लागि कसको मुख ताक्ने भन्ने प्रश्न अहिले खडा भएको छ।’, अलायन्सले भनेको छ।
अभियन्ता सुवेदीमाथि यसबीच कुनै भौतिक आक्रमण भए त्यसको जिम्मेवारी दुर्गा प्रसाइँ हुने अलायन्सले जनाएको छ। सुवेदी कोभिड संक्रमणका कारण आइसोलेसनमा भएकाले अहिलेसम्म प्रहरीमा जाहेरी नगरेका तर, छिट्टै प्रसाइँविरुद्ध किटानी जाहेरी दर्ता हुने अलायन्सले जनाएको छ।
राज्य धर्खराएको बेलामा एउटा नीजि अस्पतालले सेवा दिनु महत्त्वपूर्ण कुरा हो । मापदण्डअनुसार चले नचलेको भनेर प्रश्न गर्नुभन्दा राज्य सँयन्त्रले नियमन गर्नु राम्रो हो ।