भक्तपुरमा कोरोना संक्रमितको संख्या घट्दै

भक्तपुरमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ। तर मृत्युदर भने बढ्दै गएको तथ्यांक छ।

भक्तपुर जनस्वास्थ्यको आठ दिनको तथ्यांक अनुसार पछिल्लो आठ दिनमा ८ सय २४ जनाले संक्रमित संख्या घटेको छ। त्यस्तै आठ दिनमा ४२ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ।

जेठ १ गतेसम्म जिल्लामा ४ हजार ९ सय ४४ संक्रमित संख्या भएको थियो भने जेठ ८ गते त्यो संख्या घटेर जम्मा संक्रमित संख्या ४ हजार १ सय २० मा सीमित हुन पुगेको छ। जेठ १ गते एकसय ८३ जना मृत्यु भएको थियो भने ८ गतेसम्म २ सय २५ पुगेको छ। \

जसमा महिला ७८ र पुरुष १४७ जना रहेका छन्। जिल्लामा संक्रमतिको संख्या जेठ २ गते ४ हजार ८ सय ५०, ३ गते ४ हजार ९ सय ६४, ४ गते ४ हजार ६ सय ८३, ५ गते ४ हजार ३ सय ३१ गरी क्रमशः घटेका छन्।

भक्तपुर स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले दिनदिनै संक्रमित संख्या घटिरहेको बताए। उनले भने, ‘संक्रमितको संख्या घटेको देख्दा खुसी छु। मृत्युदर बढिरहेकोमा भने दुःखी भएको उनले बताए।

अहिले सर्वसाधारणले कोरोना के हो भनेर बुझेको उल्लेख गर्दै उनल भने, ‘अहिले घरघरमा कोरोना भएपछि त्यसले दिएको पीडा देखेर पनि बुझेका छन्।’ स्वास्थ्य मापदण्ड यस्तैगरी पालना गरे संक्रमित संख्या कम हुदैँ जाने उनले बताए।

त्यस्तै उनले ६० वर्ष मुनि र ४० वर्ष माथिका कोरोना संक्रमितको धेरै मृत्यु भएको सुनाए। पहिलो कोरोना लहरमा हप्तामा दुई जनामात्र संक्रमितको मृत्यु हुने गरेकोमा अहिले एकै दिन १० जनासम्मको मृत्यु भइरहेको उनले बताए।

‘पहिलो लहरभन्दा यो दोस्रो लहरले विरामीलाई एकैचोटि गाह्रो हुने र फोक्सोमा असर गर्ने भएकाले संक्रमितको मृत्यु हुने गरेको छ,’ उनले भने।

उनले अक्सिजन अभाव र आइसियू शय्या कमी नभएको खण्डमा मृत्युदर घटाउन सकिने बताए। सम्बन्धित निकायले अक्सिजन र आइसियूको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय