जनस्वास्थ्यकर्मीहरू भने–महामारीमा चुनाव गराउनु भनेको मृत्युलाई निम्तो दिनु हो

हेल्थपोस्ट नेपाल

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै निर्वाचन घोषणा गरेकोमा जनस्वास्थ्यकर्मीहरूले विरोध गरेका छन्।

जनस्वास्थ्यकर्मीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको यो कदम गैरजिम्मेवारपूर्ण भएको भएको बताएका छन्।

‘अस्पतालको शय्या नपाएर कोभिडका बिरामीहरु छटटाइरहेका बेला, आवश्यक औषधि र अक्सिजन नभएर स्वास्थ्यकर्मीले अथक प्रयास गर्दागर्दै पनि अस्पतालको शय्यामा बिरामीहरुले ज्यान गुमाउनु परेको यो मार्मिक घडीमा जनताको जीवनरक्षामा केन्द्रित हुनुको सट्टा मध्यावधि निर्वाचनको घोषणा गर्नु नागरिकको जीवनप्रति सरकारको चरम गैरजिम्मेवारीपनको स्पष्ट उदाहरण हो।’

‘कोभिड–१९ को महामारीले स्वास्थ्यमा भएको संकटपूर्ण स्थितिलाई स्वीकार गर्नु र अर्कोतिर निर्वाचनको घोषणा गर्नु आफैंमा विरोधाभासपूर्ण छ।

घोषित निर्वाचनमा देशमा भएको सीमित श्रोतको ठूलो अंश खर्च हुने र कोभिडमा आवश्यक पर्ने श्रोतमा कटौती भएर नागरिकले कोभिडको सेवाबाट बन्चित हुनु पर्नेछ र असिम पिडा भोग्न बाध्य हुनु पर्नेछ,’ जनस्वास्थ्यविज्ञ शरद वस्तीले भने।

त्योभन्दा अझ निर्वाचनको लामो प्रकृया आफैँ कोभिड संक्रमणको माध्यम बनेर महामारीको भयावह स्थिति बन्न सक्ने पनि उनीहरुले उल्लेख गरेका छन्। ‘यस्तो भएको अन्य देशहरुको उदाहरण हाम्रो अगाडि छ। यो क्षम्य हुँदैन र हामी जनस्वास्थ्यकमीहरू यो छुट कदापि दिन सक्दैनौं।

त्यसैले, यो महामारीका बेला नागरिकको जीवनलाई जोखिममा राख्दै गरिएको मध्यावध निर्वाचनको घोषणा अबिलम्ब फिर्ता लिन हामी माग गर्दछौँ र नागरिकको स्वास्थ्य सुरक्षाप्रति सम्बेदनशील बन्दै यो घोषणाको प्रतिकार गर्न सबै सरोकारवालाहरुलाई हार्दिक आह्वान गर्दछौँ।’

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *