कोरोनाकाे तेस्रो लहर अक्टोबरमै , बालबालिका उच्च जोखिममा

कोरोना संक्रमणको दोस्रो लहरबाट नेपाल विश्वमै सबैभन्दा बढी आक्रान्त मुलुकमध्ये पर्छ। पछिल्ला दिनमा संक्रमण दर, मृत्युदर र पोजेटिभिटी दरका आधारमा नेपालको अवस्था यो भन्दा पनि बिग्रिएर जाने अनुमान गरिएको छ।

त्यसमा पछि पछिल्लो पटक महामारी गराउँने नयाँ भेरियान्ट सबै उमेर समूहका मानिसहरुमा उत्तिकै जोखिमयुक्त भएको वैज्ञानिकहरुले चेतावनी दिइरहेका छन्।

जसले गर्दा पहिलो लहर र पुराना भेरियान्टमा तुलनात्मक रुपमा कम जोखिममा रहेका बालबालिकाहरु पछिल्ला भेरियान्टको चपेटामा परिरहेका छन्।

कतिपय विज्ञहरुले त नेपालमा छिट्टै तेस्रो लहर आउँनसक्ने र त्यसले बालबालिकालाई बढी आक्रान्त पार्ने चेतावनी दिइरहेका छन्।

यसै सेरोफेरोमा रहेर कान्तिबाल अस्पतालका निर्देशक एवं बरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी बिच्छासँग हेल्थपोस्टका लागि अनिता श्रेष्ठले गरेको कुराकानी।

तेस्रो लहरको कोरोना पनि आउन सक्छ भन्ने कुरा आइरहँदा बालबालिकामा यसले कत्तिको संक्रमण गर्न सक्छ? 

यही वर्षको अक्टोबर नोभेम्बरतिर नेपालमा कोरोना संक्रमणको तेस्रो लहर आउन सक्छ। कोरोना संक्रमणको पहिलो लहरमा बालबालिकाको संक्रमण दर २-३ प्रतिशत रहेको थियो भने हालको दोस्रो लहरमा १०-११ प्रतिशत रहेको छ।

अब आउने तेस्रो लहरमा बालबालिकाहरुमा संक्रमण हुने सम्भावना बढी नै छ।

पहिलो लहरमा जेष्ठ नागरिकलाई थला पार्‍यो भने दोस्रोमा युवाहरुलाई।

वैज्ञानिकहरुले विश्वको डाटालाई विश्लेषण गरेर तेस्रो लहरमा बालबालिकाहरुलाई गम्भीर बनाउने आंकलन गरिरहेका छन्।

के आधारमा बालबालिका बढी जोखिममा छन् भन्न सकिन्छ? 

पहिलो लहरमा जेष्ठ नागरिकहरुको मृत्यु भयो। जेष्ठ नागरिकलाई जोगाउन खोप कार्यक्रम आयोजना गरियो र लगाइयो पनि।

अहिले युवाहरु जोखिममा छन्। उनीहरुका लागि पनि खोपको कार्यक्रम सुरु भइसकेको छ।

तर, बालबालिकालाई लगाउन खोप तयार भएको छैन। विकसित देशमा १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई खोप लगाउन सुरु गरे पनि हाम्रो देशमा त्यो सम्भव भइसकेको छैन।

त्यस्तै, बालबालिकाहरुसँग रोगसँग लड्न सक्ने क्षमता अन्य व्यक्तिहरुमा भन्दा कम छ।

महामारी अथवा इपिडिमियोलोजीको प्याटर्न हेर्ने हो भने, बेलायतमा तेस्रो लहर सुरु भइसकेको छ। विश्वमा जे भइरहेको छ, नेपालमा पनि त्यही लहर सुरु हुने सक्भावना छ।

बालबालिकामा कस्तो लक्षण देखिन्छ? 

पहिलो लहरमा रुघाखोकी, ज्वरो र सास फेर्न गाह्रो हुने लक्षण देखिएको थियो। अहिले पनि ती लक्षण छन्, र पछि पनि आउन सक्छ।

दोस्रो लहरमा अहिले खुट्टा, जीउ एकदमै दुख्नेजस्ता लक्षण देखिन थालेका छन्। बालबालिकाहरुमा भने झाडापखाला, आउँ हुने, वान्ता आउने, छालामा एलर्जी आउने, रातो फोका आउने गरेको छ।

भाइरस कति धेरै संक्रामक छ, यसले कुन–कुन अंगहरुलाई असर गर्छ, त्यही अनुसार लक्षण देखिन थालेको छ।

आउने दिनमा पनि भाइरस म्युटेन्ट भइरहेका कारण विभिन्न लक्षण हुने सम्भावना रहेको छ। त्यसैले हामी चनाखो हुन जरुरी छ। विश्व नै नयाँ भाइरस भएका कारण सिक्दै छ। अझ कति चुनौती हुन्छ हेर्न बाँकी छ।

कस्तो असर हुन सक्छ? 

कस्तो असर होला भनेर पूर्वानुमान गर्न गाह्रो हुन्छ। तर, वैज्ञानिकहरुको आशय के हो भनेर बुझ्न जरुरी छ। यसको आशय भनेकै पूर्वतयारीका लागि तयार रहने हो।

पहिलो लहरबाट दोस्रो लहर सुरु हुँदा हामीसँग केही समय थियो। तर, हामीले यसको तयारी गर्न सकेनौं। अहिलेको दोस्रो लहर अब दुई हप्तामा कम हुन थाल्छ।

तेस्रो लहर अक्टोबर नोभेम्बरमा आउन सक्ने पूर्वानुमान भएकोले यो बीचमा केही समय बाँकी छ। यदी, तेस्रो लहर आएपनि बाँकी रहेको ४ महिनालाई हामीले प्रयोग गर्नुपर्छ।

त्यसैले हामीसँग भएको भौतिक पूर्वाधारलाई अझै बढाउनु पर्छ। आवश्यक अक्सिजन, भेन्टिलेटर र आइसियुमा ध्यान दिनु जरुरी छ।

त्यस्तै, ुमास भ्याक्सिनेसनु लगाउनुपर्छ। सबै मानिसहरुलाई जहाँबाट भएपनि, जुन खोप भएपनि खरिद गरि सकेजति लगाउनुपर्छ। यो ४ महिना भित्र खोप लगाइहाल्नुपर्छ।

अन्त्यमा जनस्वास्थ्यको मापदण्ड प्रयोग गर्नुपर्छ। अलि कम भएको समयमा विवाह, राजनीतिक सभा गोष्ठि, भेला गर्नु भएन। यी सबैको प्रिकसनु लिनुपर्छ।

वैज्ञानिकहरुले भाइरसको नेच हेरेर चेतावनी दिएको हो। किनभने, त्यो राज्यले पहिले नै तयारी गर्न सकून भनेर हो। भाइरस हामीभन्दा अगाडि, हामी पछाडि रह्यौं भने यसलाई कहिल्यै पनि जित्न सक्दैनौं। हामी भाइरस भन्दा अगाडि नै हुनुपर्छ। हामीले तयारी यस्तो गर्नुपर्छ कि हामीलाई कमसेकम क्षति होस्।

जस्तोसुकै भाइरस आएपनि हामी तयारी अवस्थामा रहनुपर्छ। यसरी सुतेर बस्ने हो भने कहिल्यै सफल हुन सक्दैन। विश्वको इतिहास हेर्ने हो भने महामारी विभिन्न कालखण्डमा आइरहेको थियो। यो भन्दा पहिले सार्स, मार्स, इन्फ्लुन्जा, प्लेग थियो।

महामारी भनेको मानव सभ्यतासँग जोडिएको छ। तर, यसबाट बच्न तयार भएर बस्नुपर्छ। यसैका लागि वैज्ञानिकहरुले पूर्वानुमान गरेका हुन्।

बालबालिकाहरुलाई जोगाउन के गर्नुपर्छ? 

नेपालमा बालबालिकाहरुका लागि भनेर एउटै मात्र अस्पताल कान्ति बाल अस्पताल बनाइएको छ।

बालबालिकाका लागि कम्तीमा पनि हरेक प्रदेशमा २०० बेडको बाल अस्पताल चाहिन्छ। यो त कोभिड नभएको समयमा पनि चाहिन्छ।

यो समयलाई अवसरको रुपमा लिएर अस्पताल बनाउनु पर्छ। जिल्लाहरुमा पनि १० देखि २० वटा बेडको अस्पताल छुट्याउनुपर्छ ताकि अकास्मिक समयमा त्यसलाई प्रयोग गर्न सकियोस्।

अक्सिजनसहितको एचडियु, भेन्टिलेटरसहितको आइसियुको व्यवस्थापन गर्नुपर्‍यो। हरेक प्रदेश जिल्ला तथा कान्ति अस्पतालमै पनि बेड संख्या बढाउनुपर्छ।

योसंगै जनशक्ति पनि यही समयभित्र उत्पादन गर्नुपर्‍यो। तलिम दिएर पारामेडिक्स, नर्स, डाक्टर कति चाहिन्छ अस्पतालहरुमा, सोही अनुसार तयारी गर्नुपर्छ।

भोलि केही परे ती जनशक्ति प्रयोग गर्न सकिन्छ।

त्यस्तै जति सकिन्छ सबैलाई खोप लगाउने। घरपरिवारका सबै सदस्यहरुले खोप लगाएपछि बालबालिहरु आफै सुरक्षित हुन्छन्।

बालरोग विशेषज्ञ कति छन्, महामारीलाई धान्न सक्ने विशेषज्ञ छन् त? 

बालरोग विशेषज्ञहरु नेपालमा प्रशस्त छन्। म न्याम्सको प्राध्यापक पनि हुँ। हामीले कान्तिबाट मात्रै ११७ जना एमडी पेडियाट्रिक्सहरु उत्पादन गरिसकेका छौं।

२००२ बाट हालसम्म ११७ जना कान्तिबाट मात्र उत्पादन भएका हुन्। यिनीहरु हरेक जिल्लामा छन्। त्यस्तै विदेशबाट एमडी पढेर आएकाहरु पनि थुप्रै छन्।

संख्या भन्दा पनि बढी सही ढंगमा वितरण हुनु जरुरी छ। अहिले ६० देखि ७० प्रतिशत डाक्टरहरु काठमाडौं मै छन्।

हरेक जिल्ला, प्रदेशमा बाल अस्पताल, वार्ड बनाएर बालरोग विशेषज्ञहरुको दरबन्दी सृजना गरे त्यहाँ आउँछन्।

हामीसँग हजारौं मेडिकल अफिसरहरु छन्। उनीहरुलाई कोभिड संक्रमणमा उपचारको तालिम दिएर खटाउन सकिन्छ।

विदेशमा एमबिबिएस अन्तिम वर्ष पढिरहेकाहरुलाई खटाइएको छ। हामीले पनि अन्तिम वर्ष पढिरहेका विद्यार्थी, सिटिङ डाक्टर, एमडीको तयारीमा रहेका डाक्टरहरुलाई तालिम दिएर खटाउन सक्छौ।

उनीहरुलाई २ देखि ३ सय प्रतिशत भत्ता दिएर खटाएर नै विदेशमा नियन्त्रण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय