घरघरमा कोरोना संक्रमित र आँखैअघि मृतक देखेपछि स्थानीयमा बढ्यो त्रास

दोस्रो लहरको कोरोना संक्रमितका बिरामी घरघरमा देखिन थालेपछि धनगढी उपमहानगरपालिका–२ का स्थानीयवासीका मनमा डर पैदा भएको छ।

संक्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गई कोरोनाका बिरामी गाउँमा छरछिमेक वरिपरि देखिन थालेपछि मन डर, त्रासले बेचैन हुन थालेको धनगढी–२ का स्थानीयवासी दुर्गा जोशीले बताइन्।

‘कोरोनाबाट ज्यान गुमाउने र संक्रमितको संख्या घट्नुको साटो बढ्दै गइरहेको छ’, जोशीले भनिन्, ‘अघिल्लो वर्षमा बिरामी गाउँ–टोलतिर कोही पनि थिएनन् तर, यसपालि भने बिरामी मात्र नभई यसबाट ज्यान गुमाउने व्यक्ति गाउँमा आफ्नै आँखा अगाडि देख्न सकिन्छ। जसले गर्दा मनमा एक किसिमको डर लागिरहन्छ।’

मन्टेश्वरी स्कुलकी शिक्षिकासमेत रहेकी जोशीले पछिल्ला केही दिनयता त सामाजिक सञ्जाल खोल्नसमेत डर लाग्ने गरेको बताइन्।

‘फेसबुक खोल्दा फेसबुक पेजभरि कोरोनाबाट मृत्यु भएकाहरुको हार्दिक श्रद्धाञ्जलिबाहेक केही हुँदैन। कुनै आफन्तले फोन गर्दासमेत अब कस्तो प्रकारको खबर सुनिन्छ भन्ने मनमा चिन्ता छाइरहन्छ।’

गाउँमा आफ्नै छरछिमेक वरिपरि कोरोनाका बिरामी रहेका छन्। घर नजिकै रहेको पसलमा हिजोआज सरसामान किन्न जानसमेत एकदमै अप्ठ्यारो महसुस हुने गरेको उनले बताइन्।

‘गत वर्ष कोरोनाका बिरामी गाउँमा नरहेको सुन्नमा आएकामा यसपालि त कोरोनाबाट गाउँमा केही व्यक्तिको मृत्यु भइसकेको छ। मन अझै अत्तालिन्छ’, उनले सुनाइन्।

रोजगारीका लागि छिमेकी राष्ट्र भारत पसेकाहरुसमेत यतिबेला भारतका विभिन्न शहरमा कोरोनाको महामारी फैलिएपछि गौरीफन्टा सीमा नाका हुँदै गाउँमा प्रवेश गरेपछि अझ डर बढेको धनगढी–२ कै स्थानीयवासी हरि नेपालीले बताए।

घर फर्केकाहरु होम आइसोलेसनमा छुट्टै नबसी घर परिवारसँगै बस्ने गरेको उनको भनाइ छ। उनले भने, ‘सतर्कता नअपनाउँदा स्थिति थप जटिल हुनसक्छ।’

गाउँमा संक्रमित खुलमखुला हिँड्डुल गर्ने गरेका कारण पनि चिन्ता हुने गरेको स्थानीय बताउँछन्। समयमै सबैले सचेत हुन र सरोकारवालाहरुले यसमा विशेष ध्यान दिन जरुरी रहेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय