यी सरकारी अस्पताल नभएका भए…

बेड भरिभराउ छन्।

अस्पताल परिसरमा समेत कतै कुर्सी, बेन्चदेखि प्यासेजमा पनि बिरामी सुतिरहेका छन्।

नयाँ बिरामीलाई अवस्था हेर्न र अक्सिजन जोहो गर्नमै भ्याइनभ्याई छ।

डेढ वर्ष अघिसम्म मुस्किलले बिरामी पुग्ने टेकु अस्पतालको दृश्य पूरै बदलिएको छ।

अहिले बिरामी चाप यति बढेको छ कि, ढुकढुकीमात्रै लिएर अस्पताल पुग्नेरू पनि अक्सिजन मास्कमात्रै जोड्न पाउँदा पनि नयाँ जीवन पाएको महसुस गर्छन्।

यस्ता दृश्य टेकुमात्रै होइन, आमसरकारी अस्पतालमा देखिन्छन्।

आर्थिकरूपमा सबलहरूले कुनै समय नाक खुम्च्याउने सरकारी अस्पताल नै विपत्तिमा सबैभन्दा ठूला भरोसा बनेका छन्।

निजी अस्पतालहरू कहिले शुल्कको बहाना त कहिले अक्सिजन कोटा प्रणालीप्रति असन्तुष्टि जनाउँदै बिरामी भर्ना लिन अटेरी गरिरहँदा थेगिनसक्नु चाप बेहोरेका सरकारी अस्पताल भने भुइँमै सुताएर भए पनि सेवा दिइरहेका छन्।

महामारीको पहिलो लहर केही मत्थर भएसँगै सरकारी तयारी पनि सुस्ताउँदै गयो। सुनामी गतिमा आएको दोस्रो लहर उर्लिंदा अधिकांश अस्पतालसँग पर्याप्त स्रोत–साधन थिएनन्।

तर, अस्पताल व्यवस्थापक, चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले आवश्यकता बोध गरेरै महामारी सामना गर्दै अगाडि बढिरहेका छन्।

आधुनिक भवन तथा उपकरण, चर्का नारा र ठूलो संख्यामा बेड रहेको फलाके पनि आपत पर्दा विपन्न होस् या सम्पन्न सबैका लागि सरकारी अस्पताल नै भरोसाका केन्द्र बनेका छन्।

अघिपछि योजना बनाएर गरिने शल्यक्रिया वा ओपिडी सेवाका लागि समेत सफा र चिटिक्क भन्दै निजी धाउनेहरूले पनि महामारीमा पाएसम्म सरकारीलाई नै प्राथमिकतामा राखे।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)

सन् २०१९ डिसेम्बरमा चीनको वुहानमा कोरोना संक्रमण पुष्टि भयो। त्यसको केही महिनापछि चीनमा संक्रमणले तीव्रता लियो।

त्यतिबेला रोगप्रति त्रास र संशय बढी थियो।

२०७६ माघ ९ गते नेपालमा कोरोना भित्रिएको पुष्टि भयो।

टेकु नेपालको एकमात्र सरुवा अस्पताल हो।

संक्रामक रोगको जिम्मेवारी नै टेकुले लियो।

त्यति बेला न टेकुमा संक्रामक रोगसँग लड्नका लागि स्रोतसाधन नै थियो, न पहिलो केसलाई स्वास्थ्यकर्मीले पिपिई, माक्सबिना नै हेरे।

तत्कालीन समयमा एचआइभी, रेबिज, डेंगु, मलेरिया, टाइफाइड, टिबीजस्ता रोगका बिरामी आइरहेको अस्पताललाई कोरोना संक्रमितको बिरामीको आउँदा सुरु–सुरुमा व्यवस्थापन गर्न निकै हम्मे भयो।

तर, पनि स्वास्थ्यकर्मीले हार मानेन्।

त्यसबेला टेकु अस्पताललाई मानिसले हेर्ने दृष्टिकोण पनि बेग्लै थियो।

‘टेकुमा गयो भने संक्रमण सर्छ। त्यो त छेरौटे अस्पताल हो’ सम्म भन्न भ्याए।

त्यसबेला डा. सागर राजभण्डारीले टेकुको नेतृत्व सम्हाले।

कोरोना संक्रमित संख्या बढ्दै जाँदा सरकारले टेकुलाई सबै जिम्मेवारी दियो।

जुन बेला टेकुका दृश्य बेहाल थिए।

न राम्रो बेड, न भौतिक संरचना।

‘पहिलो लहरमा हामीसँग कोभिडसँग लड्ने कुनै स्रोत–साधन थिएन। बिरामीलाई मास्क, पिपिई नलाइकन हेरेका थियौं,’ डा. राजभण्डारी सम्झिछन्।

कोभिडको अस्पताल तोकेसँगै पहिला दिँदै आएको सेवा बन्द गर्नुपर्ने थियो।

तर, ती बिरामीलाई कसरी सेवा दिने भन्ने चुनौती डा. राजभण्डारीलाई थपियो।

उनले कोरोनालाई अप्ठेरोका रूपमा नभई अवसरका रूपमा लिए र व्यवस्थापनमा जुटे।

टेकु अस्पतालको भौतिक संरचना एकदमै पुरानो।

कतै त चर्किएका पर्खाल। बेडहरू नै यस्तै पुराना।

अस्पतालको भौतिक अवस्था नाजुक भएकाले डा. राजभण्डारी संक्रमित उपचारसँग संरचना व्यवस्थित गर्नतर्फ लागे।

‘अस्पतालमा बेडहरू एकदमै साँघुरो पारेर राखिएका थिए। कोभिडका केसहरू राख्नका लागि सबैभन्दा पहिला पू्र्वाधारको आवश्यकता पर्छ,’ उनी भन्छन्, ‘संक्रामक रोग व्यवस्थापनमा त्यो पूर्वाधार पर्याप्त थिएन। हामीसँग आवश्यक उपकरण पनि थिएनन्।’

बिरामीलाई उपचार गर्न भित्र भएका सबै संरचना परिवर्तन गर्नुपर्ने भयो।

पहिला एउटा कोठामा आठवटासम्म बेड थिए।

त्यसलाई झिकेर चारमा सीमित गरियो।

सबै कोठा सिल गर्नेदेखि हेपाफिटर राख्ने काम भयो।

पहिला टेकुमा दुई आइसियु बेड थिए।

जसमा सिलिन्डरमार्फत अक्सिजन दिने गरिएको थियो।

कोरोना संक्रमितलाई लक्षित गर्दै अस्पतालले नेपालमा पहिलो ‘लिक्विड प्लान्ट’ राख्यो।

‘सबै बेडमा अक्सिजन जाने पाइप लगाइयो। लिक्विड प्लान्ट राख्नाले धेरै बिरामीलाई बचाउन सकियो। यो खुसीको कुरा हो,’ डा. राजभण्डारी भन्छन्।

अस्पतालले उपचार सँगसँगै कोरोना परीक्षणलाई तीव्रता दियो।

अस्पतालको तथ्यांकअनुसार हालसम्म ७० हजारभन्दा बढीको पिसिआर परीक्षण गरिसकिएको छ।

जसमध्ये १२ हजारभन्दा बढीको संक्रमण पुष्टि भएको छ। २ हजारभन्दा बढी संक्रमितको उपचार गरिसकिएको छ।

‘कोरोना महामारीलाई धेरैले चुनौतीका रूपमा लिए। तर, हामीले अवसरका रूपमा लियौं,’ डा. राजभण्डारी भन्छन्,’ ‘देशलाई आवश्यक परेको अवस्थामा हाम्रो क्षमता देखाउनुपर्ने थियो। हामीले त्यो देखाउन सकेजस्तो लाग्छ।’

पहिलो लहरमा जेनतेन संक्रमितको उपचार भयो।

स्वास्थ्यकर्मीले दिनरात पर्वाह नगरी काम गरे।

अन्य अस्पतालमा स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै जाँदा पनि टेकुले कोरोना पहिलो लहरमा सात महिनासम्म आफ्ना स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाइराख्यो।

जसको कारण थियो– संक्रमणसँग जोगिने ज्ञान र सीप।

त्यस समयमा टेकुका स्वास्थ्यकर्मीले अस्पताललाई संक्रमणबाट जोगिनेबारे तालिमसमेत दिए।

कोरोना महामारी न्यून हुँदै गएको थियो।

टेकुमा संक्रमित भएर बस्ने बिरामी दुईजनामा झरिसकेका थिए।

तर, पुनः कोरोना दोस्रो लहर सुरु भयो।

दोस्रो लहरले झ्न अस्तव्यस्त नै बनायो।

‘दोस्रो लहरले व्यवस्थापनमा धेरै समस्या थप्यो। धेरैको रोजाइ टेकु नै बन्यो,’ डा. राजभण्डारी भन्छन्, ‘केही अस्पतालले बेड छैन भनेर बिरामीलाई भर्ना लिएनन्। तर, हामीले बिरामीको दुःख देख्न सकेनौं। पाल टाँगेर, कुर्सीमा राखेर भए पनि सेवा दिएका छौं।’

बिरामीको चाप दिनानुदिन बढ्दै गयो। टेकु परिसर तथा ग्यारेजमा समेत बिरामी राखेर उपचार गरिराखिएको छ।

‘कुनै बिरामीलाई अक्सिजन दिएर मात्र राख्दा नै बाँच्छन्। तर, नाम चलेका अस्पतालले बिरामी राखेनन्। टेकु ल्याउँदा ल्याउँदै मृत्यु भएका धेरै घटना छन्। यस्ता दृश्यले मेरो मन दिनदिनै पोलिरहन्छ,’ डा. राजभण्डारी दुखित मुद्रामा भन्छन्।

टेकुले बिरामीको मन जित्न सकेको छ।

सबै स्वास्थ्यकर्मीले बिरामीलाई आफ्नै परिवार सम्झिछन्।

दिनरात तिनै बिरामी सुम्सुमाइरहेका हुन्छन्।

‘केही अस्पतालमा अझै देखिन्छ। परैबाट यसोउसो हिँडेका हुन्छन्। तर, टेकुमा त्यस्तो छैन। प्रत्येक बिरामीको स्वास्थ्यकर्मी सारथी बनेका छन्। हौसला दिन्छन्। मनोबल बढेकाले धेरै बिरामीलाई घर फर्काउन सफल भएका छौं,’ डा. राजभण्डारीले भने, ‘विपत्तिको समयमा सबैको जिम्मेवारी एकनास हुनुपर्थ्यो। निजी अस्पतालले बेड खाली भए पनि भरिएको देखाएका छन्। कस्ता–कस्ता बिरामीको उपचार भइरहेको छ? अनुगमन हुनुपर्थ्यो। तर, सरकारको तर्फबाट अनुगमन हुन सकेन।’

सरकारले यस आर्थिक वर्षमा टेकुलाई ३ सय बेडको अत्याधुनिक सरुवा रोग अस्पताल बनाउन बजेट विनियोजन गरेको थियो।

तर, बजेट फ्रिज हुने अवस्था आएको छ। यसतर्फ कुनै काम विस्तार हुन सकेन।

‘कहाँ बनाउने कुनै रणनीति तयार भएको छैन। भएको बजेट फ्रिज हुने अवस्था आयो। यस्तो महामारी हुँदा पनि स्वास्थ्य मन्त्रालयको नजर अझै पुग्न सकेको छैन,’ उनले भने।

पाटन अस्पताल

नेपालमा कोरोना भित्रिसकेपछि सरकार व्यवस्थापनतर्फ केन्द्रित थियो। तर, सरकार केन्द्रित हुनुभन्दा अगाडि नै पाटनले आफ्नो तरिकाले स्रोत–साधन जुटाइसकेको थियो।

सरकारको रोजाइमा पाटन पर्‍यो।

‘सरकारले विश्वास गरेपछि हामीमाथि जिम्मेवारी झन् बढ्यो,’ अस्पताल निर्देशक डा. रवि शाक्य भन्छन्, ‘अन्तर्राष्ट्रिय गाइडलाइनलाई फलो गर्दै त्यहीअनुसार अगाडि बढ्न थाल्यौं।’

पाटन अस्पताल सबैखाले सेवा दिने अस्पताल भएकाले सुरुका दिनमा कसरी व्यवस्थापन गर्ने भन्ने अस्पताल प्रशासनसामु चुनौतीको विषय थियो।

तर, बिस्तारै अस्पतालले नयाँ भवनमा कोरोना वार्ड नै बनाइ उपचार गर्न थाल्यो। अस्पतालले कोरोनाका बिरामी र अन्य बिरामीलाई अलग–अलग भवनमा नै राखेर सेवा दिन थाल्यो।

अस्पतालले सुरुमा ४५ बेड सञ्चालन गर्‍यो। तर, बिरामीको चाप बढ्दै गयो।

‘नयाँ भवनलाई कोरोनाका लागि भनेर छुट्ट्याइयो। बेड, अक्सिजन र आइसियु बेड राख्यौं। कोरोनाका लक्षण देखिएका बिरामी आउने बित्तिकै नयाँ भवनमा राखेर मापदण्डअनुसार उपचार गर्‍याैं,’ उनले भने।

पहिलो लहरको ‘पिक’ अवस्था हुँदा अस्पतालले २ सय ५० भन्दा बढी बेड सञ्चालनमा ल्याएको थियो।

‘अस्पताल पूरै कोभिडका रूपमा रूपान्तरण गर्ने योजना थियो। तर, कोभिडमात्रै सेवा दिँदा नन–कोभिडका बिरामी मर्ने अवस्था आयो,’ डा. शाक्य भन्छन्, ‘डायलाइसिस, प्रसुतीलगायत अन्य सेवालाई पनि उचित व्यवस्थापन गर्ने हाम्रो दायित्व थियो।’

उनका अनुसार अस्पतालले निरन्तर कोभिड तथा नन– कोभिड सेवा समानान्तर रूपमा सञ्चालन गर्‍यो।

सुरुमा स्वास्थ्य मन्त्रालयले कसरी अगाडि बढ्ने, प्राविधिक पक्ष के हो भन्ने विषयमा पाटन अस्पताललाई अध्ययनका लागि जिम्मेवारी दियो।

पहिलो चरणमा चीनको वुहानमा सबैभन्दा बढी कोरोना हेरेको अस्पतालले नेपाललाई सहयोग गर्‍यो। सरकारको समन्वयमा टेकु अस्पतालको एक्स्पर्ट टिमले चीनको उक्त अस्पतालसँग भिडियो कन्फरेन्स गर्‍यो।

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरू राखेर उनको नेतृत्वमा चीनको चिकित्सक टोलीसँग प्राविधिक विषयमा छलफल भयो। जसले गर्दा थप रणनीति बनाउन अस्पताललाई सहयोग पुग्यो।

‘पहिलो लहरमा समीक्षा गर्दा सबैभन्दा बढी बिरामी हेर्नेमा पाटन नै पर्छ। पहिलो लहरमा सिकेको पाठले पनि दोस्रो लहर सामना गर्ने धेरै सहयोग पुग्यो,’ डा. शाक्य भन्छन्।

तर, दोस्रो लहरको अन्य स्वास्थ्य साम्रगी जोहो गरिराख्दा अक्सिजन व्यवस्थापनमा पाटन पछाडि पर्‍यो।

‘दोस्रो लहरमा अक्सिजनको खपत धेरै लाग्छ भन्ने थाहा थियो। तर, हामीले आँकलन गरेको भन्दा अगाडि नै दोस्रो लहरले छोप्यो,’ उनी भन्छन्।
पाटनले दुई साताभित्र देशको सबैभन्दा ठूलो ‘अक्सिजन प्लान्ट’ ल्याउने डा. शाक्यले बताए।

उनका अनुसार उक्त प्लान्टमा प्रतिमिनेट १ हजार ५ सय लिटर अक्सिजन उत्पादन हुनेछ।

बिरामीको चाप बढेसँगै अस्पतालले उपकरण पनि थप गर्दै गएको छ।

पहिलो लहरमा २१ आइसियुसहित भेन्टिलेटर सञ्चालनमा थिए। हाल अस्पतालले ३० आइसियुसहित भेन्टिलेटरमार्फत सेवा दिइरहेको छ।

त्यसैगरी, एचडियु बेड ५० सञ्चालनमा छन्। अहिले ३ सय ५० भन्दा बीढ आइसोलेसन बेडमार्फत अस्पतालले सेवा दिइरहेको छ।
‘हामी अझै बेड बढाउन सक्छौं। तर, अक्सिजन छैन। अक्सिजन पर्याप्त हुने हो भन्ने ७ सय बेडसम्म सञ्चालन गर्न सक्छौं,’ उनले भने।

अस्पतालले जनशक्ति अभाव हुन नदिन मेडिकल विद्यार्थी तयारी अवस्थामा राखेको छ।

त्रिवि शिक्षण अस्पताल (टिचिङ)

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) यतिबेला कोरोना उपचारमा भरोसाको केन्द्र हो।

सम्भवतः देशभरिमा धेरै संख्यामा उपचार गर्ने ठूलो अस्पताल हो।

टिचिङले नै कोरोना उपचारमा विभिन्न उपचार पद्धति भित्र्यायो।

कोरोनाका गम्भीर बिरामीलाई प्लाज्मा थेरापीदेखि ‘रेम्डेसिभिर’ पहिला चलाउने अस्पताल टिचिङ भयो।

संरचनालाई विस्तार गर्दै ४ सयभन्दा बढीको उपचार भइरहेको छ।

हाल टिचिङमा ५० बेड कोभिड आइसियुको लागि छुटाइएको छ। ३ सयभन्दा बढि अक्सिजन बेड रहेका छन भने ३० एचडियू बेड छन्।

तै पनि बिरामीलाई चिसो भुइँमा नै सेवा दिनुपरिरहेको छ।

सरकारले टिचिङलाई कोभिडका बिरामी उपचार गर्ने निर्देशन त दियो, तर सहयोग दिएन। काम लगाउने समयमा सरकारी अस्पताल बन्ने तर स्वास्थ्यले समेत अनुदान दिने बेला शिक्षा मन्त्रालयको अस्पताल भन्थ्यो।

तर, बिस्तारै टिचिङले सरकारको साथ–साथै अस्पतालमा भएका सम्पूर्ण स्रोत–साधन व्यवस्थापन गर्दै अस्पतालले भरपुर सेवा दिइरहेको छ।
पहिलो लहरमा गणेशमान भवनबाट सेवा दिइरहेको थियो। तर, दोस्रो लहर त्यसले पर्याप्त भएन।

गणेशमान भवनमा कोरोना संक्रमित राख्दा कान, नाक, घाँटीको सेवा करिब एक वर्षसम्म बन्द नै भयो।

दोस्रो लहरमा नयाँ निमित्त भवनबाट सेवा दिन थाल्यो। बिरामीको चाप बढेपछि सुरेश वाग्ले भवन, न्युरो वार्ड, एनएस वान, एनएस टु, फिमेल सर्जिकल वार्डबाट सेवा सञ्चालन गर्‍यो।

कोभिड आकस्मिक कक्षमा हरेक दिन ५०–६० बिरामी थपिइरहेका छन्। ‘हामीले अहिले ४ सयभन्दा बढी बिरामीलाई उपचार गरिहेका छौं,’ अस्पतालका उपनिर्देशक डा. सुभाष आचार्य भन्छन्, ‘पहिलो लहरबाट सिकेका धेरै कुराबाट अहिले व्यवस्थापन गर्न सहज भयो।’

बिरामीको उपचारमा डा. सुभाष आचार्य, डा. सन्तकुमार दास तथा अन्य वरिष्ठ डाक्टरले नेतृत्व तथा व्यवस्थापन चुस्त बनाए।

‘पहिलो लहरमा सुरक्षित तवरले काम गर्दा संक्रमण सर्दैन भन्ने स्वास्थ्यकर्मीमा विश्वास बढ्यो। त्यसका साथ–साथै खोप पनि लगाए,’ उनी भन्छन्, ‘कोभिड बिरामीमा खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउन जोखिम भत्तासमेत उपलब्ध गरायौं। जसका कारण अहिलेको यो लहरलाई सामना गर्न सजिलो भयो।’

अस्पतालले अब थप २० आइसियु बेड बढाउन कोसिस गरिरहेको छ। तर, समस्या त्यही अक्सिजनमा छ।

‘सरकारले अक्सिजनमा सहयोग गर्ने हो भन्ने ६ सय बेड सञ्चालनमा गर्ने सक्ने क्षमता छ। तर, अक्सिजन अभावमा नै खुम्चिएर बस्नुपरेको अवस्था छ,’ डा. आचार्यले भने।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीसहित कर्मचारी पनि कोरोनाकै कारणले गुमाउनपर्‍यो। मुटुरोग विशेषज्ञ डा. सुनिल झासहित दुई कर्मचारीको निधन भएको हो।

सरकारी अस्पताललाई बलियो बनाउन सक्यौं भने मात्र स्वास्थ्य प्रणाली राम्रो हुने डा. आचार्य बताउँछन्।

‘देशको नीति तथा राजनैतिक अवस्थाले गर्दा सरकारी सिस्टम बलियो हुन सकेको छैन। तर, कोरोना महामारीमा भएका स्रोत–साधन अधिकतम प्रयोग गरेर सरकारी अस्पतालले राम्रो भूमिका निर्वाह गरे,’ उनी भन्छन्, ‘सरकारी संस्था जति बलियो त्यति धेरै फाइदा हुन्छ।

सरकारले अलि–अलि सेवा–सुविधा दिँदा धेरै नागरिकको जीवन बाँच्छ।’

वीर अस्पताल

हाम्रो देशको स्वास्थ्य क्षेत्रको विकृत विम्बको पर्यायका रूपमा हेरिने अस्पताल हो वीर अस्पताल।

वीरले देखाउँछ देशको सरकारी स्वास्थ्य प्रणालीको दुर्दशा झल्काउँछ भन्नेहरूको कमी छैन। केही वर्षअघि तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको विशेष योजना र पहलमा वीरको परिचय साँच्चै फेरिएको थियो। तर, सुधारको गति बीचमा रोकिएको थियो।

यद्यपि, अस्पतालका संरचना बन्दै गएका छन्। आधुनिक भवन बनेको छ। तर, सञ्चालनका लागि स्रोत–साधन छैन।

सरकारले वीरलाई कोभिड युनिफाइड अस्पताल बनाउने निर्णय गरेको छ।

हाल सर्जिकल भवनमा ७ सयसम्म बिरामी राख्ने क्षमता छ। तर, छैन उपकरण।

अस्पताल प्रशासनले जसोतसो १ सय ७० बेडको व्यवस्थापन गरेको छ। भएकै संरचनाबाट पनि कोभिड उपचारमा वीरले पु¥याएको सेवा निकै

उत्कृष्ट छ। तर, हालसम्म पनि अक्सिजनको व्यवस्था गर्न सकेको छैन।

‘भवन हुँदा मात्रै बिरामीको उपचार गर्न सकिँदैन,’ अस्पतालका कार्यकारी निर्देशक डा. शान्ता सापकोटा भन्छिन्, ‘अक्सिजन अभावमा नै अन्य बिरामी भर्ना लिन सकेका छैनौं।’

दोस्रो लहरमा बिरामीको चाप बढ्दै गएपछि अस्पताल प्रशासनले वार्डमा कोभिड बिरामी राख्न थाल्यो।

हाल २ सयभन्दा बढीमा कोरोना बिरामीका उपचार भइरहेको छ।

अस्पतालमा २१ आइसियु बेड संक्रमितले भरिएका छन्।

आकस्मिक कक्ष पनि पूरै कोभिडका बिरामीले भरिएका छन्।

‘स्वास्थ्य मन्त्रालयको निर्देशनपछि हामीले सर्जिकल भवनलाई कोभिड अस्पताल बनाउनतर्फ लाग्यौं। अहिलेको अवस्थामा अक्सिजन नै महत्वपूर्ण छ। जनशक्ति सबै तयारी अवस्थामा छन्,’ उनी भन्छिन्, ‘युद्ध लड्न जाने बेलामा हतियार नै भएन भने के जित्न सकिएला!’

पहिलो लहरमा काम गरिहेका धेरै स्वास्थ्यकर्मी संक्रमित हुनुपर्‍यो।

त्यस्तै स्वास्थ्यकर्मी कालु पाण्डेको कोरोनाकै कारण ज्यान गयो।

‘सके जति सेवा दिन हरसम्भव प्रयास गरिरहेको छु। तर, के गर्ने स्रोत–साधन छैन कसरी सेवा दियौं,’ उनी भन्छिन्।

अस्पतालमा धेरैजसो प्रशासनिक कार्यमा कमजोरी भएकाले सेवा विस्तार गर्न नसकिएको कर्मचारीको गुनासो छ।

‘सबैजना स्वास्थ्यकर्मी नयाँ भवनमा सेवा दिन आतुरता छ। इच्छाशक्ति भएर मात्र हुँदो रहेनछ। मेडिकल क्षेत्रमा व्यावहारिकता चाहिन्छ,’ उनी भन्छिन्।

वीरमा हालसम्म २ हजारभन्दा बढीले उपचार सेवा लिएका छन्। २ सयभन्दा बढीको मृत्यु भएको छ।

भक्त्तपुर अस्पताल

भक्तपुर अस्पताल प्रदेशस्तरमा यस वर्ष उत्कृष्ट हुन सफल भयो। अन्य वर्ष यस्तै मूल्यांकन हुँदा खराब अवस्था थियो।

तर, त्यो खराब अवस्थाबाट एक वर्षभित्र प्रदेशस्तरको एक नम्बर बनाउनका लागि कुशल नेतृत्वको भूमिका ठूलो रह्यो।

गत वर्ष मंसिरमा डा. सुमित्रा गौतमले भक्तपुर अस्पतालको नेतृत्व सम्हालिरहँदा धेरै उतारचढाव खेप्नुपर्‍यो।

‘नयाँ नेतृत्वलाई मैले अवसरका रूपमा लिएँ। पहिलो लहरमा चैत ११ मा लकडाउन भयो,’ डा. गौतम ती दिन सम्झिँदै भन्छिन्, ‘हामीसँग त्यति बेला ज्वरो नाप्ने थर्मल गनसमेत थिएन।’

कोरोना महामारीले अस्पताल सुधार गर्न ठूलो मौका दिएको उनी सुनाउँछिन्।

डा. गौतमसँग अस्पताल सुधार गर्न धेरै चुनौती थियो।

चार–पाँच महिना उनलाई अस्पतालको अवस्था बुझ्नै लाग्यो। जताततै समस्या। बिरामीले सेवा पाउनै सकस।

उनको पहिलो कदम अस्पतालका कमजोरी पत्ता लगाउने थियो।

‘नयाँ रोगको चुनौती सँगसगै अस्पतालको कमजोरी पत्ता लगाउन समय लाग्यो,’ डा. गौतमले भने, ‘प्रदेशबाट जनशक्तिका साथसाथै बजेट सहयोग भयो। जसले गर्दा काम गर्न एकदमै सहज भयो।’

अस्पतालमा भएका बन्द भएका सेवा सुचारु गर्नेतर्फ लागिन्।

अस्पतालमा हुने गरेका बेथितिलाई चिरफार गर्ने नै डा. गौतमको प्रमुख काम थियो।

‘मैले नेतृत्व सम्हाल्दा दैनिक १ सय बिरामी हुन्थे। तर, अहिले ४ सयभन्दा बढीले ओपिडी सेवा लिने गरेका छन्,’ डा. गौतम भन्छिन्,

‘स्वास्थ्यकर्मीले दिएको साथले अस्पतालले स्वरूप फेर्न सकेको छ।’

अस्पतालले ७५ बेडको एचडियु निमार्ण गरेको छ।

अस्पतालमा अक्सिजन प्लान्ट नहुँदा धेरै समस्या परेको डा. गौतमको गुनासो छ।

‘हामीसँग अक्सिजन प्लान्टको सुविधा छैन। तर, पनि बिरामीलाई सहज सेवा तराईबाट अक्सिजन दिइरहेका छौं,’ उनले भनिन्।

बेड संख्या धेरै भए पनि अक्सिजन अभावका कारण सञ्चालन गर्न नसकिएको उनको भनाइ छ।

भक्तपुर अस्पताल ७५ बेडको अस्पताल हो।

तर, एक वर्ष अगाडि सबै बेड सञ्चालनमा भएका थिएनन्।

नयाँ व्यवस्थापन परिवर्तनसँगै पाँच बेड आइसियु र १५ बेडको एचडियु थप भयो।

हाल अस्पतालले १ सय ३७ बेडबाट सेवा दिइरहेको छ।

नन–कोभिडका बिरामीलाई सेवा दिनुपर्ने भएको अस्पतालले हाल ६८ बेड छुट्ट्याएको छ।

स्थानीय रूपमा सहयोग भएकाले अस्पतालको सेवा विस्तार गर्न सकिएको उनको भनाइ छ।

सशस्त्र प्रहरी बल अस्पताल (बलम्बु अस्पताल)

सरकारी अस्पतालमा कोभिड–१९ को उपचार जोखिमपूर्ण भएको भन्दै चर्को विरोध हुन थालेपछि सरकारले बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पताललाई कोभिड–१९ उपचारका लागि विशेष अस्पताल निर्माण गर्ने घोषणा गर्‍यो।

अस्पतालले १ सय ४० बेड सञ्चालन गर्‍यो।

पहिलो लहरको पिक अवस्थामा २ सयभन्दा बढी बेड सञ्चालन गरेको थियो।

अस्पतालमा बिस्तारै बिरामी घट्दै थिए।

अस्पतालमा भर्ना भएर बस्ने बिरामी दुईजना मात्रै पुगेका थिए।

तर, कोरोनाको दोस्रो लहरले थप चुनौती थप्यो बलम्बुलाई। भएका स्रोत–साधनले नधान्ने अवस्था आयो।

‘पहिलो लहरमा अक्सिजन धेरै कमलाई मात्र दिनुपरेको थियो। तर, अहिले अस्पताल भर्ना भएका सबैलाई अक्सिजन दिनुपरेको छ,’ फोकल पर्सन डा. प्रबिन नेपाल भन्छन्, ‘अहिले हामीलाई बिरामीको चाप व्यवस्थापन गर्न एकदमै गाह्रो परेको छ।’

नियमित रूपमा अस्पताल भर्ना हुने बिरामी हुँदा चाहेर पनि कोरोना संक्रमित बिरामीलाई लिन डा. नेपाल बताउँछन्।

हाल ५० कर्मचारी नै भर्ना भएर बसेका छन्। १ सय ५० भन्दा बढी कोरोना संक्रमितको उपचार भइरहेको छ। हाल अस्पतालले २० आइसियुसहित नौ भेन्टिलेटर सञ्चालनमा छ।

हालसम्म ३ हजार ५ सयभन्दा बढीलाई सेवा दिइसकेको छ। ९० जनाको मृत्यु भइसकेको छ।

‘मानिसहरूको अपेक्षा धेरै होला । तर, संकट परेका बेला यतिको सेवा दियौं, खुसी नै मान्नुपर्छ,’ उनी भन्छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *