भारतले किन अरु देशलाई खोप दिन सकिरहेको छैन?

कोरोना खोप उत्पादन गर्ने सबैभन्दा ठूलो देश हो भारत। तर उत्पादक कम्पनीहरूले भारतमै माग पूरा गर्न सकिरहेका छैनन्। त्यसैले कम्पनीहरूले अहिले अरु देशलाई खोप दिन नसक्ने स्पष्ट पारेका छन्।

कोरोना महामारीको दोस्रो लहर सुरु हुँदै गर्दा भारत सरकारले विश्वकै सबैभन्दा ठूलो खोप अभियान सुरु गरेको थियो। अहिले पनि भारतले १८ वर्ष उमेर पूरा गरेका सबै नागरिकलाई खोप दिने त भनेको छ तर आफै खोपको अभाव झेलिरहेको छ।

भारतले त्यसका लागि तमाम कोसिसहरू जारी राखेको छ। सरकारले आगामी डिसेम्बरसम्ममा कम्तीमा २ अर्ब डोज भ्याक्सिन उत्पादनको लक्ष्य लिएको छ।

भारतले नेपाललगायत आफ्ना केही छिमेकी तथा मित्र राष्ट्रहरूलाई सुरुमा खोप उपहार दिएको थियो। दश लाख डोज उपहारबाहेक नेपाल सरकारले भारतसँग कोभिसिल्ड किन्नका लागि २० डोजको पैसा भुक्तानी गरिसकेको छ। त्यो मध्ये दश लाख डोज मात्रै दिएको छ। भारतले अभाव देखाउँदै दश लाख डोज खोप नेपाललाई अझै दिएको छैन।

नेपालमा मात्रै होइन भारतले अहिले विश्वका कुनै पनि देशलाई खोप नदिने स्पष्ट पारिसकेको छ।

भारतसँग कुन खोप छ? 

हालका दिनसम्म भारतसँग तीन वटा खोप छ। ती सबैले आपतकालीन प्रयोगको अनुमति पाइसकेका छन्।

तीमध्ये दुई खोप भारतमै बनेका हुन्। एउटा कोभिसिल्ड हो र अर्को कोभ्याक्सिन। तेस्रो रुसको ‘स्पटनिक भी’लाई पनि भारत सरकारले प्रयोगको अनुमति दिइसकेको छ।

यसलाई भारतमै बनेका अरु दुई भ्याक्सिनभन्दा पनि प्रभावकारी भएको दाबी गरिएको छ।

कोभिसिल्ड भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो। त्यसको आधिकारिकता भने एस्ट्राजेनेका कम्पनीसँग छ। यो बेलायतको औषधी उत्पादक कम्पनी हो।

त्यस्तै भारतीय कम्पनी भारत बायोटेकले कोभ्याक्सिन तयार गरेको छ।

भारत सरकारका अनुसार गत सातासम्म दुबै कम्पनीका करिब ३५ करोड भन्दा धेरै खोप उत्पादन भइसकेको छ। तर सबै खोप कम्पनीले आपूर्ति गर्न सकेको छैन।

भारतले चाँडै नै रुसी भ्याक्सिनलाई पनि आफ्ना खोप केन्द्रहरूमा पठाउने तयारी गरिरहेको छ। गएको अप्रिलमा मात्रै यो खोपलाई भारतले प्रयोगका लागि अनुमति दिएको थियो।

यसै महिनाको सुरुवातमा भारतले दुई लाख डोज रुसी खोप ल्याएको थियो।

भारतमा खोप उत्पादनको गति के छ? 

भारतले खोप उत्पादनको ठूलै लक्ष्य राखेको छ। भारत सरकारले चाहेको छ कि कम्पनीहरूले यो वर्षको अन्तिम तीन महिनाभित्रै दुई सय करोड डोज उत्पादन गरुन्। भारतमा १३० करोड जनसंख्या छ। त्योमध्ये सबै नागरिकलाई खोप पुर्‌याउनका लागि भारतले अझै धेरै लामो यात्रा तय गर्नुपर्ने हुन्छ।

विश्वभर तयार भएका आठ खोपमध्य तीन खोप भारतले बनाएको हो। त्यो बाहेक अझै दुई भ्याक्सिन मेडिकल परीक्षणको सुरुवाती क्रममा छन भन् अरू तीन वटा भ्याक्सिन परीक्षणको अन्तिम चरणमा पुगिसकेका छन्।

‘जुन खोपहरूले अहिलेसम्म अनुमति पाएका छैनन्, सायद हामीले ती भ्याक्सिन देख्न पाउने छैनौं। अहिलेको सम्पूर्ण जोड भनेको अनुमति पाएका भ्याक्सिन उत्पादनलाई बढाउनतिर लाग्नुपर्छ। हामी अब त्यतातिर लाग्न जरुरी छ कि कसरी धेरै भन्दा धेरै भ्याक्सिन उत्पादन गर्न सकिन्छ’ जनस्वास्थ्य विज्ञ डा। चन्द्रकान्त लहरियाले भने।

सेरम इन्स्टिच्युटले ७५ करोड भन्दा धेरै डोज उत्पादन गर्ने प्रतिवद्धता जनाएको छ। थप २० करोड डोज कोभ्याक्स पनि आउनसक्छ। जो नोभाभ्याक्सको स्थानीय उत्पादन हो। तर यो खोपलाई प्रयोगको अनुमति दिइएको छैन।

भारत बायोटेकले पनि दुई भ्याक्सिन बनाइरहेको छ। जसमा कोभ्याक्सिनको ५५ करोड र अर्को भ्याक्सिनको १० करोड डोज बनाउने जनाएको छ। भारत बायोटेकको दोस्रो भ्याक्सिन अहिले मेडिकल परीक्षणको सुरुवाती चरणमा छ।

अप्रिल महिनामा भारत सरकारले सेरम इन्स्टिच्युटलाई ४० करोड डलर त भारत बायोटेकलाई २१ करोड डलर सहयोग गर्ने बाचा गरेको थियो। त्यसबाट उद्योगहरूले खोप उत्पादनको क्षमता बढाउने भारत सरकारले जनाएको थियो।

दुवै कम्पनीले आगामी अगस्टसम्ममा उत्पादन क्षमतामा भारी वृद्धि गर्ने जनाएका छन्। सेरमले आगामी अगस्ट सम्ममा महिनाकै १० करोड डोज खोप उत्पादन गर्नसक्ने जनाएको छ। त्यस्तै भारत बायोटेकले पनि प्रतिमहिना ८ करोड डोजसम्म उत्पादन गर्नसक्ने बताएको छ।

तर भारतले सरकारले सुरु गरेको खोप अभियानको लक्ष्यअनुसार यो उत्पादनले पनि धान्न मुस्किल पर्ने देखिन्छ।

मोदी सरकारले अरु अन्तर्राष्ट्रिय कम्पनीहरूसँग पनि खोप आपूर्तिका बारेमा कुराकानी भइरहेको जनाएको छ। सरकाले फाइजर, मोडेर्ना, जोन्सन एन्ड जोन्सनजस्ता भ्याक्सिन भारत ल्याउन तयारी भइरहेको छ।

तर सबै कम्पनीहरूले भारतलाई अक्टोबरपछि मात्रै जवाफ दिने बताएका छन्। यसको मतलव भारतमा विदेशमा बनेका खोप आउन अझै केही महिना लाग्नसक्छ।

कच्चा पदार्थको कमी

भारतमा सबै खोप निर्माता कम्पनीहरूले अहिले कच्चा पदार्थको अभाव झेलिरहेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले वर्षको सुरुवातमै अमेरिकामा ‘डिफेन्स प्रोडक्सन एक्ट’ लागु गरेका थिए। त्यो कानुनअनुसार अमेरिकी भ्याक्सिन निर्माता कम्पनीलाई नै कच्चा पदार्थका लागि पहिलो प्राथमिकतामा राख्नुपर्ने थियो।

भारतमा कोरोनाको दोस्रो लहरले गति लिन थालेपछि अमेरिकी प्रशासनले भारतमा कोभिसिल्ड खोप उत्पादनका लागि ‘विशेष प्रकारको कच्चा पदार्थ’ दिने बताएको थियो।

तर अमेरिकाबाट आइरहेको कच्चा पदार्थ अझै पनि अभाव रहेको सेरमले जनाएको छ। अन्तर्राष्ट्रिय विशेषज्ञहरूले भनेका छन् कि भ्याक्सिन उत्पादनका लागि सबैभन्दा जटिल प्रक्रिया भनेकै कच्चा पदार्थको आपूर्ति हो।

भारतमा खोप अभियान

गत जनवरीको दोस्रो सातादेखि भारतले देशभर खोप अभियान सुरु गरेको थियो। केन्द्र सरकारका अनुसार अहिलेसम्म भारतमा १९ करोड मानिसले कोरोनाको खोप लगाइसकेका छन्।

अप्रिल महिनाको सुरुवातमा भारत सरकारले हरेक दिन ३५ लाखभन्दा धेरैलाई खोप लगाएको थियो। तर अहिले यो तथ्याङ्कमा निरन्तर गिरावट आइरहेको छ। अहिले भारतले दैनिक १६ लाखभन्दा कम मानिसलाई मात्रै खोप दिइएको छ। विशेषज्ञहरूका अनुसार यही गतिमा खोप दिने हो भने त सबै नागरिकले चार वर्षसम्म पनि खोप पाउन मुस्किल हुन्छ।

खोप अभावका कारण दिल्ली तथा महाराष्ट्रजस्ता राज्यहरूले अहिले खोप अभियान नै बन्द गरेका छन्।

भ्याक्सिन निर्यात बन्द

यो सबै स्थितिलाई हेरेर भारत सरकारले मार्च महिनादेखि नै खोप निर्यातमा रोक लगाएको थियो।

सरकारले निकै कम संख्यामा मात्रै कोभ्याक्सलाई भ्याक्सिन दिन निर्देशन दिएको छ। त्यसबाहेक अहिलेको अवस्थामा भारतबाट ठूलो मात्रामा खोप निर्यात हुने कुनै सम्भावना नै छैन।

अघिल्लो साता सेरम इन्स्टिच्युटले त यो वर्षको अन्त्यतिरमात्रै भ्याक्सिनको निर्यात गर्नसक्ने स्पष्ट पारेको छ।

बिबिसीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय