रोकिएन निषेधाज्ञा उल्लङ्घन गर्नेको संख्या

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको उल्लङ्घन गर्ने क्रम अझै रोकिन सकेको छैन।

संक्रमण दर बढ्दो क्रममा रहेको र दैनिक झण्डै २०० को हाराहारीमा मानिसको मृत्यु भइरहेको विवरण सार्वजनिक हुँदासमेत लापरवाही गर्दै उल्लङ्घनको क्रम कायमै छ।

बिहीबार मात्रै मुलुकभर यसरी आदेश नमानी हिँड्ने ४ हजार ८५९ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको छ। तीमध्ये १ हजार ४९७ गाडी र ३ हजार ३६२ मोटरसाइकल छन्।

यस्तै मास्क नलगाई हिँड्ने क्रमसमेत रोकिन सकेको छैन। नयाँ भेरियन्टसहित संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईँको मास्क खोई?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ८३२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने २३४ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना तिराएर कारबाही गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए।

३ हजार ६०७ जनालाई सम्झाइ/बुझाइ गरी छाडिएको छ। बिहीबार नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट ९४ खाली अक्सिजन सिलिन्डर संकलन गरिएको छ। संकलन गरिएका ९४ वटा र यसअघिको स्टक रहेका २६ वटा गरी जम्मा १२० सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ।

स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर संकलन गरी उपलब्ध गराइएको हो।

नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म जम्मा ९ हजार ४४७ वटा सिलिन्डर संकलन गरिसकिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *