कोरोना महामारीमा ‘मोदी हराएको’ निवदेन दर्ता, जनता भए आगो

हेल्थपोस्ट नेपाल

 

 

केही आकस्मिक विषय भन्दै नयाँदिल्लीस्थित पार्लियामेन्ट स्ट्रिट पुलिस चौकीमा मानिसहरू हराएको एउटा निवेदन दर्ता भयो। उक्त निवेदनमा लेखिएको छ– ‘प्रधानमन्त्री नरेन्द्र मोदी र उनको मन्त्रिमण्डलका १० सदस्य कोरोना महामारी चलिरहेका बला बेपत्ता भएका छन्।’

भारतीय राष्ट्रिय विद्यार्थी युनियनका महासचिव नागेश करियप्पाले कोरोना महामारीले जनता आक्रान्त भएका बेला प्रधानमन्त्री मोदी र उनका १० मन्त्री बेपत्ता भएको भन्दे पार्लियामेन्ट प्रहरी चौकीमा निवदेदन दर्ता गरेका हुन्।

‘भारतले कोरोना भाइरससामु घुँडा टेकिसकेको आधिकारिक रेकर्डबीच राजनीतिक नेतृत्वको अनुपस्थिति लाजमर्दो रहेको छ,’ नागेशले दर्ता गरेको निवेदनमा उल्लेख छ, ‘भारतलाई विश्वकै एक नेतृत्वदायी देश बनाउँछु भन्ने वाचा गरेका ती सबै उपबुज्रुक नेताहरू कहाँ हराए? तर, त्यसको सट्टा जनतालाई यस्तो सास्ती उपहार दिएका छन्।’

केही सातादेखि कोरोना भाइरस महामारीको दोस्रो लहरले पूरै भारतलाई आगोको लप्काजसरी लपेटेको छ। सरकारी तथ्यांकका अनुसार यसले हालसम्म २ करोडभन्दा बढी मानिसलाई संक्रमित गराइसकेको छ भने ५ लाखभन्दा धेरैको ज्यान लिइसकेको छ।

भारतीय जनता पार्टी (भाजपा) को वर्तमान सरकार जसलाई मोदीले नेतृत्व गरेका छन्, अहिले सारा भारतीय महामारीको उनको ‘अनुपस्थिति’ देखेर आगो भएका छन्। मोदीले यसको ठूलै मूल्य चुकाउनुपर्ने अवस्था आउने देखिइसकेको छ।

विकास र समृद्धिको वाचा गर्दै मोदी सन् २०१४ मा सत्तासिन भएका थिए। त्यसपछि पुनः दोस्रोपटक २०१९ मा पनि बहुमत प्राप्त गरेका थिए। भारतकै सबैभन्दा लोकप्रिय प्रधानमन्त्री बनिरहन मोदीले आफ्ना केही हिन्दु राष्ट्रवादी अजेन्डाविरुद्ध नागरिक अशान्ति, अर्थतन्त्रमा गिरावट र केही प्रतिक्रियाको अवहेलना गरेका थिए। यो सालको सुरुवातमा उनको ‘अप्रुभल रेटिङ’ ८० प्रतिशतसम्म पुगेको दाबी गरिएको थियो।

तर, देशभरि अस्पतालमा बेड, अक्सिजन, भेन्टिलेटर र महत्वपूर्ण औषधी अभावका कारण लाखौं आफन्त गुमाउनुपर्दा र सीमित स्रोतसाधनयुक्त स्वास्थ्य प्रणाली लगभाग ‘कोल्याप्स’ को दिशातिर धकेलिएपछि मोदीको क्षमता र नेतृत्वमाथि पहिलोपटक प्रश्न उठेको छ।

‘जनताको पीडाको व्याख्या जसरी गरिन्छ, मोदीको छवि त्यसैमा निर्भर रहन्छ र उनले आफ्नो कथालाई कुशलतापूर्वक जनतामाझ लान सक्ने क्षमता पनि राख्छन्। तर, उनले यसको मूल्य भने चुकाउनैपर्छ,’ अमेरिकाको ब्राउन युनिभर्सिटीको सेन्टर फर कन्टेम्पोररी साउथ एसियाका निर्देशक आशुतोष वाष्र्णेय भन्छन, ‘यो असाध्यै ठूलो पीडाको समय हो र जनतालाई यो सम्झाउन धेरै नै कठिन हुनेछ किनभने यो केवल भगवानको इच्छा अथवा मास्क नलगाएर जस्ता कारण भएको हो भन्नु गाह्रो कुरा हो।’

भाजपाले शासन गरिरहेको हरियाणाको पञ्चकुला सहरको एउटा घाटमा चेतन टिकु कोरोना संक्रमणबाट ज्यान गुमाएका आफ्नो बाबुको दाहसंस्कार गर्न उभिएका छन्। कोरोना संक्रमणबाटै मृत्यु भएका कयौंका चिता जलिरहेको सोही घाटमा बाबुको दाहसंस्कार गर्न पालो कुरिरहेका टिकुले मोदी सरकारले महामारीसँग जुध्न गरेको कामको परिणाम ‘लाखौंको चितामा देखिएको’ प्रतिक्रिया दिए।

‘सारा जनता रिसाएका छन्,’ टिकुले भने, ‘म यसलाई एउटा सामूहिक असफलता मान्छु। राज्य सरकार होस् वा केन्द्र सरकार सबै यसमा असफल भएका छन्। उनीहरूले योजना नै खराब बनाएका थिए किनभने सरकारले यस्तो महामारीका बेला राज्यहरूमा चुनाव गराउनै हुन्थेन। त्यो नै सबैभन्दा खतरनाक साबित हुनपुग्यो।’

भाजपाको पकड रहेको हरियाणाको मनकियान गाउँमा अहिले मोदी विरोधी भावना यस्तरी बढेको छ कि कुनै पनि भाजपा नेतालाई अहिले गाउँ प्रवेशमा पूर्णनिषेध गरिएको छ।

कोरोना महामारीका बेला आफ्नो र परिवारको पेट भर्न संघर्ष गरिरहेका रामगढ गाउँका अटोरिक्सा चालक करमचन्द सिंहले २०१९ को चुनावमा मोदीलाई भोट दिएका थिए। तर, अहिले मोदीमाथिको गरेको सम्पूर्ण विश्वास खेर गएको उनले बताए। ‘कोरोनाबाट मृत्यु भएकाहरूको संख्या हेर्नुस्,’ उनले भने, ‘अब पनि मोदीलाई विश्वास गर्नुको औचित्य के रह्यो र!’

प्रधानमन्त्री मोदीमाथि कोरोना महामारीको दोस्रो लहरलाई नजरअन्दाज गरेको, वैज्ञानिकहरूको सुझाव लत्याएको, विभिन्न राज्यमा चुनाव गराएर राजनीतिक सभाजुलुस आयोजना गरेको र धार्मिक उत्सव गर्न अनुमति दिएर महामारीबीच ‘विजय’ हासिलको घोषणा गरेको आरोप लागेको छ।

यसैबीच भ्याक्सिन अभावका कारण यो कार्यक्रम नराम्रोसँग बिथोलिएको छ। अग्रिम अर्डर नगरेका कारण राज्य सरकार र केन्द्र सरकारबीच भ्याक्सिन आपूर्तिका विषयमा एकअर्काबीच दोषारोपणको खेल चलिरहेको छ।

‘अहिले महामारीले नर्छोको सायदै कुनै भारतीय होलान् र यसले प्रधानमन्त्री मोदीमाथि जनताको रिसको पारो ह्वात्तै बढाएको छ,’ कार्नेज एन्डौमेन्ट फर इन्टरनेसनल पिसको दक्षिण एसिया कार्यक्रम निर्देशक मिलन वैष्णव भन्छन्, ‘सहरी मध्यमवर्गीय जो मोदीका आधारशिला थिए, अहिले महामारीमा ती सबैभन्दा पीडित छन् र अब मोदीले यसको मूल्य गम्भीर रूपमा चुकाउनुपर्ने अवस्था सिर्जना भएको छ।’

(दि गार्जियनबाट)



Leave a Reply

Your email address will not be published. Required fields are marked *