कोरोना–कालमा द्रवित मन

‘सामाजिक सञ्जालमा कसैको तस्बिर देखिँदा पनि झसङ्ग हुनुपर्ने अवस्था छ अचेल। नातेदार, साथीभाइ, सहकर्मी, अग्रज, अनुज जोसुकैको फोटो आउँदा पनि एकछिन मनलाई टक्क अडाएर, मुटु दरिलो बनाएरमात्र त्यहाँ लेखिएका कुरा पढ्नुपर्ने हुन्छ। ‘पापी कोरोनाले त लगेन!’

मनले एकपटक आफैसँग प्रश्न गर्दछ। ‘हार्दिक श्रद्धाञ्जली!’ टाइप गर्नसमेत डराइसक्यो मन, थाकिसके औंलाहरू अब। बेलुका सुत्ने बेलामा मृत्युको तथ्यांकको मात्र चिन्तन गर्नुपर्ने कस्तो समय आयो? हरे! मुटुको धडकनसँगै नजानिँदो तवरले अत्यास, डर महसुस हुँदै जान्छ। मन

एकतमासले आतंकित भएको छ। ‘कतै मलाई नै पनि….’ ओहो! के हुन लागेको हो?’

उपरोक्त कथन कुनै बिरामीको भनाइबाट साभार गरिएको होइन। यो मेरै मनको तुलबुल हो। साँच्चै नै अत्तासिएको छ मेरो मन अचेल। दिनहुँ उकालिइरहेको मृत्युको ग्राफले तर्साएको छ मलाई पनि। घन्टैपिच्छे जस्तो अपडेट भइरहने अनलाइन पोर्टलका ब्रेकिङ न्युजहङले, टेलिभिजनका पर्दामा छाइरहने घाट र लाशमाथिका धुँवाका दृश्यले हल्लाएको छ मेरो मन–मस्तिष्क नै। हो, अलिअलि एन्जाइटी, अलिअलि डिप्रेसन ममा पनि चढिसकेको छ। द्रवित छ मेरो मन यो कोरोना–कालमा। अझै बढेको छ पीडा यसको यो दोस्रो वेभमा।

म, अर्थात एक मनोचिकित्सक। अरूको मानसिक चोटपटकमा मल्हम लगाउने व्यक्ति। लोकभाषामा भन्दा काउन्सेलिङ गरेर अरूको पीडा कम गराउने कर्तव्य मेरो। आवश्यक परे तिनको पीडाले ल्याउन सक्ने लक्षणको निदान गरेर ओखतीमुलो गर्ने जिम्मेवारी मेरो। तर, अहिले त म नै थकित छु, द्रवित छु, आतंकित छु, अनि पीडित छु।

म स्वर्ग या व्रह्मलोकमा बस्ने अजम्बरी देव पनि त होइन। म पनि त आखिर मानिस नै हुँ। मेरो पनि खाने मुख छ, धड्किने मुटु छ, सोच्ने दिमाग छ, अनि चिन्ता गर्ने मन छ। अहिलेको महामारीले कसलाई पो नछोएको होला र? कोरोना–कालले सबैलाई सताएको छ, चिन्तित बनाएको छ, तर्साएको छ। डर, आतंक, हतासाको बन्दी बनाएको छ।

फेरि यो कोभिड–१९ संसारबाट चाँडै नै बिदा भएर जालाजस्तो पनि छैन। नत्र त २०२१ को मध्यतिर आइसक्दा पनि यो २०१९ को भूतले छोड्नुपर्ने नि त। हामीकहाँ दोस्रो वेभले नछोड्दै नै तेस्रो वेभको चर्चा हुन थालिसकेको छ। अन्त भने तेस्रो–चौथो वेभ नै उत्कर्षमा पुगिसक्यो।

त्यसोभए, सधैं डर, आतंक, अनि पीडामै अभिसप्त भएर नै बसिरहनुपर्ने त अब?

यी मनोवैज्ञानिक पीडा हटाउने कुनै उपाय छैन त? छ।

एउटा मनोचिकित्सकका रूपमा ती डर, चिन्ता, पीडाजस्ता मनोवैज्ञानिक आतंकमय परिवेशबाट मुक्ति पाउने उपायका बारेमा नै चर्चा गर्न खोजेको हुँ मैले यस लेखमा। तर त्यो मेरो या कुनै पनि मनोचिकित्सकको या कोही मानसिक स्वास्थ्यकर्मीहरूको एक्लो प्रयासबाट मात्र सम्भव हुने कुरा होइन। यसका लागि सबैको हातेमालोको जरुरत रहेको छ। सबै भन्नाले चिकित्सक, स्वास्थ्यकर्मी, मिडियाकर्मी, राजनैतिक कार्यकर्ता, शिक्षकवर्ग, विद्यार्थीगण सबैको। आमजनताका रूपमा यो लेख पढ्ने तमाम पाठकको जिम्मेवारी छ कोरोना–कालमा फैलिएको मनोवैज्ञानिक पीडा कम गर्नका लागि।

स्वास्थ्यकर्मीहरूले त यो समयमा आफ्नो कर्तव्य निभाएकै छन् जस्तो लाग्छ। म आफू नै एक स्वास्थ्यकर्मी भएर भनेको होइन, तर अहिलेको समयमा सबैभन्दा कर्तव्यबोध भएर आफ्नो जिम्मेवारीमा दत्तचित्त भएर लाग्ने व्यक्ति नै स्वास्थ्यकर्मी (डाक्टर, नर्स आदि) हुन्। एक वर्षभन्दा बढी भयो, आफूले खाइपाइ आएको तलबभन्दा कम पैसामा (भत्ताआदिको त कुरै छाडिदिउँ), आफ्ना परिवारजन (विशेषतः वृद्ध मातापिता अनि कलिला छोराछोरी) बाट टाढा रहेर जोखिमपूर्ण अवस्थामा काम गरिरहेका छौं हामी स्वास्थ्यकर्मी।

अक्सिजन, बेड, आइसियु, पिपिई, ग्लोभ्स, मास्क आदिजस्ता अत्यावश्यक वस्तु अनि उपकरणको सीमितताबीच युद्धक्षेत्रमा खटिएका सिपाहीका रूपमा अनवरत कार्यरत छौं हामी। दैनिक लाशको तथ्यांक पस्किने सरकार भएको देशमा ‘कुनै ज्यान बचाउन सकी पो हालिन्छ कि?’ भनी प्रयास गर्ने स्वास्थ्यकर्मी नै हुन्। तर पनि, तिनमाथि मुक्कालाठी बर्साउन यस्तो समयमा पनि जनता (?) तयार नै छन्।

हिजो विराटनगरको अनि गत हप्ताको जनकपुरको घटनाले अलिकति साहस घटाएको, मन फटाएको हुनसक्छ। तर, पनि हामी स्वास्थ्यकर्मी लागेकै छौं। भौतिकरूपमा ओपिडी खोलेर बिरामीको उपचारमा लाग्न नसकिएको अवस्थामा पनि मोबाइल बोकेर चौबिसै घन्टा, सातै दिन अनवरत दत्तचित्त भएकै छौं हामी। सम्भव भएसम्म सामाजिक सञ्जालबाट नै पनि सचेतनाका कुरा, स्वास्थ्य सल्लाह, अनि सकारात्मक समाचार प्रवाह गर्ने प्रयास पनि भएकै छ।

अब कुरा गरौं मिडियाकर्मीहरूको। राज्यको चौथो अंग मानिने मिडियाको यो कोरोना–कालमा महत्व नहुने त कुरै भएन। सरकारलाई झकझकाउने, जनतालाई सुसूचित राख्ने, चेतना फैलाउनेजस्ता कार्यमा मिडियाकर्मी नलागेका त छैनन् पनि, तिनको योगदान यथेष्ठ नै छ। तर, अहिले जनमानसमा छाएको मनोवैज्ञानिक आतंकमा कमी ल्याउन मिडियाले के कति हातेमालो गर्न सक्दछ भन्ने यहाँ चर्चा गर्न खोजेको हुँ।

तलका केही सन्दर्भ अध्ययन गरौं पहिले।

‘डाक्टरसाब! बुबाको त पिसिआर पोजिटिभ आएछ। अब घरमा राख्यो भने त खत्तमै हुन्छ। अक्सिजन भएन भने त कसरी बाँच्नुहोला? अस्ति टिभीमा देखाएको दृश्य अझै आँखाबाट हराएको छैन। के गर्ने होला? तपाईंको अस्पतालतिर बेड मिलाउन सकिन्छ कि? लौ न! नत्र अक्सिजनको एउटा सिलिन्डर भए पनि व्यवस्था गरिदिनुप¥यो।’

एकजना चिनेजानेका आफन्तले मध्यरातमा मलाई फोन गरेर भनेका कुरा हुन् यी। पिसिआर पोजिटिभ आउनासाथ अस्पताल लगेन, अक्सिजन पाइएन भने ज्यानै जाने भ्रम पालेर बसेका छन् जनसाधारण।

‘दाइ! आमा त पिसिआर पोजिटिभ भएर पनि घरै बसिरहनुभएको रहेछ। उहाँको सिटिस्क्यान गराउन पर्दैन? फेरि अस्पतालमा बेडै नपाइएला। तपाईंको अस्पतालतिर बेड बुक गरिदिनुपर्छ कि?’

एउटा बहिनीले आफ्नी आमालाई कोरोना संक्रमण भएको थाहा पाएपछि विदेशबाट फोन गरेर मसँग अनुरोध गरेको कुरा हो यो। पिसिआर पोजिटिभ हुनासाथ सिटी गर्नैपर्ने, अस्पतालको बेड तयारी अवस्थामा रहनुपर्ने भ्रम छ जनमानसमा।

‘पिसिआर पोजिटिभ भएपछि त चिनी खानुहुन्न रे नि?

अब भ्याक्सिन नपाउने नै हो?

कोरोना भइहाल्यो। के गर्नु? अब कति पो बाँचिएला र?

फलानो जडिबुटी कहाँ पाइएला? कोरोना भइहाल्यो। जोहो गर्नुप¥यो नि।

मलाई त पानीमा भिजेर पो ज्वरो आएको त! कुनै लक्षण नै छैन। कहाँ कोरोना हुन्छ? किन टेस्ट गराउनु?

बालाई दमले च्यापेको छ। अब अस्पताल लग्यो भने अनेकथरि टेस्ट गराइदेला। पिसिआर पनि गराउने होला। के गर्ने? के औषधी दिएर ठिक होला? भन न!’

भ्रम, चेतना अभाव, डर, आतंक मिश्रित यी सब घटना सत्य नै हुन्। म डाक्टर भएको नाताले यस्ता घटनाको साक्षी धेरै नै हुनुपरेको छ।
तर, यी भ्रम निवारण गर्न, अनि चेतनाको ज्योति बाल्न, जनमानसको मानसिक पीडा कम गर्न मिडियाको अझै ठूलो भूमिका हुन्छ जस्तो लाग्दछ मलाई।

आर्यघाटमा लाशहरु जलाएको देखाउने टिभीले कोरोना रोग लागेर अस्पतालमा भर्ना भएका बिरामी या तिनका आफन्तसँग उनीहरूको

कोरोना अनुभव समेटिएको वृत्तचित्र देखाउँदा राम्रो होला कि?

कोरोना रोगबाट मरेका व्यक्तिका तथ्यांकमा सधैं जोड दिने अनलाइन मिडियाले कोरोनाबाट बाँचेका विभिन्न उमेर समूहका व्यक्तिका विवरणमा प्रकाश पार्न सके सकारात्मकतामा वृद्धि होला कि?

‘अस्पतालमा बेड नभएको, आइसियु आदि खालि नरहेको, अक्सिजन अपुग भएको’ समाचारभन्दा ‘अहिले बेड बढिरहेको, अक्सिजन प्लान्ट बनिरहेको, सिलिन्डर आपूर्ति भइरहेको’ जस्ता समाचारमा बढी जोड दिने कि?

‘कोरोनाले मार्ने त एक प्रतिशतभन्दा कमलाई हो। बाँकी ९९ प्रतिशतले त सजिलै कोरोना जित्छन्।

सबै कोरोना लागेकालाई अस्पताल भर्ना गर्नुपर्दैन। सबैलाई अक्सिजन चाहिने पनि होइन। सबैको सिटिस्क्यान पनि गर्नुपर्दैन।

घरैमा सुरक्षित बसेर, यथेष्ठ आराम, पौष्टिक आहार, प्राणायाम, नियमित पथपरहेज गरेर कोरोनाका सामान्य लक्षणबाट पार पाउन सकिन्छ।

निषेधाज्ञा, बन्दाबन्दी जनआन्दोलनमा जस्तो राजनैतिक कारणले लागेको होइन। यो हामी सबैको स्वास्थ्य सुरक्षाका लागि लगाइएको हो। १४ दिन घरै बसेर नै संक्रमण चक्र तोडिन मद्दत गर्दछ।’

यस्तै–यस्तै सचेतनामूलक सन्देश प्रवाहित गर्ने कार्यक्रम, अनि अनुभवी स्वास्थ्यकर्मीका अन्तर्वार्ता प्रकाशन–प्रसारणमा जोड लगाए

जनमानसको मनस्थिति सकारात्मक बन्ने थियो कि?

मिडियाकर्मीका साथसाथै शिक्षकवर्ग, समाजका शिक्षितले पनि यस्ता सकारात्मक सन्देश प्रवाह गर्न राम्रो भूमिका खेल्न सक्दछन्।

देशमा महामारी नियन्त्रण कार्यमा मियो बन्न सक्ने राजनैतिक नेतृत्वको भूमिका त नजरअन्दाज कसरी गर्नु र? तिनका भ्रात्रृ संगठन, विद्यार्थी, शिक्षक, युवा, किसान, मजदुर आदि सब समाहित भएर नकारात्मकतालाई परास्त गरी सकारात्मक चिन्तन प्रवाहित गर्न दिलोज्यान दिएर लाग्नुपर्ने हो। यही नै आजको माग हो।

अनि सर्वसाधारण जनता एवं पाठकवर्गमा अनुरोध :

कोरोना ९५ प्रतिशत नै घरैको पथपरहेजले निको हुन्छ। तर, १४ दिनको एकान्तबास, परिवारैभित्र पनि भौतिक दुरी, मास्क, हातको सरसफाइ आवश्यक छ संक्रमण चक्र तोड्नका लागि।

डाक्टरहरूले बताएअनुसार अक्सिजन लेभल, श्वासप्रश्वास जाँच आफैंले नियमित गरी त्यसमा कैफियत भए नजिकैको अस्पताल जानुपर्दछ।

‘बेड छ कि छैन?’ भनी अल्मलिनुभन्दा अस्पताल झट्टै पुगिहाल्नु जरुरी छ। अस्पतालको आकस्मिक कक्षमा पुगेको बिरामीलाई स्वास्थ्यकर्मीले प्राथमिकता दिएरै हेर्दछन्। ज्यान बचाउनु नै तिनको प्रमुख उद्देश्य हो। स्वास्थ्यकर्मीलाई प्रेम, सदभाव अनि विश्वास गरौं।

सामाजिक सञ्जाल अनि अनलाइन पोर्टलका समाचारमा चौबिसै घन्टा नझुन्डिऔं। दिनमा एक या दुईपल्ट मात्र विश्वासिलो अनलाइनका समाचार पढ्ने बानी बसालौं।

दुर्भाग्यवश, यो महामारीमा हामीले गुमाउन पुगेका आफन्त, साथीभाइ आदिका तस्बिर सामाजिक सञ्जालमा कृपया पोस्ट नगरौं। हामीले हृदयदेखि नै उहाँहरूलाई श्रद्धाञ्जली दिए पुग्छ। सार्वजनिक बनाएर मनोवैज्ञानिक त्रासको प्रसार नगरौं।

अलिकति आध्यात्मिक, योग, प्राणायामजस्ता क्रियाकलापले पनि शारीरिकमात्र नभई मनोसामाजिक समस्यामा त्राण दिलाउन सक्दछ। यस्तो अभ्यास गर्ने गरौं।

सचेत बनौं, सकारात्मक बनौं।

हाम्रो पृथ्वीले, हाम्रो मानव सभ्यताले इतिहासमा थुप्रै महामारी झेलिसकेको छ। वर्तमान समयमा त्रासदी फैलाइरहेको कोरोना महामारी पनि

एक दिन इतिहासकै गर्भमा विलिन भएर जाने नै छ। विश्वास गरौं।

सर्वे सन्तु निरामयाः।

( मानिसक रोग विशेषज्ञ डा. अजय रिसाल धुलिखेल अस्पतालमा कार्यरत छन्। )

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय