एक डाक्टरको कथा, जो संक्रमितलाई घर–घर पुगेर उपचार गर्छन्

कोरोना संक्रमणका कारण देशभरका अस्पतालहरुमा हाल ९ हजार ४ सय २७ कोरोना संक्रमितहरु उपचाररत छन् भने होम आइसोलेसनमा झण्डै एक लाख ७ हजार ८२ छन्।

सरकार निजी तथा सरकारी अस्पतालमा भर्ना हुन आउने बिरामीहरुमा मात्र केन्द्रित रहँदा उपचार तथा अक्सिजन अभावमा कयौं व्यक्ति घरमै मृत्युवरण गर्न वाध्य छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परामर्शका लागि केही डाक्टर तथा हेल्पलाइन खडा गरे पनि कार्यालय समयवाहेक आम जनताले अन्य समयमा याे सेवा पाउँदैनन्।

यस्तो समयमा दाङका एक एमबिबिएस डाक्टर घर–घर पुगेर उपचार सेवा दिइरहेका छन्।

बंगलादेशबाट एमबिबिएस अध्ययन सकेर आएका डा. गीरबहादुर महरा इन्टर्नसीप सकिएलगत्तै आफ्नो गाउँको सेवामा जुटेका छन्।

गत वर्ष कोरोनाको समयमा लकडाउनका कारण उपचारका लागि अन्यत्र जान नपाए पनि उनले मास्क वितरण गर्ने, गरिब तथा असहायलाई खाना खुवाउनेजस्ता काम गरेका थिए।

यस वर्ष महामारीले स्वास्थ्य क्षेत्रमै संकट सृजना गरेपछि एक्लै भए पनि घरघरमा गएर सेवा दिने विचार पलाएको थियो उनको मनमा।

‘कोभिडको समयमा कोही पनि मेडिकल डाक्टरले फिल्डमै गएर होम आइसोलेसनमा बसेका विरामी जाँचेका छैनन्। फोनबाट सबै स्थिति बुझ्न सकिँदैन। विरामीलाई प्रत्यक्ष भेटेर जाँच्दा उनीहरुको अक्सिजनको मात्रा, स्याचुरेन तथा विरामीको मनोबल बढाउन सकिन्छ। त्यसैले पनि मैले घरघरमै गएर सेवा दिने विचार गरेको हुँ,’ महराले भने।

हरेक दिन उनी ९ देखि १० जना संक्रमितको घरमा पुग्छन्। उनी दैनिक १५ घण्टासम्म यसरी नै उपचारमा बिताउँछन्।

‘मैले सकेको र जानेको ज्ञान प्रयोग गरेर राति २ बजेसम्म पनि बिरामीलाई उपचार गर्छु। आपत परेको समयमा राति पुग्ने गरेको छु भने अन्य समयमा १० देखि १२ बजेसम्म पनि बाहिर नै हुन्छु,’ उनले भने।

आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न उनी हरेक दिन उपचारबाट फर्कनासाथ नुहाउने गर्दछन्। र, बच्चाको सुरक्षाका लागि छुट्टै बस्छन्।

‘कहिलेकाहीँ नुहाइधुवाइ गरेर सुत्ने तरखरमा हुँदा पनि फोन आउने गर्छ। आपत परेका, अक्सिजनको लेबल ९० भन्दा कम रहेछ भने जाने गरेको छु, उनले भने।

दाङको घोराहीमा रहेका संक्रमितहरुलाई उपचार तथा परामर्श दिने डा. महरा कहिलेकाँही आफ्नो घरभन्दा ३२ किलोमिटर टाढा सुनदभरीमा पनि पुग्ने गरेका छन्।

आपतमा परेको समयमा राति पनि निस्कने र त्यहीँ बास पनि बस्ने गरेका छन्। दाङमा अक्सिजन उद्योगको कमी छैन । तर सर्वसाधारणले अक्सिजनको अभाव भने बेहोर्नुपरेको उनी महसुस गर्छन्।

विगतमा अक्सिजन अभावले कयौं व्यक्तिहरुको ज्यान गएको उनी सुनाउँछन्।

‘अक्सिजन उद्योग भइकन पनि व्यक्तिहरुको पहुँचमा भने निकै कम छ। अक्सिजन लिन प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गरेर मात्र पाइन्थ्यो। तर सिडिओलाई सम्पर्क तथा सबै प्रकृया पूरा गरुन्जेल व्यक्तिको मृत्यु भइसकेको हुन्थ्यो। यस्तो प्रकृया निकै झन्झटिलो भएको थियो,’ उनले भने।

उनका अनुसार बिरामीको अवस्था जटिल भइरहेको समयमा सिडियोको फोन कहिले उठ्ने त कहिले नउठ्ने हुन्थ्यो। सिफारिस पनि चाहिने भएकाले झन्झटिलो भएको थियो।

हाल केही सहज छ. डा महराले कयौं विरामीलाई आफैंले पनि अक्सिजन सिलिण्डर दिएर ज्यान जोगाएका छन्। तर सबै विरामीलाई यसरी दिन नसकेका कारण ज्यान गएको उनी बताउछन्।

अनि कति व्यक्तिहरुले अक्सिजन पुगेन भनेर फोन गर्दागर्दै मृत्युवरण गर्नुपरेको तितो अनुभव पनि उनले गरेका छन्।

आफन्तका रोदन पनि सुनेका छन्। ‘यी तीता अनुभव सम्झँदा नमिठो लाग्छ। तर मैले सकेको गरिरहेको छु,’ उनले भने।

उनले भयावह स्थिति देशले भोगिरहेको समयमा आफूलाई खाली राख्न चाहेनन्। कोरोना संक्रमणबाट जति टाढा रहेपनि आफू नजिक आइहाल्छ भन्ने सोचेर संक्रमणको डर मनबाट हटाएर सेवामा लागेको उनको भनाइ छ।

सुरुमा स्वास्थ्य सुरक्षाविना सेवा दिन थालेका थिए उनले । यो देखेर घोराही १४ का वडाध्यक्षले उनलाई पिपिई, मास्क सहयोग गरेका थिए। एक बिरामी हेर्दा उनलाई झण्डै ४५ मिनेट लाग्छ। विरामीलाई उपचार गर्नभन्दा आफैंलाई सुरक्षित राख्न गरिने स्यानिटाइजले नै निकै समय खाएको उनी बताउँछन्।

आफूले बोकेको सामानहरु र लगाएको कपडामा स्यानिटाइज गर्दा निकै समय वितेको उनी बताउँछन्।

उज्यालो विहानी फाउन्डेसनका अध्यक्षसमेत रहेका महराले पहिलेको कोरोना संक्रमणमा पनि पिपिई बाँड्ने, कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने, लकडाउनमा प्रभावित भएका व्यक्तिहरुलाई मद्धत गर्ने, रगत व्यवस्थापन गर्ने, आपतमा परेकालाई बस्ने बासको व्यवस्था मिलाएका थिए।

अक्सिजनको कमी भएका समयमा उनले चीनबाट पनि अक्सिजन सिलिण्डर ल्याउने तयारी गरेका थिए। तर चीनबाट खरिद गर्दा झण्डै दुई गुणा बढी मूल्य पर्ने भएकाले त्यो योजना त्यत्तिकै सेलायो। उपचारका लागि आईसियु तथा भेन्टिलेटरको सेवा नपाउँदा जिल्लामा धेरै मानिसको मृत्यु भएको उनले बताए।

‘उपचारका लागि भरतपुर, भैरहवामा जानुपर्ने हुन्छ। हामीले सम्पर्क गर्दा बेड खाली नभएको सूचना दिन्छन्। त्यहाँसम्म पुगदा विरामीको ज्यान गइसकेको हुन्छ,’ उनले भने।

उनका अनुसार दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान छ, जसमा १० बेडको आइसियु छ। त्यो आइसियु नेपाल अमेरिका फाउन्डेसनले ६६ लाखको लगानीमा बनाएको थियो।

एक वर्ष अगाडि बनेको आइसियु हालसम्म पनि सञ्चालनमा आउन नसकेको उनको भनाइ छ। ‘प्रतिष्ठानले सधैं अक्सिजन प्लान्ट नभइकन आईसियु सञ्चालन गर्न नसकिने भन्दै टालिरहेको छ। तर अन्य अस्पतालमा अस्पतालकै अक्सिजन प्लान्ट नभए पनि आइसियु त चलिरहको छ, यहाँमात्र किन नहुनु,’ उनी भन्छन्, ‘यहाँ पनि अक्सिजन सिलिण्डरकै आधारमा आईसियु चलाउन सकिन्थ्यो।’

‘हेलिकप्टरबाट लान कमैमात्र व्यक्तिहरुले सक्छन्। आर्थिक अवस्था कमजोर रहेका व्यक्तिहरुले बाँच्न पनि पाउँदैनन्। ४ घण्टा टाढा अस्पताल जानुपरे बाटोमै मृत्यु हुने गरेको छ,’उनी भन्छन्।

जस्तोसुकै अवस्था आए पनि होम आइसोलेसनमा बसिरहेका विरामीहरुलाई हौसला तथा उपचार निकै जरुरी छ। उनीहरुले गलत औषधि खाँदा वा डाक्टरको सल्लाहविपरीत औषधि खाँदा नराम्रो असर पर्न सक्ने उनी बताउँछन्।

त्यस्तै कति ठाउँमा ल्याबहरुले गलत परीक्षण गर्ने गरेको पनि पाइएको उनले बताए। कोभिडको परीक्षण गर्नुपर्ने व्यक्तिहरुलाई टाइफाइडजस्ता अन्य परीक्षण गरिदिँदा र अन्य औषधि चढाउँदा कोरोनाका विरामीलाई असर गरेको पनि पाइएको छ।

‘नेपालमा अधिकांश व्यक्तिहरु होम आइसोलेसनमै रहेकाले उनीहरुको स्वास्थ्य उपचारमा पनि ध्यान दिनुपर्ने र घरघरमा विरामीलाई उपचार दिनु जरुरी छ,’ उनले भने।

महराले उपचारमा आफ्ना सिनियर डाक्टरहरुको पनि सल्लाह लिने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय