निर्दयी श्रीमान : कोरोना संक्रमित गर्भवती श्रीमतीलाई छाडेर भए फरार

पाँच महिनाकी गर्भवती कोरोना संक्रमित श्रीमतीलाई छाडेर श्रीमान फरार भएपछि उनको रेखदेख र उपचारमा समस्या भएको छ।

झापा मेचीनगर नगरपालिका-१३ स्थित चारआलीको तेलबारी बस्दै आएका सन्देश रिजाल फरार भएपछि श्रीमती कन्चन रिजालको बिचल्ली भएको हो।

संरक्षण गर्नुपर्ने नगरपालिका दायित्वबाट पन्छदा कन्चन सहाराविहीन भएकी छन्।

गाडीमा सहचालकको काम गर्ने दमक नगरपालिका-५ घर भएका सन्देश र कन्चनले गत मंसिरमा विवाह गरेका थिए। कन्चन साढे १७ वर्ष मात्रै पुगेकी छ्न्।

विवाह गरेदेखि उनीहरू डेरा गरेर बस्दै आएका थिए। गर्भवती श्रीमतीलाई कोरोना भएको थाहा पाएपछि सन्देश सम्पर्कविहीन बनेका हुन्।

संक्रमण पुष्टि भएकी कन्चनलाई घरबेटीलेसमेत डेराबाट निकालिदिएका छन्।

कोठाबाट निकालिएकी कन्चनलाई श्रीमानले मंगलबार साँझ चारआलीस्थित आइतबारे बजारको टहरामा पुर्‍याएर छाडेका वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए।

‘कोरोना संक्रमित गर्भवती महिला बेवारिसे अवस्थामा रहेको थाहा पाएपछि मैले नगरपालिकाले तयार गरेको धाइजन स्वास्थ्य चौकीको आइसोलेसनमा पुर्‍याएँ’, वडाध्यक्ष सिग्देलले भने, ‘नगर प्रमुखले त्यहाँ राख्न मिल्दैन, तत्काल हटाउनुस् भन्नु भयो।’

नगर प्रमुख विमल आचार्यले अभिभावक नभएको संक्रमितलाई आइसोलेसनमा राख्न नमिल्ने भन्दै जिम्मेवारीबाट पन्छिएको वडाध्यक्ष सिग्देलको आरोप छ।

बेवारिसे महिलाको उद्दार गर्न जाँदा स्थानीयको दुर्व्यवहार र आक्रमणको प्रयासबाट छलिँदै वडाध्यक्ष सिग्देलले कन्चनलाई आइसोलेसन पुर्‍याएका थिए।

प्रमुखले आइसोलेसनमा नराख्न भनेपछि वडाध्यक्ष सिग्देलले उपप्रमुख मिना उप्रेतीलाई जानकारी गराएका थिए।

‘तपाईं अनेक-अनेक थरी मानिस लिएर आउने’, भन्दै उपप्रमुख उप्रेती दायित्वबाट पन्छेको वडाध्यक्ष सिग्देलको तर्क छ। श्रीमानले सडकमा छोडेर हिँडेकी, नगरप्रमुख तथा उपप्रमुखले आइसोलेसनमा बस्न नदिएकी कन्चन अहिले मेची कोभिड अस्पताल भद्रपुरमा उपचाररत छिन्।

वडाध्यक्ष सिग्देलले एम्बुलेन्समा अस्पताल पुर्‍याएर हजुरआमाको जिम्मा लगाएका छन्।

आइतबार मेची अस्पतालमा गरिएको पिसिआर परीक्षणमा कन्चनलाई कोरोना पोजेटिभ देखिएको थियो। त्यही दिन श्रीमानले उनलाई टहरामा लगेर छाडेका हुन्।

वडाध्यक्ष सिग्देलले कोभिड आइसोलेसन वार्डमा कार्यरत चिकित्सकसमेतलाई जानकारी गराए पनि राम्रो रोस्पोन्स नपाएको बताए। ‘नगरबासीको स्वास्थ्य उपचारमा सहज होस् भनेर एमबिबिएस डाक्टरसहित स्थापना गरिएको आइसोलेसनमा नगरभित्रै बसोबास गर्ने नागरिकलाई राख्न नपाउँदा निक्कै दुःख लागेको छ’, वडाध्यक्ष सिग्देलले हेल्थपाेस्टसँग भने।

कन्चनको बिचल्ली भएपछि अहिले सन्देशको परिवारको खोजी सुरु गरिएको छ। आफूखुसी विवाह गरेकाले सन्देशको परिवार पनि सम्पर्कमा आउन नचाहेको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय