‘सास’ नपाएर जनता छटपटाउँदै, सांसदलाई भने अक्सिजनमा ‘जस’ लिने होडबाजी

हेल्थपोस्ट नेपाल

सोमबार पूर्वमन्त्री तथा एमालेका सांसद योगेश भट्टराईले मन्त्रालयसँग भनेर काठमाडौंबाट आफ्नो जिल्ला ताप्लेजुड्डमा स्वास्थ्य सामग्री पठाए। चीन सरकारले दिएको अक्सिजन कन्सेट्रेटरलगायतका थुप्रै सामग्री उनको ‘पहल’मा जिल्ला पुग्यो।

त्यसअघि दाङकी एउटी सांसद त विवादमै तानिइन्। एमाले सांसद गंगा चौधरीले चीनले दिएको मध्ये ७ वटा अक्सिजन सिलिन्डर घरमा लगेर राखेकी थिइन्। कसैले घरमै सिलिन्डर देखेपछि सामाजिक सन्जालमा भिडियो आयो र त्यसमा उनले प्रष्टिकरणसमेत दिनुपर्‌यो।

काठमाडौंपछि अहिले लुम्बिनी प्रदेशको दाङ, बाँके र रुपन्देहीलगायतका जिल्ला सबैभन्दा धेरै प्रभावित छन्। त्यहाँ अक्सिजनको चरम अभाव छ। विरामीले अक्सिजन नै नपाएर ज्यान गुमाइरहेका छन्।

यो समस्यालाई लिएर केही दिनअघि दाङका तीन जना सांसद गंगा, शान्ता चौधरी र कोमल वलीले स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई भेटेर ‘ज्ञापनपत्र’ बुझाएका थिए।

चीनबाट ४ सय सिलिन्डर बिमानस्थलमा ओर्लिएपछि त्यहीँबाट गंगाले ७ वटा सिलिन्डर उठाइन् र घरमा लगेर राखेको देखियो।

अर्का सांसद शान्ता चौधरी र हिराचन्द्र केसीले पनि केही सिलिन्डर उठाए।

विवादमा तानिएपछि सांसद गंगा चौधरीले प्रष्टिकरण दिइन्– त्यो सिलिन्डर घरमा लगेर राखिएको होइन। दाङको लमही अस्पतालका लागि मन्त्रालयले दिएको सिलिन्डर हो। एयरपोर्टबाट लैजाने क्रममा गाडी बिग्रियो र एक दिनका लागि डेरामा राख्नुपर्ने भयो।

अर्को दिन दाङबाट समाचारहरू आए– ‘सांसद गंगा चौधरीले लमही अस्पताललाई सिलिन्डर दिइन्।’

खासमा उनले दिएकी होइनन्। मन्त्रालयले पनि उनलाई दिएको होइन। उनले अस्पताललाई लगिदिएकी मात्रै हुन्।

लगत्तै सांसद शान्ता चौधरीले पनि ‘अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सागम्री लिएर दाङ आउँदैछु’ भनेर सामानहरूसहितको फोटो र स्टाटस फेसबुकमा लेखिन्।

केहीबेरमा समाचारहरू आए– सांसद शान्ता चौधरी र हिराचन्द्र केसीले बेलझुन्डी अस्पताललाई अक्सिजन सिलिन्डर दिए।

बेलझुन्डी अस्पताल अहिले दाङमा कोरोना उपचार गर्ने प्रमुख अस्पताल हो।

महामारीका बेला जस लिने होडबाजी

जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा केही दिनअघि स्वास्थ्य मन्त्रीलाई ‘ज्ञापन पत्र’ बुझाउन कांग्रेस सांसदको एउटा टोलीलाई मन्त्री त्रिपाठीले जवाफ दिए – त्यसरी हात–हात स्वास्थ्य सामग्री लैजान कहाँ पाइन्छ।

त्यो बेला स्वास्थ्य मन्त्रालयबाट सत्तारुढ सांसदले आफ्ना गाडीमा अक्सिजनका सिलिन्डर लगिरहेका दृश्य छ्यापछ्याप्ती भइसकेका थिए।

सांसद शान्ता चौधरी र हिराचन्द्र केसी २० वटा सिलिन्डर लिएर सोमबार दाङ पुगेका थिए। त्यो सिलिन्डर कहाँ कहाँ दिने भनेर एकछिन त त्यहाँ विवादै भयो।

खासमा त्यो सिलिन्डर बेलझुन्डी अस्पतालका लागि र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका लागि थियो (१०-१० वटा) थियो। तर अर्का सांसद हिराचन्द्र केसीले मानेनन्।

घोराही क्षेत्र सांसद शान्ता चौधरीको चुनावी क्षेत्र हो। बेलझुन्डी क्षेत्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको क्षेत्र हो।

सांसद हिराचन्द्र केसीले आफ्नो क्षेत्र तुलसीपुरको अस्पतालमा पनि सिलिन्डरहरू पाउनुपर्छ भन्ने अडान राखे। यो विषयमा केहीबेर विवाद नै भयो।

अनि त्यो २० वटा सिलिन्डर पनि बाँडफाँड भयो। प्राथमिकताका आधारमा बेलझुन्डी अस्पतालले १० वटा सिलिन्डर पायो। घोराहीमा ७ र तुलसीपुरका लागि ३ वटा सिलिन्डर बाँडफाँड भयो।

एकातिर अस्पतालहरूमा अक्सिजन नपाएर बिरामी छटपटाइरहेका छन् भने अर्कोतिर सांसद अनि नेताहरू ‘जस’ लिने होडबाजीमा छन्।

‘ओलीकै पुर्ख्यौली सम्पत्ती बाँडेको जस्तो भइराछ’ स्वास्थ्यमन्त्रीको जवाफ सुनेर फर्कीएकी नेपाली कांग्रेसकी एकजना सांसदले भनिनन् ‘यो बेला हामीलाई जस चाहिएको त होइन तर सासै नपाएर जनता मरिरहेको हेर्न सकिन्न अनि मन्त्रीको ध्यानाकर्षण गराएका हौं।’

उनका अनुसार कांग्रेस सांसदको टोलीले स्वास्थ्य सामग्रीको वितरण आवश्यकताका आधारमा ‘एकद्वार प्रणाली’बाट गर्न पनि मन्त्रीको ध्यानाकर्षण गराएको थियो।

‘जस’ लिन खोजेका होइनौ : सांसद चौधरी

काठमाडौंबाट सिलिन्डर लिएर दाङ पुगेकी सांसद चौधरीले भने ‘उल्टो’ प्रचार गरिएको बताइन्। उनले भनिन् ‘हामीले जस लिनका लागि यो काम गरेका होइनौं। दाङमा मन्त्रालयले पनि सिलिन्डर पठाउँदै रहेछ। हामी पनि जाँदै थियौं अनि लगिदिएका हौं।’

उनले महामारीका बेलामा यस्ता झिना मसिना कुरामा नअल्झिन पनि आग्रह गरिन्।

‘यो हामी सबै मिलेर जनताको ज्यान जोगाउने बेला हो। सत्ता पक्षका सांसदले सिलिन्डरहरू बाँड्ने विपक्षी सांसदहरूले नपाउने भन्ने होइन। यो हामीले ल्याएका पनि होइनौं। पहलचाहीँ गरेका हौं’ उनले अस्पतालमै भएकाे छलफलमा भनेकी थिइन्, ‘जहाँ जति भए पनि जे जसरी सकिन्छ जनताको ज्यान बचाउन लाग्ने हो।’

कसरी हाहाकार भइरहेछ सिलिन्डरको?

दाङमा कोरोना उपचारका लागि अहिले चारवटा प्रमुख अस्पताल तोकिएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल तुलसीपुर, कोरोना विशेष अस्पताल बेलझुन्डी अनि लमही अस्पताल। भर्खरैमात्र तुलसीपुर उपमहानगर पालिकाले आफ्नै लगानीमा मेट्रो अस्पताल पनि सञ्चालनमा ल्याएको छ। यहाँ पनि संक्रमितको उपचार सुरु भइसकेको छ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार दाङमा अहिले करिब ३५० संक्रमित अस्पताल भर्ना भएका छन्।

भर्ना भएका सबैजसो बिरामीलाई अक्सिजनको जरुरी परिरहेको हुन्छ। होम आइसोलेसनमा पनि संक्रमितहरू छन्।

यो हिसावमा दाङका लागि अहिले करिब ७ सय सिलिन्डर एकदमै तयारी अवस्थामा चाहिन्छ। तर अहिले जिल्लाभरि करिब ५ सिलिन्डरमात्रै घुमिरहेका छन्। यो जिल्ला प्रशासन कार्यालयसँग भएको मात्रै रेकर्ड हो।

दाङमा अक्सिजनका सिलिन्डर आपूर्ति गर्दै आएका तथा दाङमै प्लान्ट चलाइरहेका व्यवसायी भरत पौडेलका अनुसार दाङमा पहिलै २३ सयदेखि २५ समयसम्म सिलिन्डर थिए।

यो बीचमा विभिन्ठ ठाउँबाट झन्डै सयभन्दा धेरै सिलिन्डर भित्रिएका छन्। विभिन्न उद्योग, कलकारखाना अनि घरघरमा राखिएका सिलिन्डर प्रशासनले नियन्त्रणमा लिएर उद्योगमा बुझाएको छ।

‘तर ती सिलिन्डर अहिले कहाँ छन् त्यो कसैलाई थाहा छैन। जसले जहाँ पायो त्यहीँ सिलिन्डर भर्न पठाएको छ’ पौडेल भन्छन् ‘जसले जे काम गर्छ त्यहाँ समस्या आयो भने कसरी समाधान गर्ने कुरा पनि उसैलाई थाहा हुन्छ। अहिले हामीलाई थाहै छैन, सबैले आफ्नै हिसावले गरिरहेका छन्। कसले कहाँ सिलिन्डर पठाउँछ भन्ने कुराको कसैले केही जानकारी नै राख्दैन।’

पहिला बजारमा छरिएका सिलिन्डरहरू खोसेर प्रहरी प्रशासनले नै राखेको छ। भएका सिलिन्डरहरू उद्योगमा भर्नका लागि लाइनमै लागेका छन्।

दाङमा उनले चलाएको एउटा प्लान्टले एक सय सिलिन्डरसम्म भर्न सक्छ। बाँकी नेपालगन्ज र बुटवल पठाउनुपर्ने हुन्छ।

तर त्यहाँ पनि एकीकृत रुपमा जाँदैन। अहिले ‘सेवा’का नाममा चलिरहेका अभियान अनि त्यो अभियान चलाइरहेका संघसंस्थाले आआफ्नै किसिमले सिलिन्डरहरू प्रयोग गरिरहेका छन्।

‘कसैले २० वटा सिलिन्डर जम्मा गरेको छ भने उसले २० वटामात्रै राखेर गाडी बाहिर पठाउँदा त समस्या हुन्छ नि। कम्तीमा सबै एकै ठाउँमा जम्मा गरेर एकपटकमा कतिसम्म पठाउन सकिन्छ भनेर सबै व्यवस्था गरेर भर्न पठाउँदा सजिलो हुन्छ’ उनले भने ‘यसरी सबैले आआफ्नै तालले काम गर्दा अक्सिजनको हाहाकार भएको हो।’

अहिले दाङबाट सिलिन्डर भर्नका लागि नेपालगन्जको उद्योगमा एउटै गाडी तीन दिनसम्म कुर्नुपरिरहेको छ। त्यहाँमात्रै होइन सिलिन्डर भर्नका लागि सुनसरीसम्म पठाइएको छ। दाङबाट त्यहाँ जान–आउनमात्रै कम्तीमा ४ दिन लाग्छ। त्यो पनि त्यहाँ भर्नका लागि पालो कुर्नुपर्छ।

‘अक्सिजन चाहिएको बिरामीलाई हामीले छ–सात दिनसम्म कुराउन मिल्छ?’ उनले भने ‘यहाँ कसैले कसैको कुरा सुन्दैन। सबैले आआफ्नो तरिकाले काम गरिरहेका छन्।’

अरु जिल्लाजस्तै दाङमा पनि धेरै संक्रमित घरमै बसिरहेका छन्। घरमा बसिरहेका संक्रमित अक्सर सामान्य अवस्थामै हुन्छन्।

‘घरमै बसिरहेका संक्रमितहरूका लागि पनि सोर्स फोर्स लगाएर धेरैले सिलिन्डर होल्ड गरिराखेका छन्’ अक्सिजन संकलनमा लागेका दाङका एकजना अभियन्ता भन्छन् ‘त्यसरी होल्ड भयो भने त अस्पतालमा रोटेसन बिग्रिन्छ अनि अक्सिजनको अभाव हुन्छ। खासमा भएको यही हो। एकद्वार प्रणाली नै छैन।’

सक्दो व्यवस्थापन गरिरहेका छौं : प्रमुख जिल्ला अधिकारी

प्रमुख जिल्ला अधिकारी पौडेल भने अक्सिजनको वितरण र व्यवस्थापन एकद्वार नै भएको दाबी गर्छन्। उनका अनुसार अहिलेको मुख्य समस्या भनेको सिलिन्डर भर्ने नै हो। र अर्को कुरा सिलिन्डरको कमी पनि हो।

‘अस्पतालमा बिरामीको संख्याको आधारमा भन्ने हो भने अहिले जिल्लामा ७ सयभन्दा धेरै सिलिन्डर भयो भनेमात्रै रोटेसन मिल्छ र अभाव अलि कम हुन्छ’ उनले भने ‘एक त यहाँ भर्न समस्या छ। सिलिन्डर भर्न बाँके गएका गाडी तीन दिन लाइन बस्नुपर्छ। सुनसरी गएका गाडी पनि तीन दिनदेखि लाइन बसिरहेका छन्। यता अक्सिजन पुगेको छैन। र हामीसँग सिलिन्डर पनि कम छन्।’

यो बिचमा विभिन्न माध्यमबाट दाङ भित्रिएका अनि प्रहरीले नियन्त्रणमा लिएर केही सिलिन्डर जम्मा भएपनि भर्नका लागि समस्या भएको उनले बताए।

‘तर पनि हामीले सक्दो प्रयास गरिरहेका छौं। वितरण र व्यवस्थापन एकद्वारबाटै भएको छ’ उनले भने ‘सकेजति प्रयास सबैतिर भइरहेको छ। केही दिनमै अभाव पनि अलि कम होला।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *