
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चारजना र भैरहवास्थित भीम अस्पतालमा तीनजनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेका छन्।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक पत्रकारको उपचारकै क्रममा मृत्यु भएको छ।
वैशाख २५ देखि कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा नगरपालिका-५ स्थायी घर भएका पत्रकार हिक्मत चौधरीको पनि बिहान ३:१५ बजे मृत्यु भएको हो।
आइसियुमा उपचारत उनको स्वास्थ्यमा जटिल समस्या आएपछि राति भेन्टिलेटरमा सारिएको थियो। उनी २०५६ सालदेखि पत्रकारितामा संलग्न थिए।
लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु हुनेहरुमा मंगलबार अस्पताल पुगेकी तिनाउ-६ पाल्पाकी ६० वर्षीया महिलाको मंगरबार साँझ ४:२० बजे, वैशाख २८ गते कोरोना विशेषमा भर्ना भएका बुटवल-१३ का ५२ वर्षीय पुरुषको मंगरबार साँझ ७:१० बजे, वैशाख २८ देखि कोरोना विशेषमा उपचाररत बुटवल-७ का ६० वर्षीय पुरुषको आज बिहान ७:३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए।
उता भीम अस्पतालमा जेठ ३ गते भर्ना भएका ओमसतिया रुपन्देहीका ५७ वर्षीय पुरुषको राति १२:४० मा, वैशाख २५ गते भर्ना भएका परासी-६ का ४६ वर्षीय पुरुषको बिहान ५ बजे र जेठ २ गते भर्ना भएका लुम्बिनी सांस्कृतिक नगरका ४५ वर्षीय पुरुषको मध्यराति १ बजे मृत्यु भएको भीम अस्पतालका प्रवक्ता नारायण पोखरेलले जानकारी दिए।