स्वास्थ्यकर्मीले नै व्यवस्थापन गर्छन् संक्रमितको शव

फाइल फोटो

कपिलवस्तुको शिवराज नगरपालिकामा कोरोना संक्रमितको शव व्यवस्थापन स्वास्थ्यकर्मीले गर्दै आएका छन्।

आइसोलेसनमा निधन भएका व्यक्तिहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्ने भए पनि शिवराज नगरपालिकामा भने स्वास्थ्यकर्मीले नै व्यवस्थापन गर्ने गरेका हुन्।

नगरपालिका स्वास्थ्य शाखाका अनुसार नगरभित्र अहिलेसम्म १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

नगरपालिकाले संचालन गरेको आधारभूत स्वास्थ्य सेवा अस्पतालमा ४ जना कोरोना संक्रमितको निधन भएको शाखाले जनाएको छ, जहाँ नगरपालिकाले संक्रमितका लागि आइसोलेसन सञ्चालन गरिरहेको छ।

आइसोलेसनमा निधन भएका संक्रमितको शव स्वास्थ्यकर्मीले नै व्यवस्थापन गर्दै आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले जानकारी दिए।

उनका अनुसार आइसोलेसनमा भर्ना भएका संक्रमितमध्ये ४ जनाको उपचारका क्रममा आइसोलेसनमा नै निधन भएको थियो। उनीहरुको शव स्वास्थ्यकर्मीले नै व्यवस्थापन गरेका छन्।

त्यसैगरी होम आइसोलेनमा मृत्यु भएका अर्का एक संक्रमितको शव पनि स्वास्थ्यकर्मीहरुले नै व्यवस्थापन गरेका छन्।

शिवराज नगरपालिकामा सुरुका २ संक्रमितको शवमात्रै नेपाली सेनाले व्यवस्थापन गरेको थियो।

बुद्धभूमि र शिवराज नगरपालिकाको सीमामा रहेको वेलनदी नजिकको जंगलमा एक्साभेटरबाट खाल्डो खनि शव व्यवस्थापन गर्ने गरिएको छ।

एउटा शवको लागि खाल्डो खनेवापत एक्साभेटरलाई ५ हजार रुपियाँ दिने गरिएको छ। त्यसैगरी पिपिई, एम्बुलेन्स खर्चलगायत गरी एउटा शव व्यवस्थापनका लागि करिब १५ हजार खर्च हुने गरेको उनले बताए ।

उनका अनुसार शव व्यवस्थापनको सबै खर्च नगरपालिकाले गर्ने गरेको छ। सुरुमा २ वटा शववाहेक अन्य संक्रमितको शव भने स्वास्थ्यकर्मीले नै व्यवस्थापन गरेको स्वास्थ्य शाखा प्रमुख भट्टराइले बताए।

निधन भएका संक्रमितलाई लामो समय आइसोलेसनमा राख्न नसकिने र नेपाली सेनालाई खबर गर्दा ढिलो हुने भएकाले स्वास्थ्यकर्मी आफैँले शव व्यवस्थापन गर्नु परेको भट्टराइको भनाइ छ।

त्यसैगरी शवको जिम्मा परिवार आफैँले लिने तर व्यवस्थापन नगर्ने हुँदा पनि शवको व्यवस्थापन स्वास्थ्यकर्मीहरुबाट गर्न बाध्य भएको उनले बताए। ‘शवको आफैँ व्यवस्थापन गछौंं भनेर परिवारले जिम्मा लिन्छन्’ उनले भने, ‘तर परिवारका सदस्य अघि नसरेपछि व्यवस्थापन गर्नु बाध्यता बनेको छ।

अस्पतालका अहेब प्रमोद पौडेलले नर्सहरुको सहयोगले शव र्‍यापिङ गर्ने गरेका छन् भने शव एम्बुलेन्समा लोड गर्ने, अन्त्येष्टि गर्ने ठाउँमा लगेर व्यवस्थापन गर्न पुरुष स्वास्थ्यकर्मीहरु अघि सर्ने गरेको उनले बताए।

शव व्यवस्थापनमा अहेब बसन्त देवकोटा, नर्सहरु कल्पना विक, सिन्धु जिसी, सर्जिला पुन सक्रिय रहेको स्वास्थ्य शाखा प्रमुख भट्टराईले जानकारी दिए ।

आफन्तसमेत शव व्यवस्थापनमा अघि नसरेको समयमा स्वास्थ्यकर्मीले जोखिम उठाएर व्यवस्थापनमा लाग्नु निकै सराहनीय काम भएको नगर प्रमुख नेत्रराज अधिकारीले बताए ।

नागरिकको स्वास्थ्य सुरक्षाका लागि आफ्नो परिवारबाट टाढा भई संक्रमितको उपचार खट्ने सबै स्वास्थ्यकर्मीलाई सबै नागरिकले हौसला प्रदान गर्नु पर्ने उनको भनाइ छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय