बिएण्डसीको सम्बन्धन प्रक्रिया तत्काल रोक्न डा. केसीको माग

काठमाडौं विश्वविद्यालयले झापाको बिएण्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएकाे भन्दै डा. गोविन्द केसीले विरोध गरेका छन्।
विज्ञप्ती जारी गर्दै डा. केसीले केयुले निरीक्षणको फर्जी कागज बनाएर आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई निर्णय गर्ने केयुका उपकुलपति लगायतका पदाधिकारीहरुले पदीय दुरुपयोग र भ्रष्टाचार गरेको बताएका छन्।
उनले सो प्रक्रियालाई ‘विश्वविद्यालयका पदाधिकारीहरूले चालेको अवैध कदम’ भनेका छन्।
‘सिंगो देश कोभिडको कहरबाट गुज्रिरहेको समयमा निरीक्षणको फर्जी कागज बनाएर आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई निर्णय गर्ने केयुका उपकुलपति भोला थापा लगायतका पदाधिकारीहरू पदीय दुरूपयोग र भ्रष्टाचारमा चुर्लुम्म भएको प्रमाणित भएको छ,’ केसीले मंगलबार विज्ञप्ति जारी गरी भनेका छन्, ‘त्यसैले उनीहरूमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्काल भ्रष्टाचारको मुद्दा चलाएर पदमुक्त गरिनुपर्छ।’
केसीले हाल कायम ऐनका प्रावधानहरू नै कुल्चेर चिकित्सा शिक्षा आयोगलाई बाइपास गर्दै केयुले अवैध रूपमा सम्बन्धन दिने प्रयास गर्नु निन्दनीय रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
काठमाडौं विश्वविद्यालयले बिएण्डसीलाई सम्बन्धन दिने निर्णय गरिसकेको भन्दै त्यसको कार्यान्वयनका लागि चिकित्सा शिक्षा आयोगमा सोमबार लेखी पठाएको थियो।
प्रधानमन्त्री र शिक्षामन्त्रीको ठाडो आदेशमा त्यस्तो निर्णय भएको भन्दै केसीले यस्तो कुनै पनि निर्णय स्वीकार नहुने बताएका छन्।
‘भ्रष्ट क्रियाकलाप गर्ने केयु उपकुलपति भोला थापालगायतका पदाधिकारीहरुमाथि तत्काल छानविन र कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत ध्यानाकर्षण गराउँछौं ,’ विज्ञप्तिमा उल्लेख छ।
काठमाडौं विश्वविद्यालयले गरेको भनिएको निरीक्षण प्रतिवेदन ‘फर्जी’ रहेकाले त्यसका आधारमा गरिएको निर्णय तत्काल फिर्ता गर्न उनले ध्यानाकर्षण गराएका छन्।