सरकारले महामारीमा खटेका स्वास्थ्यकर्मीका परिवारको जिम्मेवारी लिनुपर्छ

हेल्थपोस्ट नेपाल

कोरोना भाइरस महामारीको दोस्रो लहरले एक महिनायता सारा नेपाललाई गाँजिरहेको छ।

पछिल्ला केही अवधियता दैनिक औसता डेढ सयजनाले ज्यान गुमाइरहेका छन् भने ८ हजारभन्दा बढी संक्रमित भइरहेका छन्।

संक्रमितको ज्यान जोगाउन सरकारले पर्याप्तमात्रामा बेड, आइसियु, भेन्टिलेटर उपलब्ध गराउन सकेको छैन भने अक्सिजन अभाव अर्को विकराल समस्याका रूपमा खडा भएको छ।

आममानिस मात्र नभई ‘फ्रन्टलाइन’ रहेर काम गर्ने स्वास्थ्यकर्मीमा संक्रमणको जोखिम अति नै उच्च छ।

यिनै विषयमा केन्द्रित रहेर नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीसँग हेल्थपोस्ट नेपालले गरेको कुराकानी :

कोरोना महामारीमा सरकारका सबै संयन्त्र नाकाम भइरहेको अवस्थामा स्वास्थ्यकर्मीहरूले कस्तो दबाब खेप्नुपरेको छ?

अहिले स्वास्थ्यकर्मी जे गरिरहेका छन्। त्यही नै सबैभन्दा महत्वपूर्ण हो। स्वास्थ्यकर्मी सीमित नै छन्। पहिलादेखि भन्दै आएको छु।
साढे १ करोड जनसंख्या हुँदा पनि नेपालमा १ हजार ३ सयजना मात्र डाक्टर थिए। अहिले ३ करोड हुँदा पनि त्यही १ हजार ३ सयबाट काम चलिरहेको छ।

सरकारले दरबन्दी थप्न जरुरी थियो। स्वास्थ्य संरचना थपिँदै जाँदा बेडमात्र थपेर हुँदैन। त्यसका लागि चाहिने जनशक्ति पनि थपिनुपर्छ।

सरकारले कोरोना महामारी सुरु भएका बेला स्वास्थ्य संरचना थप्ने नीति तथा कार्यक्रम ल्यायो। तर, जनशक्तिको त्यति बेला पनि बोलेको थिएन। हामीले त्यसबेला के कमेन्ट गरेका थियौं भने भवन तथा बेड थपेरमात्र हुँदैन। भवनले मात्रै उपचार गर्ने होइन। उपचार गर्न स्वास्थ्यकर्मी चाहिन्छ।

जुन बेला १५–१५ बेड गाउँ–गाउँमा थप्ने भनेर निर्णय गरिएको थियो। वीरमा तथा अन्य अस्पतालमा भवन थपिएका छन्। जनशक्ति पहिला नै कम थियो। त्यसमा थप गर्नुपर्ने थियो। तर, जहिले पनि करार र ज्यालादारीमा कर्मचारीलाई कहिलेसम्म सरकारले चलाउने हो भन्ने प्रश्न उठाइरहेका छौं।

जतिसक्दो चाँडो लोकसेवाको मार्फतबाट स्थायीरूपमा जनशक्ति लिनुपर्छ भनिरहेका छौं। अहिले सबैभन्दा ठूलो चुनौती स्वास्थ्यकर्मी नै परेको छ।

योभन्दा अगाडि बेडको हाहाकार मच्चिएको थियो। अहिले आएर अक्सिजनको हाहाकार भएको छ। अब आउने दिनमा स्वास्थ्यकर्मीको हाहाकार हुनेछ। यतातिर बेड थपिएका छन्।

अर्कोतर्फ संक्रमित थपिएका छन्। तर, जनशक्ति जहाँको तहीँ छ। हामीसँग भएका जनशक्ति पनि संक्रमित हुँदै गएका छन्। कतिपय स्वास्थ्यकर्मी थाक्दै पनि जान्छन्।

पहिला स्वास्थ्यकर्मीले आठ घन्टाको ड्युटी गर्थे। तर, अहिले निरन्तर ४८ घन्टासम्मको ड्युटी गरेका छन्। भोक, प्यास नभनी काम गरेका छन्।

यसकारण थाकेर स्वास्थ्यकर्मी बिरामी पर्ने अवस्था आउँछ। सरकारले अब जनशक्ति चाँडै तयार नगरेको अवस्थामा भोलि ठूलो क्षति बेहोनुपर्ने हुन्छ।

अहिले चिकित्सक तथा स्वास्थ्यकर्मीले ठूलो भार थेगिरहेका छन्। ५० किलो बोक्न सक्ने मानिसलाई सय किलो बोकाउँदा ढाड भाँचिन्छ। हो, स्वास्थ्यकर्मीको परिस्थिति त्यस्तै छ।

नेपालको स्वास्थ्य प्रणाली ‘कोल्याप्स’ भयो भन्ने कुराहरू उठिरहेका छन्। के साँच्चै हाम्रो स्वास्थ्य प्रणाली फेल खाइसकेको हो?

नेपाल चिकित्सक संघले विज्ञप्ति नै निकालेर ‘रेड अलर्ट’ घोषणा गरेको छ। नेपालको स्वास्थ्य प्रणाली जुनसुकै बेला ढल्न सक्ने अवस्था छ।

हामी अहिले डरलाग्दो परिस्थितिमा छौं। यो समय भनेको सबै छाडेर महामारीविरुद्ध नै लड्नुपर्ने हो।

जसरी खोलाको बाँध टुट्न आँट्यो भने रातो खतराको ‘चिह्न’ हुन्छ, साइरन बजाइन्छ। सबै चिज छाडेर बाँध बान्नुपर्ने हुन्छ। समयमा नै बाँध बाँधिएन भने त्यसले गाउँ डुबाएर लैजान्छ। हो, अहिले कोरोनामा यस्तै परिस्थिति सिर्जना भएको छ।

हामीसँग भएका बेड, आइसियु र सरकारले उत्पादन गर्ने अक्सिजनभन्दा धेरै बिरामी भएका छन्। अनि सरकारले कसरी थेग्न सक्छ त!

सरकारले थेग्न पनि सकेको छैन। हामीले देखिरहेका छौं, बिरामीले बेड पाएका छैनन्। आकस्मिक कक्षमा छटपटाइरहेका छन्। घरमा आत्तिएर अक्सिजन लगाएर, बेड पाइने आशमा बसिरहेका छन्।

भन्नुको मतलब, हाम्रो स्वास्थ्य संरचनाले पुगिरहेको छैन। यो समयमा बेड तथा अक्सिजन उत्पादन बढाउन सकिएन भने भोलि संरचना ‘कोल्याप्स’ नै हुन्छ।

चिकित्सक तथा स्वास्थ्यकर्मी बिरामीलाई उपचार गर्ने छाडेर अक्सिजन तथा बेड मिलाउनमै लाग्नुपरेको छ। सरकारले यस्ता कुराको व्यवस्थापन गरेको भए धेरैले ज्यान गुमाउनुपर्दैनथ्यो कि? यस्तो बेलामा स्वास्थ्यकर्मीको मानसिकता कस्तो हुन्छ?

स्वास्थ्यकर्मीले आफ्नो ड्युटीभन्दा पनि बढी समय दिएर बिरामी हेरिरहेका छन्। बिरामी छटपटाएको आँखै अगाडि टुलुटुलु हेरर बस्न सकिँदैन।

आकस्मिक कक्षबाट अन्य कुनै अस्पतालमा बेड पाइन्छ कि भनेर रिफर गर्र्नुपरेको छ। सँगसगै होम आइसोलेसनमा बसेका बिरामीलाई परामर्श दिइरहेका छन्।

मेरो कुरा गर्नुहुन्छ भने दैनिक पाँच–६ पटक मोबाइल चार्ज गर्नुपरेको छ। घरमा बस्ने बिरामीको फोन आइरहेको छ। आत्तिएर अक्सिजन चाहिन्छ कि चाहिँदैन, के खाउँ भन्ने कुरा गरिराख्नुभएको हुन्छ। कोभिडबाहेक ननकोभिड बिरामी अस्पताल जान सकेका छैनन्।

अहिले चिकित्सकहरूले आफ्नो जिम्मेवारी जति छ, त्योभन्दा थप जिम्मेवारी लिएर काम गरिहेका छन्। हो, २४ घन्टा खटिएको दिमाग र फ्रेस दिमागले गर्ने काममा फरक नै पर्छ। तर, पनि अहिलेको परिस्थितिमा अन्य उपाय छैन।

चिकित्सकहरू चाहन्छन् नि, केही समय आराम गर्न पाए हुन्थ्यो। स्वास्थ्यकर्मीले यो परिस्थितिमा ठूलो धर्म मानेर, नैतिकवान भएर काम गरिहेका छन्। जतिसक्दो मरिमेटेर काम गरेका छन्।

चिकित्सक संघ स्वास्थ्यकर्मीको अभिभावक हो। तपाईंहरूलाई स्वास्थ्यकर्मीले कस्ता–कस्ता गुनासा गरिराख्नुभएको छ?

चिकित्सकहरूले अहिले न भत्ता भनेका छन्, न सुविधाको कुरा गरेका छन्। अहिले सबैको ध्यान बिरामीमा केन्द्रित छ। यो बिरामीलाई कसरी ठिक पार्न पाए हुन्थ्यो, कसरी अस्पतालबाट डिस्चार्ज गर्न सकिन्छ भनेर केन्द्रित छन्। अहिले यसैमा मात्रै स्वास्थ्यकर्मीको ध्यान तल्लिन छ।

स्वास्थ्यकर्मीले आफ्नो बारेमा नसोचेर केवल बिरामीको बारेमा मात्र सोचिरहेका छन्। यसरी खटिरहेका स्वास्थ्यकर्मी आफैं बिरामी पर्दा कहाँ जाने होला? भन्ने ठूलो तनावको विषय छ। दुरदराजमा बसेर काम गरिहेका स्वास्थ्यकर्मी बिरामी हुँदा कसरी उपचार गर्ने भन्ने थप तनावको विषय छ।

हामीले धेरै स्वास्थ्यकर्मीलाई ‘हेलिलिफ्ट’ गराएर उपचार गराइरहेका छौं। अहिलेको कन्सर्न भनेको खटिएर काम गरिहेका स्वास्थ्यकर्मी बिरामी परेकामा कसरी उपचार गर्ने होला भन्ने छ।

त्यसैगरी, उपचार गरेर पनि नर्मल जीवन बाँच्न सकिएन भने त्यति बेला पुनस्र्थापना कसरी होला? कसले हेर्ला? भन्ने समस्या आइरहेका छन्। अघिल्लो वर्ष पनि धेरै स्वास्थ्यकर्मीले कोभिडबाट ज्यान गुमाउनपरेको थियो।

त्यतिबेला पनि कतिपय स्वास्थ्यकर्मीका परिवारले सरकारले घोषणा गरेको सुविधा पाउनुभएको छैन। हुन त सरकारले घोषणा गरेको २५ लाख थियो। तर, त्यसलाई जीवनसँग जोख्न मिल्दैन।

एउटा डाक्टर पढ्दा–पढ्दा धेरै लगानी लागेको हुन्छ। परिवारप्रतिको जिम्मेवारी छोराछोरी हुन सक्छन्। उनीहरूको मृत्यु भएमा परिवारको जिम्मा कसले लिने होला?

यी सबै चिन्ता मनमा छन्। यी सबै कुराहरूलाई छाडेर स्वास्थ्यकर्मीहरूले दिनरात खटेर आफ्नो धर्म निभाइरहेका छन्। न निद्रा न भोक भनेर काममा लागेका छन्। यसरी कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको जिम्मेवारी सरकारले लिनुपर्छ भन्ने सबै स्वास्थ्यकर्मीको मनमा छ।

महामारीका बेला सबैभन्दा ठूलो कुरा स्वास्थ्यकर्मीको व्यवस्थापन हो। सरकार यो विषयमा किन चुकिरहेको छ?

पहिलादेखि नै हामीले बेड र अक्सिजनको व्यवस्था गरौं भनेर भनिरहेका थियौं। तर, सरकारको कोरोना छैन जसरी ध्यान अन्तै गयो। नभन्दै अहिले अक्सिजन र बेडको अभाव भयो। अहिले हामीले भनिरहेका छौं। अब चिकित्सक र स्वास्थ्यकर्मीको अभाव हुनेवाला छ।

छिमेकी राष्ट्र भारतले जो–जो सय दिनसम्म खटिएका छन् अवार्ड घोषणा गरेको छ। मेडिकल विद्यार्थीलाई सिनियर चिकित्सकको अन्डरमा खटाउने योजना बनाएको छ। यसरी भारतले स्वास्थ्यकर्मी परिचालन गरेको छ।

त्यसैगरी, स्वास्थ्य मन्त्रालयले ठोस योजना सहित अगाडि बढाउनुपर्छ। अहिले करार तथा ज्यालादारीमा विज्ञापन खोलेर आकर्षण हुँदैन।

महामारीका बेला चाहिँ काम गर, संक्रमित वा ज्यान गयो भने जाओस् भन्ने हिसाबभन्दा अहिले ज्यान जोखिममा राखेर खटेका स्वास्थ्यकर्मीलाई लोकसेवाले खुलेको बेलामा केही नम्बर थप्नेजस्ता प्रोत्साहन गर्ने योजना बनाउनुपर्छ।

सरकारबाट यसरी खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्ने केही कुरा आएको छैन। जुन दुःखलाग्दो विषय हो।

सरकारले स्वास्थ्यकर्मीको मनोबल बढाउन नसकेको हो?

अहिले सरकारले मनोबल बढाउन घोषणा गरेको सुन्न पाएका छैनौं। जसरी भारतमा हातपात गरेमा बिनाधरौटी हिरासतमा राखेर सुरक्षाको प्रत्याभूति गराएको छ।

कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई अवार्डको व्यवस्था गरेको छ। भारतमा स्वास्थ्यकर्मीका लागि छुट्टै अस्पताल छुट्ट्याइएको छ।

स्वास्थ्यकर्मीलाई ज्यान तलमाथि भएको खण्डमा उपचार तथा परिवारको जिम्मेवारी लिने खालका केही पनि कुरा आएका छैनन्। सरकारले अहिले ५० प्रतिशत भत्ता तोकिदिएको छ। तर, कुनै स्वास्थ्यकर्मी भत्ताका लागि काम गरेका छैनन्।

त्यसकारण स्वास्थ्यकर्मीको मनोबल बढाउन पैसाभन्दा पनि शारीरिक, मानसिक तथा सामाजिक सुरक्षा दिनसक्नुपर्छ।

अहिले बेड, अक्सिजनको हाहाकार मच्चिरहेको छ। सरकारले व्यवस्थापन गर्न नसकेको हो, कि साँच्चै हाहाकार नै भएको हो?

अहिले अक्सिजनको माग बढिरहेको छ किनभने कोभिड बिरामीलाई मिनेटमा ४५ लिटरसम्म चाहिने केस आएका छन्। त्यसकारण माग त बढिरहेको छ। तर, पनि हामीसँग भएका स्रोत–साधन राम्रो सँग व्यवस्थापन गर्न चुकेको छ। पहिलो लहरदेखि नै हामीले भन्दै आएका छौं।

कोभिड र ननकोभिड अस्पताल छुट्ट्याउनुपर्छ। जसले गर्दा संक्रमण फैलन सक्दैन। स–साना अस्पतालमा कोभिडको उपचार नगर्ने हो भने त्यहाँ प्रयोग भएका उपकरणलाई एकीकृत गर्न सकिन्थ्यो।

एकै ठाउँमा ५ सयजनाको उपचार गर्दा ती अक्सिजन एकीकृत हुन्थ्यो। कति सर्वसाधारणले डराएर घर–घरमा अक्सिजन सिलिन्डर लुकाएर राखेका छन्। सरकारले नेपाली नागरिकलाई बुझाउन सकेन कि! निजी अस्पताललाई २० प्रतिशत कोभिडका लागि छुट्ट्याउने भन्दा त्यहाँ पनि अक्सिजन चाहिने भयो।

त्योभन्दा पनि केही अस्पताललाई पूरै जिम्मेवारी दिएको भए अक्सिजनको समस्या केही हदसम्म समाधान हुने थियो। हामीले जतिसुकै

अक्सिजन र बेड बढाए पनि पुग्नेवाला छैन। जबसम्म हामीले संक्रमणको मुहानलाई रोक्न सक्दैनौं।

समुदायस्तरमा कोभिडलाई कन्ट्रोल नगर्दासम्म जतिसुकै अस्पताल थपे पनि पुग्ने छैन। समुदायस्तरमा संक्रमण रोक्नका लागि सबैभन्दा महत्वपुर्ण कुरा ‘कन्ट्याक्ट ट्रेसिङ’ नै हो।

पहिलो लहरमा जसरी कन्ट्याक्ट ट्रेसिङको काम भएको थियो। त्यसैगरी, दोस्रो लहरमा काम हुन सकेको छैन। हो, हाम्रो संक्रमित ह्वात्तै थपिएका कारणले केही अप्ठेरो परेको छ।

जसरी, वडा–वडामा टिम बनाएर संक्रमितको पहिचान गरिएको खण्डमा संक्रमण ‘चेन ब्रेक’ गर्न सकिन्छ। हामीसँग अक्सिजन र बेड राख्ने अवस्था नओस् भनेर सरकारले यतातर्फ ध्यान दिन जरुरी छ।

सरकारले संक्रमण नियन्त्रण गर्न कहाँ चुक्यो?

हामीले पहिलो लहरबाट सिक्न सकेनौं। सिकेका कुरा प्रयोगमा ल्याएनौं, हाम्रो भूल नै त्यही भयो। पहिलो लहरमा हामीले समयमा नै लकडाउन गर्न सकेका थियौं। समयमै सीमा रोक्न सकेका थियौं। संक्रमित पहिचान अहिलेको भन्दा राम्रो भएको थियो। अहिले यी कुराहरूमा हामी चुकिरहेका छौं। कोरोनाको दोस्रो लहर आउँछ भन्ने हामीलाई ज्ञान थियो। हामीसँग अक्सिजन तथा बेड थप्नका लागि समय पनि पर्याप्त थियो। तर, सरकारले यसतर्फ ध्यान दिन सकेन।

संक्रमण रोक्न अब ‘स्वास्थ्य संकटकाल’ घोषणा गर्नुपर्ने हो?

स्वास्थ्य संकटकाल घोषणा गरे पनि नगरे पनि सबैभन्दा महत्वपूर्ण कुरा सबैले मिलेर काम गर्नुपर्छ। जसरी नेपाल चिकित्सक संघले ‘हामी एक छौं’ भनेर महामारीमा भनेर अभियान चलाएको छ। यो जिम्मेवारी सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्यकर्मीको मात्रै होइन। सम्पूर्ण नागरिकको जिम्मेवारी हो।

जबसम्म सकंटकाल घोषणा गरे पनि नगरे पनि जबसम्म सबै पेसागत संगठन, राजनैतिक दल, सामाजिक अभियन्ताको एक ठाउँमा आएका कोभिड जनचेतना बढाउँदैनौं। तबसम्म यो नियन्त्रणमा आउँदैन।

अब संक्रमण रोक्ने विकल्प के–के हुनसक्छ?

संक्रमण रोक्न सबैभन्दा महत्वपूर्ण कुरा संक्रमित पहिचान नै हो। त्यसका लागि स्थानीय तहका टिम गठन गरी कन्ट्याक्ट ट्रेसिङलाई अगाडि तीव्र गतिमा लैजानुपर्छ।

जब संक्रमित परिचालन गर्न सक्दैनौं। जतिसुकै अक्सिजन तथा अस्पताल बढाए पनि कोरोनालाई नियन्त्रण गर्न सक्दैनौं। अहिले लकडाउन गर्दा पनि संक्रमणको दर रोक्न सकेका छैनौं।

हामीले संक्रमण अनुमान गरिरहेका हुन्छौं। तिनीहरू पुग्ने खालका भौतिक पूर्वाधार तथा जनशक्तिको तयारी गर्न जरुरी छ। जनतालाई जिम्मेवार बनाउनुपर्छ।

अन्त्यमा केही भन्नुहुन्छ?

यो हाम्रो जीवनकालमा आएको सबैभन्दा ठूलो महामारी हो। यो भूम्कपभन्दा पनि ठूलो रहेछ। यो त दोस्रो–तेस्रो लहर आउन सक्छ। कहिले टुंगिन्छ भन्ने यकिन छैन। त्यसकारण कोरोनालाई पराजित गर्न सबैजना लड्नुपर्छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *