चिकित्सकका लागि क्वारेन्टिन सेन्टर सञ्चालनमा

नेपाल चिकित्सक संघले कोरोना संक्रमितको सेवामा खटिएका चिकित्सकका लागि १०० शय्याको क्वारेन्टीन सेन्टर सञ्चालनमा ल्याएको छ।

कोरोना संक्रमण उचाइमा पुगिरहँदा चिकित्सकहरु पनि संक्रमित हुन थालेका छन्।

अस्पतालहरुमा अक्सिजन तथा आइसीयू सेवाहरु कमी हुन थालेपछि उपचार गर्ने चिकित्सकहरु पनि संक्रमित भएर शय्या अभाव खेपिरहेका छन्।

उपचारमा खटिएका चिकित्सकहरुसँगै उनीहरुका परिवारहरु पनि जोखिममा पर्ने गरेको गुनासो संघमा बारम्बार आउने गरेकाले चिकित्सकहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि क्वारेन्टिन तथा आइसोलेसन सेवा सुरु गरेको संघका सदस्य डा. रितेश थापाले बताए।

उनका अनुसार संघले अग्रवाल सेवा केन्द्र, हिन्दु सेवक संघ र सेवा इन्टरनेशनलको सहायतामा कमलपोखरीस्थित अग्रवाल भवनमा क्वारेन्टीन सुरु गर्न लागेको हो।

‘सुरुमा २५ शय्या आइसोलेसन र २५ शय्या क्वारेन्टिन सेवा उपलब्ध गराउन लागेका छौं। केही दिनमा अक्सिजनको उपलब्धता भएपछि आइसोलेसन सेवा पनि राम्ररी दिनेछौं,’ उनले भने।

थापाका अनुसार हाल चिकित्सकहरुलाई मात्र यो सेवा प्रदान गरिनेछ।

यसबाट चिकित्सकहरु लाभान्वित भए र सेवा सुविधा राम्रो रहे अन्य स्वास्थ्यकर्मीहरुलाई पनि सेवा प्रदान गर्ने उनले बताए। ‘सेवा राम्रो सावित भए अन्य जिल्लाहरुमा पनि १२ वटा क्वारेन्टिन सेवा सुरु गर्ने तयारी छ,’ उनले भने।

क्वारेन्टिन सेन्टरमा दिनको ४ पटक स्वस्थ खाना उपलब्ध गराइनेछ भने केही समयपश्चात सञ्चालन गरिने आइसोलेसन सेन्टरमा अक्सिजन, अत्यावश्यक औषधि, स्वास्थ्य परीक्षणका लागि चिकित्सक तथा स्वास्थ्यकर्मी उपलब्ध गराई सेवा दिइने छ।

थापाले नेपाल चिकित्सक संघसँग सम्पर्क गरेपछि मात्र क्वारेन्टिन सेवा पाइने बताए। ‘हामीले एकद्वार प्रणाली लागू गरेका छौं। सिधै क्वारेन्टिन सेन्टरमा गएर बस्न पाइने छैन

संघमा स्वीकृत गराएर, नाम तथा विस्तृत विवरण संकलन गरेर मात्र राख्नेछौं,’ उनले भने। संघमा सम्पर्क गर्नका लागि डा. प्रमोद जोशी, डा. रितेश थापा र मिलनचन्द्र खनाल गरी तीन सदस्यीय समिति गठन गरिएको छ।

थापाले स्वास्थ्यकर्मीलाई खटाउन बाँकी रहेको र मंगलबारबाट सेवा सुचारु गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय